+
+

हुम्लाको प्रदेश सभामा गठबन्धनकै ३ उम्मेदवार

नरजन तामाङ नरजन तामाङ
२०७९ कात्तिक १३ गते २०:४०

१३ कात्तिक, हुम्ला । सत्ता गठबन्धनका शीर्ष नेताले ११ कात्तिकमा गठबन्धनको आधिकारिक उम्मेदवार भन्दै एउटा सूची सार्वजनिक गरे ।

त्यो सूची अनुसार प्रतिनिधि सभा र प्रदेश सभाको एउटा क्षेत्रमा गठबन्धनबाट एक जना मात्र उम्मेदवार हुनु पर्नेमा केही क्षेत्रमा एक भन्दा बढी उम्मेदवार छन् । त्यसैमध्येको एक क्षेत्र हो हुम्लाको प्रदेश सभा क । जहाँ नेकपा माओवादी केन्द्रका रनसिंह परियार र नेकपा एकीकृत समाजवादीका हस्तबहादुर शाही उम्मेदवार छन् ।

यी दुई मध्ये एक जनालाई मात्र उम्मेदवार बनाउन गठबन्धनका दलबीच छलफल जारी रहेको गठबन्धनका शीर्ष नेताले निकालेको सूचीमा उल्लेख छ । तर दुबै दल उम्मेदवारी फिर्ता नगर्ने भन्दै मतदाताको घर-घरमा मत माग्न पुगेका छन् ।

यी २ बाहेक नेपाली कांग्रेस महासमिति सदस्य समेत रहेका मंगलबहादुर शाही पनि स्वतन्त्र उम्मेदवारका रुपमा मैदानमा छन् । जसअनुसार यहाँ गठबन्धनभित्रकै दलको २ र एक जना स्वतन्त्र गरी ३ उम्मेदवार मैदानमा छन् ।

गत चुनावमा कांग्रेसबाट प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार भएर ४७ मतले पराजित भएका मंगलबहादुर यो पटक प्रदेशमा झरेका हुन् ।

उम्मेदवारी फिर्ता गराउनका लागि उनलाई सुर्खेत पुगेका बेला कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवासहित, एकीकृत समाजवादीका माधवकुमार नेपाल र माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भेट्न खोजेका थिए ।

तर मंगलबहादुरले भेट्नै मानेनन् । त्यसैले उनको उम्मेदवारी निस्कृय होला भन्ने आशा नरहेको माओवादीका हुम्ला जिल्ला संयोजक डा. दीपेन्द्र रोकाय बताउँछन् ।

समाजवादीका हस्तबहादुरको उम्मेदवारी फिर्ता गर्ने बारेमा भने जिल्ला र केन्द्रमा छलफल चलिरहेको रोकाय बताउँछन् ।

एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा जिल्ला इञ्चार्ज लोकबहादुर हमाल एउटा क्षेत्रमा गठबन्धनको एउटै मात्र उम्मेदवार हुनु पर्नेमा सहमत छन् । अरु क्षेत्रमा त्यागेकाले हुम्लाको एउटा प्रदेश सभा आफूहरुले पाउनुपर्ने उनको अडान छ ।

कर्णाली प्रदेशकै हुम्ला कमा जस्तै कालीकोट र सुर्खेत २ को क र ख मा पनि एकीकृत समाजवादीका उम्मेदवार छन् । हमालले यी चार वटै क्षेत्रको प्याकेजमा सहमति गरेर शीर्ष नेताले टुंगो लगाए आफूहरुलाई त्यो निर्णय मान्य हुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?