२२ कात्तिक, काठमाडौं । मंगलबार बिहान दुधे बालकसहित एक महिला यात्रु नेपालगञ्जबाट डोल्पास्थित जुफाल विमानस्थल जाने बोर्डिङ पास बोकेर मुगु पुगेकी छिन् । समिट एयरको टिकट काटेकी उनी नेपालगञ्जबाट नेपाल एयरलाइन्स (नेवानि) को जहाज चढ्न पुगिन् । नेपालगञ्ज विमानस्थल कार्यालयका अनुसार डोल्पाको ठूलो भेरी नगरपालिकाकी राजकुमारी बुढा र उनका दुधे बालक नेपालगञ्जबाट डोल्पा जान बोर्डिङ पास लिएका थिए ।
तर, विमानस्थलबाट सँगसँगै उड्न लागेका दुई जहाजमध्ये उनी मुगुको ताल्चा विमानस्थल जाने नेपाल एयरलाइन्सको जहाज चढिन् । नेपाल एयरलाइन्सका एक उच्च अधिकारीले दुवै एयरलाइन्सका कर्मचारीको कमजोरीले यस्तो भएको अनलाइनखबरसँग बताए । ‘अर्को जहाजका यात्रु हाम्रो जहाजमा चढ्दा ग्राउण्डमा खटिएका कर्मचारीले राम्रोसँग हेर्नुपर्ने थियो,’ उनले भने, ‘बोर्डिङ पास लिइसकेका यात्रु छुट्दा समिटले पनि तत्काल सोधखोज गर्नुपर्ने थियो, दुवै एयरलाइन्सका कर्मचारीको कमजोरी देखियो ।’
उनका अनुसार घटनाबारे अनुसन्धान भइरहेको छ । यसले हवाई सुरक्षामै कमजोरी देखिने हुँदा गम्भीर रुपमा लिइएको समेत उनले बताए । मंगलबार बिहान भएको यो घटनापछि नेपाल एयरलाइन्सको सोही जहाजबाट ती यात्रुलाई आजै नेपालगञ्ज फर्काइएको समेत नेवानिका ती अधिकारीले जानकारी दिए ।
आन्तरिक विमानस्थलमा जहाज आइसकेपछि यात्रु झुम्मिने र त्यसको व्यवस्थापन उचित तरिकाबाट नहुँदा यस्ता घटना निरन्तर दोहोरिने गरेको उनले बताए । अर्कोतर्फ यात्रु स्वयंले समेत आफूले टिकट काटेको जहाज र जाने गन्तव्यबारे चासो नलिंदा मंगलबार यात्रु अर्को गन्तव्यमा पुगेको उनको भनाइ छ । ‘विमानस्थलमा हुने उडानको घोषणाबारे यात्रुले समेत चासो राख्नु भएनछ,’ उनले भने, ‘कर्मचारीले पनि कागजात राम्रोसँग नहेर्दा यस्तो हुन गयो ।’
नेपालगञ्जस्थित नेपाल नागरिक उड्डयन प्राधिकरण कार्यालयका प्रमुख सुरेश खनालले समेत घटनाबारे जानकारी प्राप्त भएपनि विस्तृत विवरण नआएको बताए । ‘एउटा जहाजमा उड्नु पर्ने यात्रु अर्को जहाजमा उडेको घटनाबारे मैले पनि सुने, विस्तृत जानकारी मलाई आइसकेको छैन’ उनले भने ।
                    
                                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
    
    
    
    
    
                
प्रतिक्रिया 4