+
+

०७४ को हारको बदला लिने अवसर

राजन पौडेल राजन पौडेल
२०७९ कात्तिक २० गते १३:३५

लगातार तीन पटक आम निर्वाचन जितेर केन्द्रमा पर्वतको प्रतिनिधित्व गर्ने अवसर पाएका भाग्यमानी नेता हुन्, अर्जुनप्रसाद जोशी । २०५६ सालको संसदीय निर्वाचनमा पहिलो पटक जितेका नेपाली कांग्रेसका जोशीले २०६४ र २०७० सालको संविधानसभा निर्वाचनमा पर्वतबाट विजयीको ‘हृयाट्रिक’ गरे ।

तीन पटक चुनाव जित्दा पनि मन्त्री बन्ने अवसर नपाएका उनलाई ०७४ मा भने चुनाव अनुकल भएन ।

नेकपा एमालेले नयाँ पदम गिरीलाई उम्मेदवार बनायो र वाम गठबन्धनको साथ पाएका उनले चुनाव पनि जिते । नेकपा एमाले पर्वत जिल्ला अध्यक्ष समेत रहेका गिरी १२ हजार ४५६ मतको अन्तरले विजयी भएका थिए ।

अघिल्लो पटक गिरीसँग रहेको माओवादी यो पटक जोशीको साथमा छ । सत्ता गठबन्धनको बलमा उनी गिरीसँग पराजयको बदला लिन चाहन्छन् ।

एक लाख २२ हजार ५० मतदाता रहेको पर्वतमा नेपाली कांग्रेस (बीपी), राष्ट्रिय स्वतन्त्र पार्टीलगायत दल र स्वतन्त्र उम्मेदवार प्रतिस्पर्धामा छन् । ३० वैशाखको स्थानीय निर्वाचनमा एमाले ३५ हजार ७१६, कांग्रेसले २९ हजार ३४४, नेकपा (माओवादी केन्द्र )ले ५ हजार ३६१, नेकपा एकीकृत समाजवादीले ५४६ र स्वतन्त्र उम्मेदवारले २ हजार ४१२ मत पाएका थिए । यो आँकडाले यसपटक तीव्र प्रतिस्पर्धा हुने देखाउँछ ।

भाइ युवराजलाई नै जिल्ला सभापति बनाएको, एकछत्र हालीमुहाली गरेको भन्दै असन्तुष्ट बनेका आफ्नै पार्टीका नेता-कार्यकर्तालाई फकाउनु र गठबन्धनको मत जोगाउनुपर्ने चुनौतीमा छन् जोशी । यी दुवै अप्ठ्यारो पन्छाउन सके जोशीको चुनावी डुंगा पार हुने सम्भावना बढी छ ।

को हुन् जोशी ?

२०१३ साल १३ असारमा जन्मिएका जोशी कुश्मा-४, पर्वतका स्थायी बासिन्दा हुन् । नेपाली कांग्रेस पर्वतका पुराना नेता अमृत जोशीका सन्तान उनी जन्मजात कांग्रेस हुन् । राजनीतिक परिवारमा हुर्किएका जोशी पोखराको पृथ्वीनारायण क्याम्पसका स्नातक र काठमाडौंको त्रिभुवन विश्वविद्यालयका स्नातकोत्तर हुन् । केही समय काठमाडौंको आरआर क्याम्पसमा प्राध्यापन गर्दा उनी प्रजातान्त्रिक प्राध्यापक संघको सचिव पनि बने ।

२०४६ सालको जनआन्दोलनमा महत्वपूर्ण भूमिका खेलेका जोशी २०४८ सालदेखि २०६४ सम्म १६ वर्ष लगातार नेपाली कांग्रेस पर्वतको नेतृत्व गरे । २०६२ देखि २०७४ सम्म केन्द्रीय कार्य समिति सदस्य बने ।

१३औं महाधिवेशनमा उनी शेरबहादुर देउवा क्याम्पमा गए । देउवाले पनि केन्द्रीय समितिमा मनोनीत गरेर गुन लगाए । गत वर्ष कांग्रेसको १४औं महाधिवेशनमा कांग्रेसको गण्डकी प्रदेश सभापतिमा भने उनी पाका नेता शुक्रराज शर्मासँग ८५ मतले पराजित भए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?