+
+

झलनाथको जितमा पूर्णविराम लगाउने लक्ष्य

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक १९ गते १७:४७

२०५४ र २०७४ मा इलाम नगरपालिकाको मेयर बनेका महेश बस्नेत ४ मंसिरको प्रतिनिधिसभा निर्वाचनमा इलाम–१ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार छन् ।

उनको प्रतिस्पर्धीका रूपमा छन्, आफ्नै पार्टीका पूर्वअध्यक्ष तथा नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनाल । २०७८ पुसदेखि एमालेका जिल्ला अध्यक्ष रहेका बस्नेत संसदीय चुनावको पहिलो प्रतिस्पर्धामा नै जित हासिल गर्न र इलाम–१ मा झलनाथ खनालको विरासत भत्काउन चाहन्छन् ।

यद्यपि खनाललाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रको साथ छ । बस्नेतलाई भने आफ्नो पार्टीको मत जोगाउँदै अन्य दलको मत पनि आकर्षित गर्नुपर्ने चुनौती छ ।

१७ भदौ २०१७ मा इलामको शान्तिपुर (हाल रोङ गाउँपालिका) मा जन्मिएका बस्नेत २०३० को दशकबाट राजनीतिमा सक्रिय भए । २०३६ सालमा महेन्द्ररत्न बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको सदस्य निर्वाचित भएका उनले इलाममा प्रजातान्त्रिक राष्ट्रिय युवा संघको नगर सदस्यबाट राजनीति अघि बढाए ।

राजनीतिमा उनको सक्रियता देखेपछि उनलाई एमालेले २०४७ देखि २०५२ सम्म पार्टीको नगर कमिटी सदस्य बनायो । उनी २०५२ देखि २०५४ सालसम्म नगर कमिटीको सचिव बने ।

इतिहासमा स्नातकोत्तर बस्नेत २०५४ साल अघिसम्म इलामको महेन्द्ररत्न बहुमुखी क्याम्पसमा प्राध्यापन गर्थे । राजनीति र अध्यापनका कारण उनी शान्तिपुर छाडेर इलाम बसाइँ सरे ।

प्राध्यापन छाडेपछि २०५४ मा सम्पन्न स्थानीय निकायको निर्वाचनमा उनी एमालेबाट इलाम नगरपालिकाको मेयरमा निर्वाचित भए ।

गत निर्वाचनमा खनाल यही निर्वाचन क्षेत्रमा वाम गठबन्धनको बलमा २६ हजार ८०५ मतसहित विजयी हुँदा नेपाली कांग्रेसका भूपेन्द्र कट्टेल १८ हजार ६३८ मत ल्याएर पराजित भएका थिए ।

यही क्षेत्रबाट २०४८, २०५१, २०६४, २०७० र २०७४ मा निर्वाचित भएका खनालको किल्ला भत्काउनु बस्नेतका लागि चुनौती हो ।

चुनावी अंकगणित

गत स्थानीय निर्वाचनमा इलाम–१ मा वडाअध्यक्षहरूले दलगत रूपमा प्राप्त गरेको मत हेर्दा एमालेले २६ हजार २३३ मत पाएको छ ।

कांग्रेसले २५ हजार ७७२, एकीकृत समाजवादीले ९ हजार ४८१, जनता समाजवादी पार्टीले १ हजार ८२९, नेकपा माओवादी केन्द्रले १ हजार २३५, राप्रपाले १ हजार १६९ मत प्राप्त गरेको छ ।

एकीकृत समाजवादीको कमजोर संगठन बस्नेतको अनुकूलता हो । एमालेको बलियो संगठन र सत्तारुढ गठबन्धनको मत तानेर जित निकाल्ने रणनीतिमा बस्नेत देखिन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?