+
+

काभ्रे १ : सूर्यमानको शक्ति गठबन्धन, रेशमको आत्मविश्वास

कपिल कोइराला कपिल कोइराला
२०७९ कात्तिक २१ गते ६:४९

२१ कात्तिक, काभ्रे । काभ्रे–१ का प्रतिनिधिसभा उम्मेदवार हिजोआज डाँडापारी क्षेत्रमा केन्द्रित छन् । जिल्लाको ग्रामीण र विकट क्षेत्र पनि रहेको यो निर्वाचन क्षेत्रमा दलहरुले दुर्गम क्षेत्रबाट चुनाव प्रचार प्रसार सुरु गरेका हुन् ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादीलगायत सत्तारुढ गठबन्धनमा रहेका दलहरुले प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवारसहित घरदैलो अन्तिम चरणमा पुर्याएका छन् ।

त्यस्तै नेकपा एमालेका उम्मेदवारसहितको टोली रोशी, नमोबुद्ध, धुलिखेल, पनौती लगायतका क्षेत्रमा पहिलो चरणको घरदैलो सकेर महाभारत गाउँपालिकामा पुगेको छ ।

४ मंसिरमा हुने चुनावमा काभ्रे–१ बाट प्रतिनिधिसभामा नेकपा माओवादी केन्द्रका सूर्यमान दोङ र नेकपा एमालेका रेशम लामा प्रतिस्पर्धामा छन् । दोङ माओवादी पोलिटब्यूरो सदस्य हुन् भने  लामा नेकपा एमालेका केन्द्रीय सदस्य हुन् । दुबै पूर्व राज्यमन्त्रीसँग यो क्षेत्रमा अरु १५ उम्मेदवार प्रतिस्पर्धा गर्दैछन् । जसमा राजनीतिक दलका १० र स्वतन्त्र ५ जना छन् ।

२०६४ सालको संविधानसभा चुनावमा निर्वाचित सूर्यमान २०७० सालमा पराजित भए भने २०७४ मा टिकट पाएनन् । तेस्रो पटक चुनावी मैदानमा रहेका दोङ काभ्रेको यो क्षेत्रमा शालीन र विकासप्रेमी नेताका रुपमा चिनिन्छन् ।

उम्मेदवारहरुले यातायात, शिक्षा, स्वास्थ्य, विद्युत, खानेपानी, कृषि, पर्यटन लगायतको एजेण्डा ल्याएका छन् ।

गठबन्धनका उम्मेदवार सूर्यमान दोङ आफ्नो जित सुनिश्चित भइसकेको बताउँछन् । ‘गठबन्धनको मत मेरो जितको पहिलो आधार हो, अर्को आधार मैले गरेका कामहरु हुन्,’ उनले भने । सत्तारुढ गठबन्धनका उम्मेदवार दोङले काभ्रेलाई सुन्दर बनाउने सपना पूरा गर्न उम्मेदवार भएको दावी गरे ।

राप्रपाबाट एमालेमा प्रवेश गरेर पार्टीको केन्द्रीय सदस्यसमेत भएका रेशम लामा २०७० मा राप्रपाबाटै समानुपातिक पद्धतिबाट संविधानसभा सदस्य चयन भएका थिए । पछि राज्यमन्त्रीसमेत भएका लामा एमाले प्रवेश गरेर केन्द्रीय सदस्य बन्नुका साथै अहिले प्रतिनिधि सभाको टिकट पनि हात पार्न सफल भए । २०७४ सालको निर्वाचन ताका एमाले प्रवेश गरेका रेशम लामाले यसपटक उम्मेदवार हुन पाए । एमालेको संगठनको बलमा नै आफूले चुनाव जित्ने लामाले बताए । ‘नेकपा एमाले काभ्रेलीको मनमनमा छ, मनमनमा भएको भएर म जित्छु’ उनले भने ।

उम्मेदवारहरुले यातायात, शिक्षा, स्वास्थ्य, विद्युत, खानेपानी, कृषि, पर्यटन लगायतको एजेण्डा ल्याएका छन् । सत्ता गठबन्धनको समर्थन पाएका माओवादी केन्द्रका उम्मेदवार सूर्यमान दोङले जनतालाई उद्यमशीलताको माध्यमबाट गाउँमा नै बस्ने वातावरण बनाउने बताए । सम्भावित पर्यटकीय स्थलको अध्ययन गरी त्यसको व्यवस्थापन गर्ने, पर्याप्त उद्योगधन्दा, कलकारखाना सञ्चालन गरी युवा विदेशिनबाट रोक्ने उनले योजना सुनाए ।

एमालेका उम्मेदवार रेशम लामाले काभ्रेको भूगोल सुहाउँदो र आवश्यकतामा आधारित विकास आफ्नो दलले मात्र गर्न सक्ने दावी गरे । विगतमा यो क्षेत्रमा एमालेले भौतिक पूर्वाधार, स्वास्थ्य, शिक्षा, बाटोघाटो पर्यटन विकास, खानेपानी आदि क्षेत्रमा काम गरेको र बाँकी रहेका काम पूरा गर्न आफूले जित्नुपर्ने लामा बताउँछन् ।

२०७४ मा आपसमा गठबन्धन गरेर चुनाव लडेका नेकपा एमाले र माओवादी केन्द्र अहिले अलग–अलग छन् । माओवादी केन्द्र, नेपाली कांग्रेस र एमाले विभाजन भएर बनेको दल नेकपा एकीकृत समाजवादीबीच गठबन्धन छ ।

३० वैशाखमा भएको स्थानीय तह निर्वाचनमा यो क्षेत्रमा पर्ने पालिका प्रमुखमा सत्ता गठबन्धनकै दलका उम्मेदवार निर्वाचित भएका छन् ।

काभ्रे जिल्लाका १३५ वडामध्ये ६९ वडा यस क्षेत्रमा छन् । चौरीदेउराली, महाभारत, खानीखोला, रोशी, तेमाल गाउँपालिका र नमोबुद्ध नगरपालिका सबै वडा, बेथानचोक गाउँपालिकाको वडा नं छ, पनौती नगरपालिकाको वडा नं ४, ५, ६, ७, ८, ९, १० र धुलिखेल नगरपालिकाको वडा नं ८, ९, १०, ११, १२ यस क्षेत्रमा पर्छ ।

यो क्षेत्रमा पर्ने धुलिखेलबाहेक सबै स्थानीय तहको प्रमुख सत्तारुढ गठबन्धनकै दल (कांग्रेसले ५, माओवादीले ३ र एकीकृत समाजवादीले १) ले जितेका जितेका थिए । धुलिखेलमा प्रमुख नेकपा एमालेले जिते पनि उपप्रमुख कांग्रेसले जितेको छ ।

६९ वडामध्ये ५२ वटा वडा सत्तारुढ गठबन्धनको र १८ वटा वडामा नेकपा एमालेका उम्मेदवार निर्वाचित भएका छन् ।

यो क्षेत्रमा १ लाख ५२ हजार ६२१ मतदाता छन् । स्थानीय तह चुनावमा वडाध्यक्षका उम्मेदवारले पाएको मत हेर्दा सत्ता गठबन्धनमा रहेका दलको ९६ हजार ३४७ र नेकपा एमालेको ५५ हजार ५१७ छ । गठबन्धनमा रहेका दलले पाएको मत एमालेको भन्दा ४० हजार ८३० ले बढी हो ।

काभ्रे–१ को प्रदेशसभा ‘क’ मा नेकपा माओवादी केन्द्रका रत्नप्रसाद ढकाल र ‘ख’ मा नेपाली कांग्रेसका तीर्थबहादुर लामा उम्मेदवार छन् । नेकपा एमालेबाट प्रदेशसभा ‘क’ मा दिलबहादुर (दिलीप) तामाङ  र ‘ख’ मा चन्द्रबहादुर लामा उम्मेदवार छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?