+
+

प्रकाशमान भन्छन्– राम्रो प्रतिक्रिया पाइरहेको छु

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक १९ गते ११:०३

१९ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले काठमाडौं क्षेत्र नम्बर १ का जनताले पानीको अभाव र सरकारी सेवामा ढिलासुस्ती भएको गुनासो गरेको बताएका छन् ।

काठमाडौं क्षेत्र नम्बर १ का उम्मेदवारसमेत रहेका सिंहले आज बिहानको घरदैलो कार्यक्रममा मतदाताहरुले आफूसँग पर्याप्त पानी आपूर्ति, सरकारी सेवा छिटो छरितो र संघीयताको सफल कार्यान्वयन होस् भन्ने चाहेको बताए । उनले जनताका गुनासो सम्बोधन गर्न आफू हरदम तयार रहेकोसमेत बताए ।

विगतमा भन्दा यस वर्ष मतदाताहरुबाट आफूलाई राम्रो प्रतिक्रिया आइरहेको भन्दै सिंहले मेलम्चीको पानी आपूर्ति र तीनै तहका सरकारलाई व्यवस्थित बनाउने कुरामा आफू प्रतिवद्ध रहेको बताए । ‘मैले यस वर्ष विगत अघिका निर्वाचनमा जाँदाका प्रतिक्रिया र अहिलेका प्रतिक्रियामा धेरै अन्तर र राम्रो प्रतिक्रिया पाएको छु,’ उनले भने, ‘सबैमा उत्साह छ ।’

उनले भने, ‘अर्को कुरा संघीयता जारी गर्नुभयो तर संघीयता अनुसारको तीन तहको सरकार राम्रोसँग कार्यान्वयन भएको पाएनौं, यो कारणले विभिन्न सेवासुविधाहरुमा सास्ती व्यहोर्नुपरेको छ भन्ने कुरा आयो । व्यवस्थापनमा ख्याल गर्नुहोला भन्नुभएको छ ।’

संघीयता अनुसार तीन तहको सरकार व्यवस्थित हुन नसकेको भन्दै उनले कांग्रेसले संविधानको अक्षरशः कार्यान्वयन गर्ने बताए । ‘दुई वटा निर्वाचन त संविधान लेखनमा नै गयो, कांग्रेसको नेतृत्वमा संविधान जारी गरेका थियौं तर कार्यान्वयन गर्ने बेलामा कांग्रेसले नेतृत्व पाएन । जनताको मत पाएकाले गर्न सकेनन् । अब हामी कार्यान्वयनमा जाने हो । तीन तहको सरकारलाई संविधानको मर्म अनुसार जे अधिकार दिलाउनुपर्ने हो, कानून बनाएर हामी दिलाउनेछौं,’ उनले भने ।

नेता सिंहले सत्तारुढ पाँच दलीय गठबन्धन संविधानको रक्षा र राजनीतिक स्थिरताका लागि भएको दोहोर्याए । ‘हामीले राजनीतिक स्थिरता ल्याउन जरुरी छ, जारी भएको संविधानलाई कार्यान्वयन गर्नुपर्छ,’ उनले भने । नेता सिंहले संविधानको रक्षा र स्थिरताले नै विकास निर्माणको कार्यलाई गति दिने उल्लेख गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?