+
+

चितवन राष्ट्रिय निकुञ्ज घुम्नेको ओइरो

रासस रासस
२०७९ कात्तिक १३ गते १९:४८

१३ कात्तिक, चितवन । तिहार र छठ पर्वको लामो बिदाको समयमा चितवन राष्ट्रिय निकुञ्ज घुम्नेको ओइरो लागेको छ ।

निकुञ्ज र मध्यवर्ती सामुदायिक वनमा जीप, हात्ती, डुङ्गा र पैदल यात्रा गर्नेहरु अधिक भएका हुन् । निकुञ्जभित्रका सडकमा जीप बाक्लो देखिन्छन् भने जीप र हात्ती यात्रा गर्न पालो कुर्नुपर्ने अवस्था रहेको छ ।

तिहारको टीकाको भोलि पल्टबाट आन्तरिक र बाह्य पर्यटकको बाक्लो उपस्थिति रहेको हो । सङ्ख्यात्मक हिसाबले आन्तरिक पर्यटक धेरै छन् । पर्यटकीय गतिविधिमा समावेश भएर रात नबसी फर्किनेको सङ्ख्या ठूलो छ । सौराहा, पटिहानी, जगतपुर र मेघौलीका राम्रा पर्यटकीय होटल भरिएका छन् ।

चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेश तिवारी निकुञ्जको सौराहाबाट ३२, कसराबाट १४, मेघौलीबाट ९ र माडीबाट एउटा जीपले दैनिक पर्यटक निकुञ्ज घुमाएका छन् । नेचर गाईडको सहयोगमा पैदल यात्रा गर्ने, डुङ्गामा घुम्नेको सङ्ख्या पनि निकै बढेको उनी बताउँछन् ।

उनका अनुसार दैनिक रु १० देखि १५ लाख राजस्व सङ्कलन भइरहेको छ । सौराहामा हात्ती सञ्चालन गर्दै आएको युनाइट हात्ती सञ्चालन सहकारी संस्थाका अध्यक्ष ऋषि तिवारीले देशैभरबाट आन्तरिक पर्यटक आएको बताए । उनले भने, ‘अहिले त कुरा गर्ने फुर्सद पनि छैन ।’

उनले सहकारीका ३२ वटा हात्तीले दैनिक चार पटक मध्यवर्ती सामुदायिक वन घुमाउँदा पनि धेरैलाई हात्ती चढाउन नसकिएको बताए । तिवारीले आफ्नो होटलमा विराटनगरदेखिका आन्तरिक पर्यटक आएर भरिएको बताए । लामो बिदाका कारण पर्यटकको राम्रो उपस्थिति रहेको उनी बताउँछन् । आन्तरिक रुपमा पर्यटक घुमाउन सवारीसाधनको अभाव भएको तिवारीले जानकारी दिए ।

पर्यटक बढेसँगै रेष्टुरेण्ट भरिभराउ छन् । रेष्टुरेण्ट व्यवसायी दीपेन्द्र खतिवडाले चहलपहल निकै बढेको बताए । उनले भने, ‘आन्तरिक र बाह्य पर्यटकले रेष्टुरेण्ट भरिएका छन् । बजार क्षेत्रमा रहेका होटलमा कोठा नपाएको गुनासो गरेको रेष्टुरेण्ट एण्ड वार एशोसिएशन सौराहाका निवर्तमान अध्यक्षसमेत रहनुभएका खतिवडाले जानकारी दिनुभयो । सौराहामा ८० हाराहारी रेष्टुरेण्ट छन् । उहाँले भन्नुभयो, “कोभिडपछिको धेरै पर्यटक अहिले सौराहा आएका हुन् ।’

सौराहाको युनिक वाईल्ड रिसोर्टका सञ्चालक गुणराज थपलिया युरोपियन पर्यटक पनि राम्रो रहेको बताउँछन् । उनले भने, ‘मेरो होटलका ३० वटा कोठा पूरै भरिएका छन् ।’ स्वदेशीसँगै अष्ट्रेलियन, नेदरल्याण्डलगायत देशका पर्यटक रहेको उनी बताउँछन् ।

राप्ती नदी किनारमा रहेको होटल नेचर हेरिटेजका सञ्चालक दामोदर रेग्मीले आन्तरिक र बाह्य पर्यटकले होटल भरिएको बताए । उनले भने, ‘यो वर्षको तिहारको व्यापार धेरै राम्रो छ ।’ आफ्नो होटलका ३५ वटा कोठा भरिएको उनी बताउँछन् ।

क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष दीपक भट्टराईले तिहारमा पर्यटकको राम्रो उपस्थिति रहेको बताए । होटलका कोठाको तुलनामा अन्य पर्यटकीय गतिविधिमा पर्यटकको चाप बढिरहेको उनी बताउँछन् । उनले भने, ‘होटलमा बस्ने भन्दा घुम्ने र फर्किने धेरै छन् ।’ जसले गर्दा हात्ती, जीप, डुङ्गा, सांस्कृतिक घरका गतिविधिमा धेरैले पालो पाउन नसकेको उनले बताए ।

पटिहानीमा रहेको जङ्गल भिल्लाका सञ्चालक गणेश पौडेल पर्यटक निकुञ्ज घुम्न आउने पर्यटकको सङ्ख्याका बढेको बताउँछन् । राप्ती किनारमा पटिहानीदेखि मेघौलीसम्म रहेका नौ वटा ठूला होटलमा स्वदेशी र विदेशी पर्यटक धेरै रहेको उनी बताउँछन् । ती होटलमा कुनै दिन भरिने र कुनै दिन केही मात्र कोठा रहने गरेका छन् । कोभिडपछि यसरी पर्यटक आएको पहिलो भएको व्यवसायी बताउँछन् ।

चितवन राष्ट्रिय निकुञ्ज दुर्लभ वन्यजन्तु एकसिङ्गे गैँडा, बाघ, भालु, घडियाल गोही, चरा लगायतका लागि प्रख्यात छ । विश्वका धेरै मुलुक र नेपाली पर्यटकको रोजाइमा यो निकुञ्ज पर्दछ । हात्तीमा मध्यवर्ती सामुदायिक वन घुम्न र जीप, पैदल डुङ्गा निकुञ्जमा सयर गर्न पर्यटक रुचाउँछन् । यससँगै थारु संस्कृति पर्यटकको रोजाइमा पर्ने गरेको छ ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?