+
+

जाजरकोटमा स्वतन्त्रको डरमा शक्ति र निरज

कालीबहादुर नेपाली कालीबहादुर नेपाली
२०७९ कात्तिक १९ गते १६:४७

१९ कात्तिक, जाजरकोट । २०६४ सालको चुनावमा जारजकोटको दुवै निर्वाचन क्षेत्र जितेको तत्कालीन नेकपा माओवादी २०७० सालको दोस्रो संविधानसभा चुनावमा एउटा क्षेत्रमा मात्र विजयी भयो ।

एउटा मात्र क्षेत्र कायम भएपछि २०७४ को चुनावमा माओवादी केन्द्रका शक्तिबहादुर बस्नेतले चुनाव त जिते तर नेकपा एमालेसँगको गठबन्धनबाट ।

अहिले पनि माओवादी केन्द्रबाट शक्ति नै मैदानमा छन्, तर २०७४ को सारथीसँग प्रतिस्पर्धा छ ।

०७४ मा प्रतिनिधिसभा निर्वाचनको शक्ति ३२ हजार २८१ मतका साथ निर्वाचित हुँदा कांग्रेसका राजीवविक्रम शाहले २३ हजार २८९ मत पाएका थिए ।

अहिले शक्तिसँग एमालेका निरज आचार्य, राप्रपाका दीपक खनाल, कांग्रेस वीपीका झलकनाथ वाग्ले, राष्ट्रिय स्वतन्त्र पार्टीका राजबहादुर शाही र स्वतन्त्र उम्मेदवार नरबहादुर कार्की चुनावी मैदानमा छन् । प्रतिनिधिसभा सदस्यका लागि बस्नेतसँग प्रतिस्पर्धा गरिरहेका निरज र नरबहादुर दुबै २०७४ मा सहयोगी भूमिकामा थिए । अघिल्लो पटक प्रतिस्पर्धामा रहेका राजीव प्रदेशसभामा उम्मेदवार छन् ।

पूर्वसहकर्मीसँगै प्रतिस्पर्धामा रहे पनि माओवादी उम्मेदवार शक्ति बस्नेत तेस्रो पटक चुनाव जित्ने दाउमा छन् । सत्तारुढ कांग्रेस र एकीकृत समाजवादीको साथ पाएकाले पनि उनले सहज महसुस गरेका हुन सक्छन् । जाजरकोटका माओवादी गणेशप्रसाद सिंह भन्छन्, ‘जाजरकोटमा हामीले एक्लैले जित्दै आएको क्षेत्र हो । यसपटक गठबन्धन दलको साथ छ, हाम्रो जित सुनिश्चित छ ।’

प्रतिनिधिसभाको सिट भागवण्डा गर्दा जाजरकोटमा सत्ता गठबन्धनमा माओवादीसँगै कांग्रेसको पनि दाबी थियो । अघिल्लो चुनावमा शक्तिसँग प्रतिस्पर्धा गरेका राजीवविक्रम शाह कांग्रेसका सम्भावित उम्मेदवार थिए । तर माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड स्वयंले शाहलाई प्रदेशमा झर्न सहमत गराए । जाजरकोटमा सत्ता गठबन्धनको साझा उम्मेदवार बन्न शक्ति बस्नेत सफल भए ।

स्वतन्त्र उम्मेदवारको डर

स्थानीय निर्वाचनमा पाएको मतका आधारमा हेर्दा शक्ति सहज अवस्थामा छन्, तर अरुसँगै स्वतन्त्र उम्मेदवार नरबहादुरले पाउने भोटले प्रतिस्पर्धा कस्तो हुन्छ भन्ने निर्धारण गर्ने देखिन्छ ।

यो पटक भने स्वतन्त्र उम्मेदवार नरबहादुरले प्रमुख दलका उम्मेदवारहरुलाई दबावमा राखेका छन् । उनले कांग्रेसका साथै एमालेको पनि भोट काट्ने जाजरकोटका नेताहरु बताउँछन् ।

अफगानिस्तान, बंगलादेश लगायतका देशमा स्वास्थ्य र शिक्षासम्बन्धी अभियान चलाएका उनले जाजरकोटमा पनि निरन्तर सामाजिक अभियान चलाइरहेका छन् । जिल्लाका धेरै नागरिकलाई भेटेको बताउने उनी भन्छन्, ‘मलाई प्रत्यक्ष नभेटेकाले पनि कामले चिनेका छन् ।’

माओवादीले २०७४ नरबहादुरलाई प्रदेशसभाको टिकट दिने वचन पनि दियो, तर एमालेसँग तालमेल भए पछि उनले टिकट पाएनन् । चुनाव जितेपछि नफर्किने शैलीका कारण नागरिक आजित भएको भन्दै उम्मेदवारी दिएका उनी अब आफू उपयुक्त विकल्प भएको दाबी गर्छन् ।

एमाले नेताहरु भने बस्नेतले कांग्रेसको सबै भोट नपाउने र नरबहादुरले पनि केही भोट काट्दा आफ्नो दलको उम्मेदवारले जित्ने दाबी गर्छन् । ‘शक्ति आफैंमा टेष्टेड हुन् । पुरानै प्रतिस्पर्धी भएकाले कांग्रेसले पूर्णरुपमा सहयोग पनि गर्दैन । केही मत नरबहादुरजीले काट्नु हुन्छ’, एमालेका पूर्व प्रदेशसभा सदस्य करवीर शाही भन्छन्, ‘हामी आफ्नो भोटको बलमा चुनाव जित्छौं ।’

२०७४ मा प्रदेशसभामा निरजले टिकट पाउने पक्काजस्तै भएको थियो, तर अन्तिममा टिकट खोसिएकाले यसपटक सहानुभूति मत पाउन सक्छन् । एमाले उम्मदवार आचार्य भन्छन्, ‘हार्ने डर भएकाहरु मोर्चाबन्दी गर्छन् । मेरो जित सुनिश्चित छ, यो पटक जाजरकोटमा माओवादीको विरासत तोडिन्छ ।’

पछिल्लो स्थानीय चुनाव र विगतको नतिजा

३० वैशाखको स्थानीय चुनावमा वडाध्यक्ष उम्मेदवारहरुले पाएको मतका आधारमा जाजरकोटमा एमाले पहिलो दल हो । एमालेले २४ हजार ४, कांग्रेसले २२ हजार ३४२, माओवादी केन्द्रले १८ हजार ६२२ र एकीकृत समाजवादीले दुई हजार ३३४ मत पाएको थियो ।

२०७४ मा समानुपातिक निर्वाचन पद्धतितर्फ कांग्रेसले २० हजार ४८६, एमालेले १७ हजार ६७१ र माओवादीले १३ हजार ५७१ मत पाएको थियो ।

२०४८ देखि ०५६ को चुनावसम्म जाजरकोटमा कांग्रेस, एमाले र राप्रपाको चर्को प्रतिस्पर्धा थियो । ०४८ मा जारजकोट–१ मा कांग्रेसका द्वारिकाप्रसाद प्रधान र २ मा एमालेका कृष्णबहादुर शाहीले जितेका थिए । २०५१ मध्यावधि निर्वाचनमा दुवै क्षेत्र कांग्रेसले जित्यो । क्षेत्र नम्बर–१ बाट झलकनाथ वाग्ले र २ बाट दीपकजंग शाह विजयी भए ।

२०५६ को आम निर्वाचनमा कांग्रेसले एउटै क्षेत्र जित्न सकेन । क्षेत्र नम्बर–१ बाट राप्रपाका गोविन्दविक्रम शाह र २ बाट एमालेका रत्नप्रसाद न्यौपाने विजयी भए । ०६४ को पहिलो संविधानसभा निर्वाचनमा दुवै निर्वाचन क्षेत्रमा माओवादीले जित्यो । क्षेत्र नम्बर–१ बाट कालीबहादुर मल्ल र २ बाट भक्तबहादुर शाह विजयी भए । २०७० को क्षेत्र नम्बर–१ बाट माओवादीका शक्तिबहादुर बस्नेत र २ बाट कांग्रेसका राजिवविक्रम शाह विजयी भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?