+
+

एकीकृत समाजवादीको घोषणा : २ वर्षमा खाद्यान्नमा आत्मनिर्भर, ५ वर्षमा निर्यात

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक १४ गते १५:१२

१४ कात्तिक, काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीले खाद्यान्न, माछा, मासु, अन्डा र दूधमा २ वर्षमा आत्मनिर्भर र ५ वर्षमा मुलुकलाई खाद्यान्न निर्यातको अवस्थामा पुर्‍याउने चुनावी प्रतिबद्धता जनाएको छ ।

सोमबार सार्वजनिक उक्त दलको घोषणापत्रमा रोजगारीका लागि विदेशिएका युवाहरूलाई कृषि पेशामा आकर्षित गर्न १० लाखसम्म निर्ब्याजी ऋण दिनेदेखि आधारभूत खाद्यान्नमा २ वर्षमा आत्मनिर्भर र ५ वर्षमा खाद्यन्न निर्यातको अवस्थामा मुलुकलाई पुर्‍याउने उल्लेख छ ।

‘विदेशिएका युवालाई स्वदेश फर्काऊँ, कृषि उत्पादनमा वृद्धि गरौँ !” भन्ने अभियानमार्फत युवालाई १० लाख रुपैयाँ निर्ब्याजी ऋण उपलब्ध गराइने घोषणा पत्रमा उल्लेख छ । यस्तै दुई वर्षभित्र नेपाललाई आधारभूत खाद्यान्न, माछा, मासु, अन्डा र दूधमा आत्मनिर्भर बनाउने र पाँच वर्षभित्र खाद्यान्न निर्यात गर्ने अवस्थामा पुर्‍याउने उक्त दलले प्रतिबद्धता जनाएको छ ।

कृषि उत्पादकत्वमा वृद्धिका लागि कृषि पूर्वाधारमा ठूलो मात्रामा लगानी गरी कृषिको आधुनिकीकरण, यान्त्रिकीकरण र व्यवसायीकरण तथा किसानलाई कृषि यन्त्र, मल, बिउ, प्रविधिको सहज उपलब्ध गराउने प्रतिबद्धता उल्लेख छ । किसानले उत्पादन गरेका उपज खेर जान नदिन हरेक पालिकामा शीत भण्डार (कोल्ड स्टोर) निर्माण र कृषि उपज संकलन केन्द्रहरू बनाइने योजना रहेको छ । यस्तै रासायनिक मलप्रतिको निर्भरता हटाउँदै प्राकृतिक–जैविक मल उत्पादनतर्फ किसानहरूलाई आकर्षित गराउने र रासायनिक मलको अभावलाई अन्त्य गर्न नेपालमै मल कारखाना स्थापनामा गर्ने घोषणापत्रमा उल्लेख छ ।

भूमि बाँझो राख्न नपाउने, बाँझो जमिनमा खेती गर्ने किसानलाई उत्पादनका आधारमा अनुदान दिने, कृषियोग्य भूमिमा चक्लाबन्दी एवं गरा सुधार र सामूहिक एवं सहकारी खेतीमा जोड दिने पनि घोषणापत्रमा उल्लेख छ । किसानहरूले उत्पादन गर्ने प्रमुख खाद्यबालीमा न्यूनतम समर्थन मूल्य तोकेर त्यसभन्दा कम बजार मूल्य भएमा सरकारले नै खरिद गर्ने व्यवस्था मिलाउने पनि समाजवादीको घोषणापत्रमा समेटिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?