+
+

पार्टी नयाँ, चुनावी एजेन्डा पुरानै

रामहरि ओझा रामहरि ओझा
२०७९ कात्तिक १६ गते ६:५७

१६ कात्तिक, डोटी । न कार्यकर्ताको भीड, न माइक, न झण्डा । अनुहारमा मुस्कान, अभियानमा निरन्तरता ।

उमेरले २६ पुगेका एक युवा बालेन स्टाइलमा राष्ट्रिय झण्डा भिरेका छन्, हातमा डायरी छ । बाटोमा, घरमा भेटिएका मान्छेहरुलाई नमस्कार भन्छन् । उनले दिएका सल्लाह सुझाव डायरीमा टिप्छन्, भोटका लागि अनुरोध गर्दै अगाडि बढ्छन् ।

उनी हुन् रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीबाट डोटीको प्रतिनिधि सभा सिटका उम्मेदवार केशवबहादुर बलायर । सूचना प्रविधि विषयमा स्नातक बलायर विद्यालय शिक्षा व्यवस्थापनमा काम गर्दै आएका थिए । हाल उनी चुनावी मैदानमा होमिएका छन् ।

सामान्य परिवारमा हुर्किएका बलायर आफू रहरले राजनीतिमा नआएको बताउँछन् । ‘राजनीतिलाई बद्नाम बनाउने काम भयो,’ बलायर भन्छन् ‘राजनीतिभित्रको बिकृति हटाउन म उम्मेदवार भएँ ।’ ठुला दलहरुले राष्ट्र र जनताप्रति धोका गरेको उनको आरोप छ ।

राष्ट्रियताको रक्षा गर्न र भ्रष्टाचार न्यूनीकरण गर्न आफुले उम्मेदवारी दिएको उनी बताउँछन् । ‘हामी धेरै राम्रो गर्न नसकौला तर अहिलेको जस्तो बेथिति हुन दिने छैनौं’, उनी भन्छन्, ‘हामी जनतालाई झुटा आश्वासन पनि दिदैनौं ।’

पार्टी नयाँ, चुनावी एजेन्डा  पुरानै

राजनीतिक विकृति अन्त्यका लागि उम्मेदवारी दिएको बताउने बलायरका चुनावी एजेन्डा भने पुरानै छन् । उनका एजेन्डामा अन्य दलहरुले विगतका निर्वाचनहरुमा उठाउदै आएका पश्चिम सेती जलविद्युत आयोजना, खप्तड क्षेत्रको पर्यटकीय विकास, गाउँगाउँमा बाटो, विद्युतीकरणले नै प्राथमिकता पाएको छ ।

यस्तै, बलायरका चुनावी एजेन्डामा खानेपानी, रोजगारी, खेलकुद्, जीविकोपार्जन, वन जंगल संरक्षणलगायतका बासी योजनानै समाबेश छन् ।

राज्यको पुनर्संरचनासँगै विवादमा रहेको सुदूरपश्चिम प्रदेश राजधानीको विषय बलायरको पनि चुनाबी एजेन्डा बनेको छ ।

उनले प्रदेश राजधानी डोटी हुनुपर्ने भन्दै संघीय संसदमा आवाज उठाउने बताएका छन् । सुदूरपश्चिम प्रदेश सभाले प्रदेश राजधानी कैलालीको गोदावरी तोकेको चार वर्ष बित्दा पनि जग्गा प्राप्ति हुन नसक्दा कुनै संरचना बनेको छैन ।

प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनमा प्रदेश राजधानीको विषय तीव्रताका साथ उठेको छ ।

बलायरले सूचना प्रविधिको विकास, युवाहरुको सूचनामा सहज पहुँच, भ्रष्टाचार न्यूनीकरणका लागि ऽुत प्रतिकार्य समूह गठन जस्ता फरक एजेन्डा पनि आफ्नो प्रतिबद्धतामा समावेश गरेका छन् ।

जित्ने आधार के ?

एक जना साथी, एक डायरी, एक राष्ट्रिय झण्डा र प्रतिबद्धताको पर्चा बोकेर घरदैलो अभियानमा हिँडेका बलायर चुनाव जित्नेमा आशावादी छन् ।

‘युवाहरुले राम्रो हौसला दिइरहेका छन्, जनताले आशीर्वाद दिइरहेका छन्ा्’, बलायर भन्छन् ‘रेस्पोन्स राम्रो छ, यही मेरो जित्ने आधार हो ।’

पुराना दलहरुबाट जनता वाक्क-दिक्क भएका र विकल्प खोजेकाले पनि आफू उपयुक्त बिकल्प भएको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?