+
+

मेधावी सोनीको उत्कृष्ट बलिङ

नमिता दाहाल नमिता दाहाल
२०७९ कात्तिक १७ गते ७:४६
सोनी पाख्रिन । तस्वीर : दिपेश पण्डित

१७ कात्तिक, काठमाडौं । खेलकुद र अध्ययनलाई एकैसाथ अगाडि लैजान सकिने संयन्त्र नभएकै कारण नेपालमा अहिले पनि अधिकांश अभिभावक आफ्ना छोराछोरीलाई खेलाडी बनाउन हिच्किचाउँछन् ।

तर, नवौं राष्ट्रिय खेलकुदमा महिला क्रिकेटको एक उदीयमान खेलाडीको रुपमा आफूलाई स्थापित गरेकी सोनी पाख्रिनले यसलाई चुनौति दिएकी छन् ।

गण्डकी प्रदेशमा भएको नवौं राष्ट्रिय खेलकुदमा क्रिकेटमा प्रतियोगिताको सर्वाधिक विकेट लिने खेलाडीका रुपमा सर्वोत्कृष्ट बलर बनेकी सोनीलाई नेपाल टिमको भविष्यका रुपमा हेर्न थालिएको छ । उनी तीव्र बलिङ गर्छिन् ।

सर्लाही, लालबन्दीकी १६ वर्षीया सोनी काठमाडौंको बौद्धस्थित लर्ड बुद्ध माध्यमिक विद्यालयमा १० कक्षामा अध्ययनरत छिन् । उनी कक्षाकी प्रथम छात्रा हुन् । पढाइ र खेलकुद दुवैलाई उत्तिकै महत्व र उपलब्धीका साथ एकसाथ अगाडि बढाउने उनको व्यवस्थापन कला पनि रोचक छ ।

विद्यालयमा हुने अतिरिक्त क्रियाकलापमा सानैदेखि रुची राख्ने सोनीलाई विस्तारै क्रिकेटले आकर्षित गर्‍यो । ६ वर्षअघि दाइको साथीले ओसिस क्रिकेट एकेडेमी चिनाइदिएपछि उनको व्यावसायिक क्रिकेट बन्ने सपना जागृत हुन थालेको हो । परिवारको साथ र आफ्नो मिहिनेतबाट सोनी स्थापित क्रिकेटर बन्ने लक्ष्यमा छिन् । पहिलो प्रयासमै उनले पाएको यो सफलता उत्कृष्ट छ ।

सोनी परिवारसहित काठमाडौंमा बस्ने सोनीको दिनचर्या निकै व्यवस्थित छ । बिहान उठ्नेदेखि हरेक कुराको उनीसँग समय तालिका छ । विद्यालयबाट फर्किएर गृहकार्य सक्ने र एकेडेमीमा प्रशिक्षण गर्ने उनको ६ वर्षयताको दैनिकी हो ।

पढाइमा राम्रो भएका कारण पनि परिवारबाट उनलाई क्रिकेट सिक्न जान कहिल्यै रोकतोक भएन ।

आधा घण्टाको पैदल यात्रा गरी ओसिस नै जानुपर्ने आवश्यकता किन त ?

उनी भन्छिन्, ‘त्यहाँ महिला खेलाडीलाई प्रशिक्षण शुल्क लाग्दैन । ओसिस नै मेरो क्रिकेटको सुरुवाती पाठशाला हो ।’

कक्षामा प्रथम हुने विद्यार्थी भएकै कारण अरुले उछिन्ने हो कि भन्ने चिन्तामा छिन् । अहिलेसम्म समय व्यवस्थापन गर्न सकेकोमा उनी सन्तुष्ट छिन् । ‘पढ्ने बेलामा पढाइमा ध्यान दिने अनि खेल्ने बेला खेलमा ध्यान दिने भए आफैं मिल्दो रहेछ,’ उनले थपिन् ।

ओसिसले दिएको पहिचान

१० वर्षकी सोनीले राम्रोसँग बल समाउन जानेकी थिइनन् । त्यहि हातलाई क्रिकेटको महिला क्रिकेटको भविष्यका रुपमा सम्भावना देखाउने गुरु हुन्– राष्ट्रिय टिमका पूर्व सदस्य राजेश पुलामीमगर ।

महिला क्रिकेटको उत्थानका लागि र महिला खेलाडी उत्पादनका ओसिसले चालेको निशुल्क प्रशिक्षण कार्यक्रमको परिणामका रुपमा सोनी देखिएकी छन् । ‘म अहिले जे छु त्यो मेरो परिवारको साथ र ओसिसको प्रशिक्षणले नै हो,’ सोनीले भनिन् ।

बागमतीबाट पाएको अवसर

अघिल्लो वर्ष भएको प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेटमा बागमतीको टिमबाट अवसर पाएकी सोनीले ३ खेलमा १ विकेट लिएकी थिइन् । राम्रो प्रदर्शन गर्न नसके पनि सो प्रतियोगिताले उनलाई आत्मविश्वासी बनायो ।

नवौं राष्ट्रिय खेलकुदमा बागमती टिमका प्रशिक्षक सामसनजंग थापाले उनलाई टिममा फेरि अवसर दिए । तीव्र बलरको सीमिततालाई चिर्दै उनले आफूलाई प्रमाणित गरिहालिन् ।

बागमती टिमले खेलेको पहिलो खेलमा सोनीले सुदुरपश्चिमविरुद्ध ५ विकेट लिइन् । यो उनको अहिलेसम्मकै उत्कृष्ट प्रदर्शन हो । प्रतियोगिताभर हरेक खेलमा विकेट लिन सकिन् । नवौंमा बागमतीले कांस्य पदक जित्दा उनले सर्वाधिक १२ विकेटसहित सर्वोत्कृत बलरको व्यक्तिगत पुरस्कार पाइन् ।

‘बागमतीको टिममा राम्रो वातावरण छ । एकले अर्कोलाई समर्थन र हौसला दिनुहुन्छ । त्यसैले पहिलोपल्ट राष्ट्रिय खेलकुदमा दवाव महशुस गर्नुपरेन,’ उनले थपिन् ।

सोनीसहितको बागमती प्रदेशको क्रिकेट टिम । तस्वीर : दिपेश पण्डित

सोही प्रदर्शनका आधारमा सोनीले आईसीसीअन्तर्गतको एमसीसीको नेपाल भ्रमणका क्रममा क्यान ११ को टिममा अवसर पाइन् ।

सो प्रतियोगितामा पहिलो पटक राष्ट्रिय टिमको जर्सी लगाइन् । ‘आङ सिरिङ्ग भयो । मेरो सपना पूरा भएको अनुभव भयो,’ घरेलु क्रिकेटमा सोमपाल कामीकी प्रशंसक सोनीले भनिन् ।

उनको सपना भनेको राष्ट्रिय महिला टिमको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय स्तरमा नेपाललाई जिताउने हो ।

अन्तर्राष्ट्रिय फ्रेन्चाइज प्रतियोगिता इण्डियन प्रिमियर लिग (आईपीएल) खेल्ने लक्ष्यमा छिन् । अर्को सिजनदेखि महिलाको आईपीएल आयोजना हुने घोषणा भइसकेको छ ।

उनले यस पटक एमसीसीको नेपाल भ्रमणका क्रममा राष्ट्रिय टिमका सिनियर खेलाडीसँग धेरै सिक्ने मौका पाएको बताइन् । ‘सिनियर टिमको दिदीहरुबाट धेरै नयाँ कुरा सिक्ने मौका पाएँ,’ उनले आफ्नो प्रदर्शनलाई धेरै खेलाडीले प्रशंशा गरेकोमा खुसी लागेको बताइन् ।

यू-१९ छनोट खेल्दा अन्तिम परीक्षा छुट्यो

कक्षा ९ को अन्तिम परीक्षाको बेला सोनीको यू १९ को राष्ट्रिय छनोट प्रतियोगिता थियो । खेल कि पढाइ ? भन्ने द्विविधाले उनलाई लामो समयसम्म सतायो ।

तर, खेलकुदमा लाग्न प्रेरित गर्ने स्कुलले सोनीको दुःख बुझेरै राष्ट्रिय टिमको छनोट सकिएपछि मात्र परीक्षा दिने व्यवस्था मिलाइदियो ।

सोनी भन्छिन्, ‘त्यो बेला विद्यालयले मलाई नबुझिदिएको भए साह्रै गाह्रो हुन्थ्यो ।’

उनलाई क्रिकेट खेल्न विद्यालय व्यवस्थापनले पनि निकै सहयोग गरिरहेको छ । त्यो छनोट पार गरी आइसीसी विश्वकप छनोटका लागि राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा पुगेकी थिइन् । प्रारम्भिक छनोटमा परे पनि अन्तिम टिममा अटाउन सकिनन् ।

लेखकको बारेमा
नमिता दाहाल

नमिता दाहाल अनलाइनखबरको खेलकुद संवाददता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?