+
+

कांग्रेसको संकल्प : ५ वर्षमा ५० प्रतिशत विद्युतीय गाडी

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक १२ गते १४:४४

१२ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसले आगामी ५ वर्षमा विद्युतीय सवारी साधन (ईभी)को प्रयोग ५० प्रतिशत पुर्‍याउने चुनावी प्रतिवद्धता सार्वजनिक गरेको छ ।

प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन २०७९ को चुनावी संकल्प पत्रमा कांग्रेसले विद्यीय सवारीको प्रयोगलाई व्यापक बनाउने गरी महत्वाकांक्षी घोषणा गरेको हो ।

संकल्प पत्रमा सन् २०४५ सम्म (आगामी २३ वर्ष) मा शहरी यातायातमा खनिज ऊर्जा (डिजेल–पेट्रोल) को उपयोग शून्यमा झार्ने उल्लेख छ ।

जलवायु परिवर्तन भई वातावरणीय सन्तुलन र विविधता, भौगोलिक सुन्दरता र जीविकोपार्जनमा गम्भीर असरहरु देखिन थालेको भन्दै कांग्रेसले कार्वन उत्सर्जन र प्रदूषण घटाउने, आम जीवनशैली पर्यावरणमैत्री बनाउने, जलवायु अनुकुलनका योजनाहरू बनाउने र विपद् व्यवस्थापनलाई उच्च प्राथमिकता दिने बताएको छ ।

नेपाललाई जलवायु उत्थानशील राष्ट्रको रुपमा चिनाउँदै अन्तर्राष्ट्रिय जलवायु वित्त अनुदान तथा सहुलियतपूर्ण ऋणका लागि अधिकतम पहल गर्ने र विपदका पूर्वसूचना प्रणालीको विकास गर्ने कांग्रेसको वाचा छ ।

‘इन्धनका लागि दाउरा, गुइँठा, भुस आदिको खपत गर्ने जनसंख्या ३५ प्रतिशतमा झार्ने, वन क्षेत्रको संरक्षणका लागि ढाकेको क्षेत्र ४७ प्रतिशत पुर्‍याउने तथा करिव ४ हजार जति सिमसार, ताल र पोखरीको विशेष संरक्षण गरिने छ’, घोषणापत्रमा भनिएको छ, ‘स्थानीय सीप तथा प्रविधिको विकास र प्रयोग, जैविक ऊर्जा उत्पादन तथा स्वच्छ इन्धनबाट खाना पकाउने र औद्योगिक प्रयोग प्रवर्द्धन गरिने छ ।’

वातावरणीय प्रभाव तथा विपद् जोखिम अध्ययन गरेर मात्र भौतिक पूर्वाधार निर्माण गर्दै जोखिमयुक्त वस्तीहरुको अध्ययन गरी त्यस्ता वस्तीहरुलाई सुरक्षित ठाउँमा स्थानान्तरण गरेर एकीकृत नमूना बस्ती बसाइने र शहरी क्षेत्रमा वृद्धवृद्धा र बालबालिकालाई केन्द्रमा राखेर हरित खुला पार्कहरुको निर्माणमा संघीय सरकारले विशेष कार्यक्रम ल्याउने कांग्रेसको प्रतिवद्धता छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?