+
+
Shares

प्रधानमन्त्रीले बारम्बार नतिजा देखाउन भन्नुभएको छ, त्यही अनुसार काम गरेको छु : स्वर्णिम वाग्ले

‘कसैको आफन्त, नातेदार वा कुनै नेताको सिफारिसका आधारमा निर्णय हुने छैन । यदि कसैले दबाब दिन खोज्छ भने त्यसले उल्टै नकारात्मक परिणाम भोग्नुपर्ने हुन्छ,’ उनले भने

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन ७ गते १७:१६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कर्मचारीलाई राजनीतिक दबाबमुक्त भई विधिपूर्वक काम गर्न र नतिजा देखाउन प्रधानमन्त्रीले निर्देशन दिएको जानकारी गराउनुभयो ।
  • सरुवा र बढुवामा राजनीतिक पहुँच वा सिफारिसको अन्त्य गरी योग्यता र निष्पक्ष मूल्याङ्कनका आधारमा निर्णय गरिने उहाँले स्पष्ट पार्नुभयो ।
  • राजश्व प्रशासन सुधार गर्न आफू स्वयं देशभरका कार्यालयहरूको स्थलगत अनुगमनमा जाने र कर्मचारीका समस्या सुन्ने प्रतिवद्धता अर्थमन्त्री वाग्लेले व्यक्त गर्नुभयो ।

७ साउन, काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विधिपूर्वक काम गर्न र नतिजा देखाउन आफूलाई प्रधानमन्त्री बालेन शाहले निर्देशन दिएको जानकारी गराएका छन् ।

बिहीवार आन्तरिक राजश्व विभागमा आयोजित देशभरका कर अधिकृतहरूको भेलालाई सम्बोधन गर्दै उनले यसबारे जानकारी गराएका हुन् ।

प्रधानमन्त्री शाहले आफूलाई पात्रभन्दा पनि कामको प्रकृति र नतिजाको सरोकार रहेको बताएको पनि अर्थमन्त्री वाग्लेले जानकारी गराए ।

‘अहिलेका सम्माननीय प्रधानमन्त्रीज्यूले पनि हामीलाई बारम्बार भन्नुहुन्छ– कसलाई ल्याउने वा कसलाई राख्ने भन्ने मेरो व्यक्तिगत चासो छैन,’ वाग्लेले भने, ‘नतिजा आउनुपर्छ, तपाईंहरू आफ्नो विधि र प्रक्रियाअनुसार काम गर्नुहोस् । मैले पनि यही भावना मन्त्रालयमा लागू गरेको छु ।’

सरुवा र बढुवाका लागि राजनीतिक दल वा शक्ति केन्द्रको सोर्सफोर्स लगाउने प्रवृत्तिलाई पूर्णत: निरुत्साहित गरिने उनको भनाइ थियो ।

विगतमा सरुवाका लागि नेता र गुट समात्ने अभ्यासले ऊर्जा र समय नष्ट गरेको चर्चा गर्दै उजले अब त्यस्तो प्रणाली अन्त्य हुने दाबी उनले गरे । सरकारी नियुक्ति तथा कर्मचारी सरुवामा कुनैपनि प्रकारको राजनीतिक दबाब र प्रभाव स्वीकार्य नहुने उनले बताए ।

‘कसैको आफन्त, नातेदार वा कुनै नेताको सिफारिसका आधारमा निर्णय हुने छैन । यदि कसैले दबाब दिन खोज्छ भने त्यसले उल्टै नकारात्मक परिणाम भोग्नुपर्ने हुन्छ,’ उनले भने, ‘मैले गरेका नियुक्तिहरू पनि योग्यता र निष्पक्ष मूल्याङ्कनका आधारमा भएका छन् । उदाहरणका रूपमा, राष्ट्र बैंकको डेपुटी गभर्नर नियुक्तिमा धेरैले लबिङ गरे, तर लबिङ नगर्ने योग्य व्यक्ति नै नियुक्त हुनुभयो । यही प्रणालीलाई संस्थागत गर्न हामी लागिरहेका छौँ ।’

राजश्व प्रशासनको सुधार र कर्मचारीको हौसला वृद्धिका लागि आफू स्वयं देशभरका भन्सार र कर कार्यालयहरूको स्थलगत अनुगमनमा जाने प्रतिवद्धता समेत उनले जनाए ।

कर्मचारीहरूका समस्या, चुनौती र गुनासाहरू सुन्न आफू सधैँ तयार रहेको बताउँदै उनले कुनैपनि सुझाव वा समस्या भए सिधै मन्त्रालयमा सम्पर्क गर्न आग्रह गरे ।

‘राजनीतिक दबाब कुनैपनि हालतमा हुनेछैन भन्नेकुरा मैले पहिले नै स्पष्ट गरिसकेको छु । हाम्रो प्राथमिकता व्यक्ति होइन, नतिजा हो,’ उनले भनेका छन् ।

प्रणाली सुधार र सुशासन प्रवर्द्धनका लागि आफू प्रतिवद्ध रहेको बताउँदै अर्थमन्त्री वाग्लेले कतै अनियमितता वा बदमासी भएको भए प्रमाणसहित जानकारी गराउन कर्मचारीहरूलाई निर्देशन दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?