+
+

जसपाको घोषण पत्र तयार, छठ सकिएपछि सार्वजनिक गरिने

रासस रासस
२०७९ कात्तिक ११ गते १७:१४

११ कात्तिक, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले प्रदेश सरकारलाई प्रभावकारी र अधिकारसम्पन्न बनाउने नीतिसहित आगामी निर्वाचनका लागि पार्टीको चुनावी घोषणापत्र तयार गरेको छ ।

मंसिर ४ गते हुने संघीय तथा प्रदेश निर्वाचनका लागि जसपाले संघीयता, समावेशी समानुपातिक र लोकतान्त्रिक गणतन्त्रलगायतका मूलभूत विषयमा घोषणपत्र तयार गरेको जसपाका प्रवक्ता मनिस सुमनले जानकारी दिए ।

‘प्रादेशिक सरकारलाई बलियो बनाउने गरी घोषणापत्रमा उल्लेख गरेका छौं,’ उनले भने, ‘संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ तुल्याउने र समानुपातिक समावेशिता र पहिचानको अधिकारलाई सुनिश्चित गर्ने विषयमा हाम्रो मुख्य ध्यान केन्द्रित रहेको छ ।’

जसपाले सबै मित्रराष्ट्रसँग समान सम्बन्ध रहने अवधारणा घोषणापत्रमा समेटेको छ । कृषिको आधुनिकीकरण गरी आन्मनिर्भर उत्पादनलाई प्राथमिकता दिइने छ । आगामी निर्वाचनका लागि तयार गरिएको पार्टीको चुनावी घोषणापत्र छठ सकिएलगत्तै सार्वजनिक गरिने प्रवक्ता सुमनले बताए ।

जसपाले समतामूलक समाजको निर्माणसँगै समानता, स्वतन्त्रता, भाइचारा, सामाजिक न्याय तथा भ्रातृत्वको उच्चतम् अभ्यास गर्दै संघीयता, समावेशी एवं सहभागितामूलक लोकतन्त्र, समानुपातिक प्रतिनिधित्व र समतामूलक समाज निर्माण गर्ने लक्ष्य लिएको छ ।

देशमा गरिबी बेरोजगारी र अशिक्षाको अन्त्य गरी शिक्षा, स्वास्थ्य, आवास, रोजगार र सुरक्षामा सबैको समान पहुँच र आधिकारको प्रत्याभूति गराउने, सामाजिक न्याय स्थापित गर्दै सबै जाति, भाषा, धर्म, संस्कृति र समुदायका जनताको हित रक्षाका लागि काम गर्ने घोषणापत्रमा उल्लेख छ ।

सामाजिक न्याय र सुशासनको प्रत्याभूतिसहितको जनमुखी प्रशासन कायम गर्ने, आदिवासी जनजाति एवं पिछडिएका वर्ग र समुदायको उत्थान प्रवर्द्धन गर्ने जसपाको घोषणा पत्रमा उल्लेख छ ।

जसपाले संघीयताको प्रभावकारी कार्यान्वयन गर्दै सङ्घले बृहत्तर नीति निर्देशन तथा ठूला अन्तर–प्रादेशिक पूर्वाधारको मात्र जिम्मा लिने र अन्य सबै नीति योजना निर्माण, कार्यान्वयन र स्रोत परिचालनको जिम्मा प्रदेश र प्रदेशमार्फत स्थानीय तहलाई दिने नीति लिएको छ ।

ठूला भौतिक पूर्वाधार, ऊर्जा, प्राविधिक शिक्षा आदिमा विशेष जोड र उद्योग/पर्यटनलगायतलाई महत्व दिने जनाएको छ । ‘संघीय समुन्नत समाजवाद’ को सैद्धान्तिक आलोकमा समावेशी विकास र समतामूलक समृद्धिको नीति कार्यक्रममार्फत ‘जनताको आवाज, अग्रणी परिवर्तनसहित समृद्ध समाज’ लाई सार्थक बनाउन प्रयास गरिने जसपाले उल्लेख गरेको छ ।

पहिचानसहितको संघीयता संस्थागत गर्ने, समाजवादी अर्थ–राजनीतिक कार्यदिशा लागू गर्ने, सहभागितामूलक समावेशी लोकतन्त्र स्थापित गर्ने, सुशासन र सदाचारका माध्यमबाट आर्थिक तथा सामाजिक न्यायसहितको समतामूलक समृद्धि र मानवीय खुसी हासिल गर्ने नीति अघि सारिएको छ ।

लोसपाको घोषणापत्र कहिले ?

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले पनि चुनावी घोषणापत्रको तयारी गरिरहेको छ । लोसपाका कार्यकारिणी सदस्य केशव झाले चुनावी घोषणापत्रको अन्तिम तयारीमा रहेको र छठपछि सार्वजनिक गरिने बताए ।

लोसपाले पनि प्रदेश सरकारलाई अधिकार सम्मपन्न बनाउँदै, समानुपातिक सहभागिता, पहिचान र अधिकारको सुनिश्चितता, उत्पीडित समुदायको पहिचान र अधिकारको सुनिश्चिततालगायत विषयलाई घोषणापत्रमा समेटेको छ ।

घोषणपत्रको तयारीसँगै चुनावी प्रचारप्रचारको दौरानमा दुवै पार्टीका शीर्ष नेताहरु निर्वाचन क्षेत्रमा घरदैलो अभियानमा केन्द्रित छन् ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?