+
+

राष्ट्रपतिबाट मुक्तिनाथ क्षेत्रमा बुद्ध मूर्ति र बुटिक रिसोर्ट उद्घाटन

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक १८ गते १३:३०

१८ कात्तिक, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले मुस्ताङस्थित प्रशिद्ध तिर्थस्थस्ल मुक्तिनाथ क्षेत्रमा ‘लो मुस्ताङ हिमालयन रिसोर्ट’ र बुद्ध मूर्तिको उद्घाटन गरेकी छिन् । गैर आवासीय नेपाली संघका पूर्वउपाध्यक्ष सोनाम लामाले मुक्तिनाथ क्षेत्रमा सो लगानी गरेका हुन् ।

लो मुस्ताङ हिमालय रिसोर्टका सञ्चालक निमा डिकी लामाले यस क्षेत्रमा धार्मिक पर्यटक बढाउन यी संरचनाले महत्वपूर्ण भूमिका खेल्ने बताए । होटल सञ्चालक लामाले कालिगण्डकी करिडोरमा सडक तथा अन्य पूर्वाधार पुगेसँगै पर्यटक आगमन बढेको र त्यसको तुलनामा स्तरीय र होटल संरचनाको अभाव रहेकाले यहाँ लगानी गरेको जानकारी दिए ।

गैरआवासीय नेपाली संघका पूर्वउपाध्यक्ष तथा होटलका सञ्चालक लामाले मुक्तिनाथ क्षेत्रमा धेरै भन्दा धेरै पर्यटक भित्र्याउन सके यस भेगकै जीवनस्तरमा सुधार ल्याउन सकिने बताए । उनले स्वदेशी, विदेशी पर्यटक र विशिष्ट पाहुनाहरुलाई सुविधायुक्त होटल बनाउने उद्देश्यले लगानी गरेको समेत जानकारी दिए ।

बुटिक अवधारणामा करिब १०० रोपनीमा फैलिएको होटलबाट चारै दिशामा हिमाल अवलोकन गर्न सकिनेछ । निलगिरी धौलागिरि जस्ता मनमोहक हिमालको घेराभित्र रहेजस्तै देखिने सो होटलमा पर्यटकको सेवाका लागि साउना, स्पादेखि घोडाचढी सुविधा उपलब्ध हुनेछ । रानीपौवा हाइटमा रहेको होटल क्षेत्रमै करिब ५०० बोटको स्याउ फार्म पनि छ ।

शुक्रबारै राष्ट्रपति भण्डारीले मुक्तिनाथ मन्दिर परिसरमा भगवान बिष्णुको प्रस्तर मूर्तिको शिलान्यास गरेकी छन् । उनले भगवान विष्णुको मूर्ति निमार्णको शिलान्यास समेत गरेकी छन् । यहाँ ३५ फिटअग्लो गौतमबुद्धको मूर्तिको अनावरण गरिएको हो । कार्यक्रममा राष्ट्रपति भण्डारीले मुक्तिनाथ क्षेत्रलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न आग्रह गरिन् ।

संघका पूर्वअध्यक्ष डा. शेष घलेले मुक्तिनाथ क्षेत्रमा पर्यटन प्रबर्द्धनका लागि भइरहेको विकास निकै सुस्त भएकाले पर्यटक आकर्षित गर्न पर्यपटकीय पूर्वाधार निमार्ण कार्यलाई तीव्रता दिन स्थानीय तथा सम्बन्धित निकायले विशेष जोड दिनुपर्ने बताए । विष्णुको मूर्ति स्थापना र सम्बन्धित अन्य संरचना निर्माणका लागि ९ करोड रुपैयाँ लागत लाग्ने आंकलन छ । जहाँ संघका पूर्वअध्यक्ष घलेले ५० लाख रुपैयाँ सहायता गरेका हुन् । मूर्ति पाटन औद्योगिक क्षेत्रमै निर्माण भइरहेको आयोजकले जनाएको छ ।

बुद्धको मूर्ति निर्माणमा करिब ६ करोड रुपैयाँ लगानी भएको छ । धार्मिक र पर्यटकीय पूर्वाधार थपिएसँगै मुक्तिनाथ मन्दिर नजिकैको रानी पौवामा यी संरचनाहरु बनाइएको हो । समुद्र सतहबाट करिब ३ हजार ७१० मिटर उचाइमा रहेका बुद्ध मूर्ती र रिसोर्टबाट ३६० डिग्रीमा चारैतर्फ हिमालको दृश्यावलोकन गर्न सकिन्छ ।

मुक्तिनाथ भगवान विष्णुको जन्मस्थान रहेको किम्बदन्ती छ । स्कन्द पुराणमा उल्लेख भए अनुसार करिब ८०० वर्ष पहिले यहाँ साधुहरुले मन्दिर स्थापना गरेका थिए । हिन्दु र बौद्धमार्गीको साझा तिर्थस्तल रहेको मुक्तिनाथ क्षेत्रमा विभिन्न गुम्बाहरु पनि छन् ।

परम्परागत धार्मिक संरचनाको संरक्षण र सम्बर्द्धन गर्ने गरी मुक्तिनाथ विकास गुरु योजना छ । सोही गुरु योजनाको महत्वपूर्ण संरचना बुद्ध मूर्तिको स्थापना र विष्णु भगवानको मूर्ति शिलान्याशमा आफू संलग्न हुँन पाउँदा खुसी लागेको मूर्तिका परिकल्पनाकार तथा गैरआवासीय नेपाली संघका निवर्तमान उपाध्यक्ष सोनाम लामाले बताए ।

सन् २०१३ देखि यो परियोजनामा जुटेका लामाले आफ्ना श्रीमती र छोरा छोरी समेतको करिब ६ करोड रुपैयाँ लगानीमा पूर्वाधार निर्माण गरेको जानकारी दिए । मुक्तिनाथ मन्दिर नजिकैको रानी पौवामा यी संरचना बनेका छन् । समुद्र सतहबाट करिब ३ हजार ७०० मिटरको उचाइमा बनेका संरचना आसपासबाट ३६० डिग्रीमा चारैतर्फ हिमालको दृश्यावलोकन गर्न सकिन्छ ।

कालिगण्डकी करिडोरमा सडक तथा अन्य पूर्वाधार पुगेसँगै पर्यटक आगमन पनि बढ्दो छ । तर स्तरीय र होटल संरचनाको अभाव रहेकाले त्यहाँ स्तरीय होटल बनाइएको हो । अमेरिकामा २७ वर्ष विभिन्न व्यवसाय गरेका लामा गैरआवासीय नेपाली संघमा १३ वर्ष आबद्ध थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?