+
+

धनकुटामा सूर्यबहादुर थापाकै गाउँका ५ जना उम्मेदवार

ईश्वर थापा ईश्वर थापा
२०७९ कात्तिक १४ गते १६:३०

१४ कात्तिक, धनकुटा । धनकुटाको मुगा पाँच पटक प्रधानमन्त्री भएका सूर्यबहादुर थापाको जन्मथलो हो । यही गाउँका ५ जना नेता ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा उम्मेदवार छन् । जसमा उनका छोरा सुनीलबहादुर थापासहित ४ जना त थापा परिवारकै छन् ।

धनकुटाबाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार केन्द्रीय सदस्य सुनीलसँगै नेकपा एमालेको तर्फबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार केन्द्रीय सदस्य राजेन्द्र राई र राप्रपाका उम्मेदवार जिल्ला अध्यक्ष कुमारबहादुर थापा मुगाकै हुन् ।

प्रतिनिधिसभाकै समानुपातिक पद्धतितर्फका उम्मेदवार जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य अर्जुन थापा र नेपाली कांग्रेसका तर्फबाट प्रदेशसभामा समानुपातिक पद्धतितर्फको उम्मेदवार इन्दिरा थापा पनि मुगाकै हुन् ।

मुगामा आफ्नै गाउँका ५ नेता प्रतिनिधिसभा र प्रदेशसभामा उम्मेदवार बनेको थाहा नपाउनेहरु पनि छन् । मुगाकी मीनादेवी भुजेल चुनावमा नेताहरुको हार जित र उमेदवारीले आफूहरुलाई कुनै अन्तर नहुने बताउँछिन् ।

५–५ पटक प्रधानमन्त्री बनेका सूर्यबहादुर थापाले त मुगाको विकासमा केही काम नगरेको बताउने गाउँलेहरु यसअघि चुनाव जितेर गएकाहरु फर्केर नआएको गुनासो गर्छन् । ‘जितेर जानेहरु पो खुसी हुन्छन् त, हामी त कसरी खुसी हुनु ?’ भुजेलले प्रश्न गरिन्, ‘आफ्ना समस्या आफैसँग छ कसैले केही गर्ने होइनन् ।’

पाख्रीबास नगरपालिकाको वडा नम्बर ७ र ८ मा पर्ने तत्कालीन मुगा गाविसमा अहिले पनि पक्की सडक छैन । हिउँदमा धुलो र बर्खामा हिलो हुने सडकले केही ठाउँलाई जोडेको छ । स्वास्थ्य उपचारको सुविधा नभएको यो गाउँका वासिन्दा उपचाकरा लागि धरान वा विराटनगर नै पुग्नुपर्छ ।

गाउँमै शिक्षा, स्वास्थ्य र रोजगारीको राम्रो व्यवस्था नहुँदा मुगा गाउँ रित्तिँदै गएको छ । गाउँलेहरु बसाइ सरेर शहर गएकाले धेरै जग्गा जमिन बाँझै छ । शहर पस्न नसक्नेहरु गाउँमै दुखजिलो गरेर दिन बिताइरहेका छन् । नेताहरुले मत माग्न आउँदा विकास निर्माणको काम गर्ने वाचा गरे पनि चुनाव जितेपछि बिर्सन्छन् भन्ने धेरै गाउँलेलाई थाहा छ ।

स्थानीय भैरवबहादुर मगर चुनाव जित्ने नेताले जनताका सुखदुखमा साथ दिनुपर्ने र स्वास्थ्य, शिक्षा, सडक पहुँच र रोजगारीको विषयमा ध्यान दिनुपर्ने बताउँछन् ।

२०७४ को चुनावमा यहाँबाट प्रदेश सभामा एमालेका इन्द्रमणि पराजुली र प्रतिनिधि सभामा एमालेकै राजेन्द्र राई निर्वाचित भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?