+
+

‘भोलिको शहर’ सम्मेलनमा राप्ती, गढवा र शितगंगाका जनप्रतिनिधि सहभागी

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक १५ गते १२:२३
वायाँबाट– राप्ती गाउँपालिकाा अध्यक्ष प्रकाश विष्ट, गढवा गाउँपालिका अध्यक्ष यमनारायण पोख्रेल ‘विश्वास र शितगंगा नगरपालिका प्रमुख छविलाल पौडेल

१५ कात्तिक, काठमाडौं । पाँच देशका विज्ञहरु सहभागी ‘भोलिको शहर’ सम्बन्धी सम्मेलनमा लुम्बिनी प्रदेशको राजधानी रहने पालिकाका प्रमुखहरु पनि सहभागी हुने भएका छन् ।

लुम्बिनी प्रदेशको राजधानी शहर बसाल्ने तयारी भइरहेको बेला दाङका राप्ती र गढवा गाउँपालिका तथा अर्घाखाँचीको शितगंगा नगरपालिकाका प्रमुखहरु सम्मेलनमा सहभागी हुन काठमाडौं आएका हुन् ।

राप्ती गाउँपालिका प्रमुख प्रकाश विष्ट, गढवा गाउँपालिका प्रमुख यमनारायण पोख्रेल (विश्वास), शितगंगा नगरपालिका प्रमुख छविलाल पौडेल र लुम्बिनी प्रदेश पूर्वाधार विकास प्राधिकरणका सीईओ छवि पोखरेलसहितको टोली काठमाडौंमा छ । ललितपुरको हिमालय होटलमा आयोजित सम्मेलनमा राप्ती, गढवा र अर्घाखाँचीका जनप्रतिनिधिको टोली बुधबार सहभागी हुनेछ ।

विकासको नाममा अव्यवस्थित शहरीकरण बढीरहेका बेला ‘भोलिको शहर’लाई जोखिम मुक्त बनाउने अभियानमा संलग्न विभिन्न ५ देशका विषय विज्ञहरुको सम्मेलनलाई ‘टुमरो सिटी अर्वान रिक्स इन ट्रान्जिसन’ नाम दिइएको छ ।

दाङको राप्ती उपत्यकामा लुम्बिनी प्रदेशको व्यवस्थित राजधानी शहर बसाल्ने तयारी भइरहेको बेला यो सम्मेलन उपलब्धिपूर्ण हुने राप्ती गाउँपालिका अध्यक्ष प्रकाश विष्टले बताए ।

गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले सम्मेलनबाट प्राप्त राय, सुझावका आधारमा राजधानी शहरका पूर्वाधार निर्माणमा ध्यान दिन सहायकसिद्ध हुने बताए ।

राप्ती गाउँपालिका पूरै, गढवा गाउँपालिकाका वडा नं. १, २ र ३ तथा अर्घाखाँचीको शितगंगा नगरपालिकाका ८ र ९ नम्बर वडाले चर्चेको क्षेत्रमा लुम्बिनीको राजधानी रहने निर्णय प्रदेश सरकारले गरेको थियो । राजधानी शहरको गुरूयोजना तयार भइसकेको छ ।

सम्मेलनमा नेपालसहित टर्की, केन्या, इक्वेडर र बेलायतका वैज्ञानिकहरु सहभागी छन् । ५ दिनसम्म चल्ने सम्मेलनमा विषय विज्ञहरुले आ–आफ्नो देशमा भोलिको शहर परियोजना अन्तर्गत अध्ययनका क्रममा प्राप्त भएका उपलब्धि र चुनौतिबारे छलफल गर्नेछन् ।

युके रिसर्च एण्ड इनोभेसन, बेलायतका विश्वविद्यालय, प्राक्टिकल एक्सन, नेपाल विकास अनुसन्धान संस्था, एनसेट लगायत विभिन्न संस्थाहरुको संयुक्त पहलमा शुरु भएको भोलिको शहर परियोजनाले पूर्वाधार निर्माण गर्दा भविष्यमा पर्नसक्ने विपद् र जोखिमको पूर्व आँकलन गर्नेछ ।

सम्मेलनमा सहभागी एनसेटका उपकार्यकारी निर्देशक डा. रमेश गुरागाईंले नयाँ पूर्वाधार र बस्तीहरुलाई जोखिममुक्त बनाउने अभियानका साथ भोलिको शहर (टुमरो सिटी) परियोजनाले नेपाल लगायत विभिन्न ४ वटा मुलुकका केही शहरमा अध्ययन गरिरहेको जानकारी दिए । यो परियोजनाले हाल ललितपुरको खोकना र बुंगमतीमा अध्ययन अनुसन्धान गरिरहेको छ । सम्मेलन शुक्रबारसम्म चल्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?