+
+
Shares

मन्त्रिपरिषद्‌मा बालेनको चासो : जनकपुरमा कहिलेदेखि डोजर चल्छ ?

मन्त्री रावलको सचिवालयको फेसबुक पेजबाटै अतिक्रमित जग्गा यथाशीघ्र खाली गराउन निर्देशात्मक सूचना जारी भएको छ।

आदित्य नेपाल आदित्य नेपाल
२०८३ साउन १० गते १३:३५
फाइल तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रधानमन्त्री बालेन शाहले जनकपुरका अतिक्रमित जग्गा र पोखरी संरक्षणका लागि तत्काल डोजर चलाउन मन्त्रीहरूलाई निरन्तर दबाब दिइरहेका छन्।
  • भूमि व्यवस्था मन्त्रालयले जारी गरेको सात दिने म्याद साउन ८ गते सकिए पनि जनकपुरको अतिक्रमण हटाउने कार्यमा ढिलाइ भएको छ।
  • गुठी संस्थानका प्रवक्ता जनक पोख्रेलले अतिक्रमित संरचना भत्काउने प्रक्रिया सुरु हुने बताए पनि हालसम्म कुनै ठोस कदम चालिएको छैन।

१० साउन, काठमाडौं । मन्त्रिपरिषद्का लगभग सबै बैठकमा प्रधानमन्त्री बालेन शाह गम्भीरतापूर्वक एउटा जिज्ञासा राख्छन्। अझै, भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावल र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडक राज (गनेश) पौडेलसँग त सोझै प्रश्न नै सोध्छन्, ‘जनकपुरमा कहिलेदेखि डोजर चल्छ?’

मन्त्रिपरिषद्का एक सदस्यका अनुसार प्रधानमन्त्री बालेनले दुवैजनालाई दबाब नै दिइरहेका छन् । ‘दुवै मन्त्रीहरू आफूहरू प्रक्रिया अगाडि बढाइसकेको तर कतिपय बस्तीहरू नै पर्ने भएकाले चरणबद्ध रूपमा डोजर चलाउने भन्नुहुन्छ,’ ती सदस्यले अनलाइनखबरसँग भने, ‘तर प्रधानमन्त्रीज्यूका अनुसार सबैतिर एकैपटक लगाउ भन्ने कुरा छ।’

बालेनले जनकपुरको सन्दर्भमा यस्तो चासो देखाउनुको कारण उनले आफैं गएको माघ ५ गते राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)द्वारा आयोजित ‘परिवर्तनको उद्घोष सभा’मा गरेको भाषण हो। उनले भाषणमा आफू जनकपुरधामको अतिक्रमित जग्गा, मठमन्दिर र पोखरीको संरक्षण गर्ने बताएका थिए।

‘काठमाडौंमा हामीले मन्दिर जोगायौं, पाटीपौवा संरक्षण गर्यौं, पोखरी संरक्षण गर्यौं, फल्चा बनायौं। तर जनकपुरमा यहाँका पोखरी, मन्दिर, पाटीपौवा बाटो कुरेर बसेका छन् की कहिले कोही आउँछ र हामीलाई संरक्षण दिन्छ,’ बालेनले भाषणमा भनेका थिए, ‘त्यो कोही भनेकै राष्ट्रिय स्वतन्त्र पार्टी हो। यहाँको पोखरीको, यहाँको मन्दिरको र यहाँको भूमिको संरक्षण अब राष्ट्रिय स्वतन्त्र पार्टीले गर्छ। र मलाई तपाईंहरू काम दिनुस् यो गर्नलाई। म काम गरेर देखाउँछु।’

यही कारणले बालेन पटकपटक पौडेललाई भन्दा पनि रावललाई भनिरहेका छन्, ‘आई नीड जनकपुर नीट एण्ड क्लिन।’

मन्त्री रावलको सचिवालयको फेसबुक पेजबाटै अतिक्रमित जग्गा यथाशीघ्र खाली गराउन निर्देशात्मक सूचना जारी भएको छ।

‘जनकपुर उपमहानगरपालिकाभित्र रहेका राजगुठीअन्तर्गतका विभिन्न पोखरी तथा पोखरीका डिल क्षेत्रमा भएको अतिक्रमण हटाउन सरकारले सात दिन भित्र हटाउन निर्देशन दिएको छ,’ पेजमा सूचनाको तस्बीरसँग लेखिएको छ।

‘गुठीको जग्गा संरक्षण र व्यवस्थापनका लागि गठित उच्चस्तरीय कार्यदलको प्रतिवेदन–२०६२ कार्यान्वयन समितिले सार्वजनिक सूचना जारी गर्दै विशहरा पोखरी, दशरथ तालाउ, अर्गजा सर, रत्नसागर पोखरी, मुरली सर, दीर्घिका सर, गोडधोई पोखरीलगायतका जलाशय तथा तिनका डिल क्षेत्रमा भएका अनधिकृत संरचना र अतिक्रमण हटाउन निर्देशन दिएको हो,’ पेजमा विवरण खुलाएर थप लेखिएको छ।

सकियो सरकारी म्याद

भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले धनुषाको रामजानकी मन्दिरलगायत बृहत्तर जनकपुर क्षेत्रअन्तर्गत रहेका गुठी जग्गाको संरक्षण तथा अतिक्रमण हटाउन असारको २४ गते नै गुठी संस्थान, प्रधान कार्यालयका गुठी प्रशासक ध्रुव घिमिरेको संयोजकत्वमा नौ सदस्यीय कार्यान्वयन समिति गठन गरेको थियो।

मन्त्रालयले बृहत्तर जनकपुर क्षेत्रअन्तर्गत जनकपुर उपमहानगरपालिकाभित्र रहेका पोखरी, पोखरीका डिल, रामजानकी मन्दिरलगायत प्रमुख मठ–मन्दिर तथा गुठी जग्गाको संरक्षण र व्यवस्थापनका लागि विगतमा तयार भएका प्रतिवेदनको कार्यान्वयनलाई तीव्रता दिने समितिको कार्यदेश छ।

सोहीअन्तर्गत साउनको १ गते मन्दिर परिसर, पोखरी तथा पोखरीका डिलमा भएको अतिक्रमण रेखाङ्कन गरी सम्बन्धित व्यक्तिलाई सात दिनभित्र स्वेच्छाले जग्गा खाली गर्न सूचना समेत जारी गरेको थियो, जसको म्याद साउनको आठ नै सकिइसक्यो।

यद्यपी, समिति अहिलेसम्म कुनै ‘एक्शन’मा उत्रिएको छैन। यसैबीच समितिको संयोजक रहेका घिमिरेको जिम्मेवारीमा नयाँ गुठी प्रशासक सैलेश राज कुवँरलाई नियुक्त गरिएको छ।

यसअघि घिमिरे दोहोरो जिम्मेवारीमा थिए भने अब उनी भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सहसचिवको जिम्मेवारीमा मात्रै छन्।

धनुषाका सहायक प्रमुख जिल्ला अधिकारी भुदेव झाका अनुसार समितिले दिएको सात दिने म्याद सकिएयता मन्त्रालयबाट थप अप्डेट आएको छैन। ‘अब हामीले जे निर्देशन आउँछ हामी त्यसरी काम गर्छौं,’ झाले अनलाइखबरसँग भने।

त्यस्तै, गुठी संस्थान शाखा कार्यालय धनुषाका प्रमुख किशोर कुमार झा पनि म्याद सकिएपछि थप सूचना आफूलाई नै नआएको बताउँछन्। उनकाअनुसार गुठी संस्थानको प्रधान कार्यालयबाट उनलाई अगामी प्रक्रियाबारे कुनै जानकारी आएको छैन।

गुठी संस्थान, प्रधान कार्यालयका प्रवक्ता जनक पोख्रेल भने अगामी प्रक्रियाअनुसार अतिक्रमति क्षेत्र नछोडेको संरचनामा डोजर चलाउने बताउँछन्। ‘कहिलेदेखि चल्छ भन्ने कुरा चाहीं यकिन छैन,’ पोख्रेले अनलाइनखबरसँग भने, ‘खासमा ध्रुव सरको मन्त्रालय सरूवाले अलिक ढिला हुनेभयो।’

नौ सदस्यीय समितिमा जिल्ला प्रशासन कार्यालय धनुषाका सहायक प्रमुख जिल्ला अधिकारीसँगै जिल्ला समन्वय समिति धनुषाका जिल्ला समन्वय अधिकारी, भूमि व्यवस्थापन तथा अभिलेख विभागका निर्देशक, भूमि प्रशासन कार्यालय धनुषाका प्रमुख, भूमि प्रशासन अधिकृत, नापी कार्यालय धनुषाका प्रमुख नापी अधिकृत, गुठी संस्थान शाखा कार्यालय धनुषाका कार्यालय प्रमुखलगायतका प्रतिनिधि सदस्य रहेका छन् ।

लेखक
आदित्य नेपाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?