+
+
Shares

बालेनले सोध्थे– जनकपुरमा कहिलेदेखि डोजर चल्छ ? आज निस्कियो ३५ दिने सूचना

सडक डिभिजन कार्यालय जनकपुरले माइस्थान–गौशाला–सम्सी तथा बर्दिबास–जलेश्वर सडकखण्डको अतिक्रमण ३५ दिन भित्र हटाउन आग्रह गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन १४ गते ६:५७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सडक डिभिजन कार्यालय जनकपुरले माइस्थान–गौशाला–सम्सी र बर्दिबास–जलेश्वर सडक खण्डमा रहेका अतिक्रमण हटाउन ३५ दिने अल्टिमेटम जारी गरेको छ ।
  • कार्यालयले सडकको केन्द्र रेखाबाट दायाँ–बायाँ १५–१५ मिटरभित्र रहेका अनधिकृत संरचना तथा सामग्रीहरू तोकिएको समयभित्र आफैं हटाउन निर्देशन दिएको छ ।
  • निर्धारित अवधिभित्र अतिक्रमण नहटाए सार्वजनिक सडक ऐन, २०३१ बमोजिम कार्यालयले भत्काउने र लाग्ने खर्च सम्बन्धित व्यक्तिबाट असुलउपर गर्ने चेतावनी दिएको छ ।

१४ साउन, काठमाडौं । सडक डिभिजन कार्यालय जनकपुरले आफ्नो कार्यक्षेत्रभित्र पर्ने माइस्थान–गौशाला–सम्सी सडक तथा बर्दिबास–जलेश्वर सडक खण्डमा भएका अतिक्रमण हटाउन ३५ दिने अल्टिमेटम दिएको छ ।

आज साउन १४ गते सार्वजनिक सूचना जारी गर्दै कार्यालयले ३५ दिनभित्र सडक क्षेत्र खाली गर्न भनेको हो ।

यसअघि प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद बैठकमै सम्बन्धित मन्त्रीहरुलाई ‘जनकपुरमा कहिलेदेखि डोजर चल्छ ?’ भन्दै चासो राख्ने गरेका थिए । बालेनले गत माघ ५ गते जनकपुरको सभामा अतिक्रमित जग्गा, मठमन्दिर र पोखरीको संरक्षण गर्ने घोषणा गरेका थिए । त्यसको कार्यान्वयन नभइरहेका बेला उनले डोजर चलाउन दबाब दिने गरेका थिए ।

सडक डिभिजन जनकपुरका अनुसार सडकको केन्द्र रेखादेखि दायाँ–बायाँ क्रमश: १५/१५ मिटर क्षेत्रभित्र सवारी पार्किङ गर्ने, व्यापारिक सामग्री राख्ने, विज्ञापन बोर्ड स्थापना गर्ने, निर्माण सामग्री थुपार्ने, सडक किनारमा खुद्रा व्यापार सञ्चालन गर्ने तथा अस्थायी संरचना निर्माण गर्ने गरिएको छ ।

कार्यालयले यस्ता गतिविधिले यातायात सञ्चालन, ट्राफिक व्यवस्थापन तथा सर्वसाधारणको आवतजावतमा समस्या उत्पन्न गरेको भन्दै सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र सबै अनधिकृत संरचना तथा सामग्री हटाई सडकको क्षेत्राधिकार खाली गर्न सम्बन्धित व्यक्ति तथा संस्थालाई निर्देशन दिएको छ ।

निर्धारित अवधिभित्र अतिक्रमण नहटाइए सार्वजनिक सडक ऐन, २०३१ को दफा १९ र २० बमोजिम सडक डिभिजन कार्यालयले आफैं अनधिकृत संरचना भत्काउने तथा हटाउने कार्य अघि बढाउने जनाएको छ ।

साथै, उक्त कार्यमा लाग्ने सम्पूर्ण खर्च सम्बन्धित व्यक्ति वा संस्थाबाट सरकारी बाँकी सरह असुलउपर गरिने चेतावनी समेत दिइएको छ ।

सडक डिभिजन कार्यालयले सबै सरोकारवालालाई समयमै अतिक्रमण हटाई सडकको सार्वजनिक क्षेत्र सुरक्षित राख्न आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?