+
+

विप्लवसहित तीन पार्टीले चुनाव बहिष्कार गर्ने

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक २० गते १८:१५

२० कात्तिक, काठमाडौं । ४ मंसिरको निर्वाचनलाई नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपासहित तीन वटा कम्युनिस्ट पार्टीहरू बहिष्कार गर्ने घोषणा गरेका छन् ।

बहिस्कारको घोषणा गर्ने पार्टीहरूमा विप्लव नेतृत्वको नेकपा, ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र विश्वभक्त दुलाल ‘आहुति’ नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी रहेका छन् ।

तीनवटै दलले आइतबार काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा संयुक्त पत्रकार सम्मेलन गर्दै २६ देखि ३० कात्तिकसम्म विरोध प्रर्दशन र कोणसभालगायतका कार्यक्रम सार्वजनिक गरेका हुन् । कार्यक्रममा नेकपाका प्रवक्ता प्रकाण्डले संसदीय व्यवस्था रहेसम्म नेपालले सुखको श्वास फेर्न नसक्ने तर्क गर्दै अहिलेको चुनाव जनप्रतिनिधि छान्ने बहानामा पैसाको खोलो बगाएर मत किन्ने खेल भएको आरोप लगाए । उनले अहिलेको चुनावबाट जनताको प्रतिनिधिभन्दा पनि दलालहरु चुनिएर आउने भन्दै ‘दलाल संसदीय व्यवस्थाको चुनावलाई खारेज गर्ने’ बताए ।

‘संसदीय व्यवस्था र चुनावले श्रमजीविको अधिकार स्थापित गरेको इतिहासमा छैन, त्यसकारण यो चुनावलाई नांगो बनाएर खारेज र बहिस्कार गर्छाैं,’ उनले भने ।

नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषि कट्टेलले अहिले संसदीय व्यवस्था नै कम्युनिस्टहरूको व्यवस्था जस्तो भएर आएको भन्दै कुनै पनि हालतमा जनवादविरुद्धको संसदीय चुनावलाई वैधानिकता नदिने बताए । उनले यो चुनावले कुनै पनि मूल्यमा जनताको अधिकार र राष्ट्रियता रक्षा गर्न नसक्ने हुँदा चुनाव खारेज गर्नुपर्ने बताए ।

त्यस्तै वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका महासचिव विश्वभक्त दुलाल ‘आहुति’ आगामी निर्वाचन नाटक मात्र भएको भन्दै खारेज गरेरै छोड्ने बताए । ‘राज्यले आफ्नो कालो कर्तुतलाई छोप्न र श्वास भर्नको लागि यस्ता चुनावहरुको नाटक गर्ने गरेको छ’, उनले भने ।

सरकारले भने विप्लव नेतृत्वको नेकपाले चुनाव खारेज गर्ने धारणा सार्वजनिक गरेलगत्तै कसैले अशान्ती मच्चाउने काम गरे कडा कदम चाल्ने जनाएको छ । अनलाइखबरसँगको कुराकानीमा गृहमन्त्री बालकृष्ण खाँणले चुनावी गतिविधिलाई सुरक्षा निकायले नजिकबाट नियालीरहेको भन्दै विप्लवलाई चुनौती दिएका छन् ।

‘यो चुनाव गतिविधिलाई सुरक्षा निकायले नजिकैबाट हेरिरहेको छ,’ गृहमन्त्री खाँणले भने, ‘कहीँनेर कडा बन्नुपर्यो भने आवश्यकता अनुसार कडा पनि बन्नेछौं किनभने चुनावलाई भयरहित ढंगले सम्पन्न गर्ने हाम्रो चाहना र दायित्व हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?