+
+

धनगढीमा सडक विस्तार गर्न मेयर हमालले चलाए डोजर

जनक विष्ट जनक विष्ट
२०७९ कात्तिक १६ गते १८:५१

१६ कात्तिक, धनगढी । धनगढी उपमहानगरपालिकाले मुख्य सडक फराकिलो बनाउन सडक छेउछाउका संरचना हटाउन सुरु गरेको छ । हुलाकी सडक आयोजनाले जग्गाधनीको अवरोधका कारण क्याम्पस चोकदेखि ट्राफिक चौराहसम्म संरचना हटाउन नसकी त्यसै छाडेको सडकमा उपमहानगरपालिकाले बुधबार डोजर चलाएको हो ।

धनगढी–१ कैलालीपुलदेखि वडा नम्बर ८ को क्याम्पस चोकसम्मको करीब २३ सय मिटर सडक फराकिलो बनाउने योजनाअनुसार संरचना हटाउन थालिएको उपमहानगरपालिकाले जनाएको छ ।

सडकको केन्द्र भागदेखि दायाँबायाँ १५–१५ मिटर विस्तार गर्ने योजना अनुसार असोज मसान्तसम्म संरचना हटाउन गत भदौ १३ गते सार्वजनिक सूचना जारी गरेको थियो । तर व्यवसायीले दशैं, तिहार र छठ पर्व व्यापारको मुख्य समय भएकाले छठ पर्वसम्म पर्खिन आग्रह गरेका थिए ।

बुधबार नगरप्रमुख गोपाल हमाल र उपप्रमुख कन्दकला रानासहितका जनप्रतिधिले फिल्डमा पुगेर सरकारी स्वामित्वको सेती प्रादेशिक अस्पताल भवनमा निर्मित्त मुख्य सडकतर्फका सटरमा डोजर चलाएका छन् ।

उपमहानगरपालिका कार्यालयका अनुसार तत्काल रेखाङ्कन गरिएकामध्ये सरकारी स्वामित्वमा रहेका भौतिक संरचनामाथि डोजर चलाइएको हो । जग्गाधनीले आफैं खाली नगरे निजी संरचना पनि हटाइने उपमहानगरपालिकाले जनाएको छ । तर केही व्यवसायीले भने सडकको क्षेत्राधिकारभित्र पर्ने संरचना आफैंले हटाइरहेका छन् ।

नगर प्रमुख हमालले धनगढी शहरलाई नमुना बनाउने अभियान अन्तर्गत मुख्य सडकलाई फराकिलो बनाउन संरचना हटाइएको बताए । ‘हामीले असोज मसान्तसम्म संरचना हटाउने समय दिएका थियौं ।

व्यवसायी र घरबेटीको आग्रहअनुसार छठसम्म म्याद थपेका थियौं’, हमालले अनलाइनखबरसँग भने, ‘छठ सकिएकाले सडक विस्तारका लागि आजदेखि हामीले सरकारी कार्यालयबाट संरचना हटाउने काम प्रारम्भ गरेका छौँ । अब सिलसिलेबार रुपमा अघि बढ्छ ।’

धनगढीको क्याम्पसचोकदेखि भन्सार रोडसम्मको सडक हुलाकी सडक आयोजना अन्तर्गत निर्माण हुने भनिए पनि तत्कालीन समयमा भौतिक संरचना भत्काउनुपर्ने भएकै कारण भारतीय कम्पनीले सर्वे गर्न अस्वीकार गरेको थियो ।

सर्वे हुन नसकेकै कारण हुलाकी सडक योजना कार्यालय धनगढीले क्याम्पस चोकदेखि भन्सारसम्मको साढे ६ किलोमिटर वाइपास रोड निर्माण गरेको थियो ।

क्याम्पस चोकनजिकै पर्ने सरोज आयल स्टोरलाई जिरो प्वाइन्ट मानेर सर्वे गरिएको भन्सार रोडसम्मको वाइपास सडक निर्माणकै चरणमा छ । धनगढी उपमहानगरपालिका कार्यालयका इन्जिनियर द्विजराज भट्टले क्याम्पस चोकदेखि भन्सार रोडसम्मको सडक हुलाकी राजमार्गमै पर्ने बताए ।

‘उपमहानगरपालिकाले संरचना हटाउन सुरु गरेको सडक हुलाकी सडक अन्तर्गत नै पर्छ तर विगतमा के–कति कारणले निर्माण भएन त्यो थाहा छैन’, भट्टले अनलाइनखबरसँग भने, ‘अहिले क्याम्पस चोकदेखि चौराहसम्मको सडक विस्तार गर्ने योजना अनुसार काम थालिएको हो ।’

उनका अनुसार क्याम्पस चोकदेखि कैलाली पुलसम्मको २३ सय मिटर सडक विस्तारका लागि धनगढी उपमहानगरपालिकाले दुई करोड रुपैयाँ बजेट छुट्याएको छ ।कैलाली पुलदेखि चौराहसम्मको सडक विस्तारका लागि भने गतवर्ष नै ठेक्का सम्झौता भइसकेको छ ।

लेखकको बारेमा
जनक विष्ट

विष्ट अनलाइनखबरका कैलाली संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?