+
+

प्रदेश झरेका चेम्जोङलाई पूर्वसहकर्मी नै चुनौती

ईश्वर थापा ईश्वर थापा
२०७९ कात्तिक २३ गते १४:२४

२३ कात्तिक, धनकुटा । प्रदेश सभामा दुई निर्वाचन क्षेत्र रहेको धनकुटाको प्रदेश सभा १ मा तीन जना पूर्वसहकर्मी मुख्य प्रतिस्पर्धी छन् ।

उनीहरु हुन् नेकपा एमालेका धनकुटा सचिव निरन राई, गठबन्धनबाट एकीकृत समाजवादीका धनकुटा अध्यक्ष अर्जुन राई र जनता समाजवादी पार्टीका केन्द्रीय कार्यकारणी सदस्य तथा पूर्वमन्त्री रकम चेम्जोङ ।

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका मनकुमार राई पनि यही क्षेत्रबाट उम्मेदवार छन् । जनता समाजवादी पार्टीका नेता चेम्जोङ २०६६ सालमा शान्ति तथा पुनर्निर्माण मन्त्री हुँदा उनका प्रमुख स्वकीय रहेका राई एकीकृत समाजवादीका उम्मेदवार छन् ।

तत्कालीन समयमा उनीहरु दुवै नेकपा एमालेका नेता थिए । त्यसबेला मन्त्री चेम्जोङ नेकपा एमालेका केन्द्रीय सदस्य र उनका प्रमुख स्वकीय सचिव राई नेकपा एमाले निकट धनकुटा–काठमाडौं जनसम्पर्क मञ्चका अध्यक्ष थिए ।

२०६६ सालमा माधव नेपाल प्रधानमन्त्री हुँदा बनेको मन्त्रिपरिषदमा चेम्जोङ शान्ति तथा पुनर्निर्माण मन्त्री थिए । उनका पालामा जिल्लामा विद्यालय भवन, स्वास्थ्य चौकी, गाविस भवन, प्रहरी चौकी लगायतका संरचना निर्माणमा प्राथमिकता पाएको थियो ।

नेकपा एमाले धनकुटाका जिल्ला सचिवसमेत रहेका निरन राई निवर्तमान प्रदेश सभा सदस्य समेत हुन् । उनी पनि दोस्रो पटक चुनावी मैदानमा छन् । अघिल्लो निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार मनोहरनारायण श्रेष्ठलाई ६ हजार ६४६ मतान्तरले पराजित गर्दै नेकपा एमालेका राई विजयी भएका थिए । राईले २० हजार ८८ मत पाउँदा श्रेष्ठले १३ हजार ४४२ मत प्राप्त गरेका थिए ।

चेम्जोङ सत्तारुढ गठवन्धनको चुनावी तालमेलको मोडालिटी बनाउन निर्माण गरिएको कार्यदलका सदस्य थिए । त्यतिबेला उनले धनकुटाबाट प्रतिनिधिसभा सदस्यमा दावी गरेका थिए ।

तर पछि जसपाले सत्ता गठबन्धनबाट बाहिरिएर एमालेसँग तालमेल गरेसँगै उनी प्रदेश सभा १ मा उम्मेदवार बनेका हुन् । देशका अन्य क्षेत्रमा जसपाले नेकपा एमालेसँग चुनावी तालमेल गरे पनि धनकुटामा भने नेकपा एमाले र जसपाले प्रदेश सभाका दुवै क्षेत्रमा बेग्लाबेग्लै उम्मेदवारी दिएका छन् ।

एमालेका उम्मेदवार निरन राई पार्टी संगठनको बलले नै चुनाव जित्ने दाबी गर्छन् । सबै जनताहरु सत्तारुढ गठबन्धनको विरोधमा रहेको र गठबन्धनको उम्मेदवारले सोचे जस्तो मत नपाउने दाबी उनको छ । गठबन्धनमा असन्तुष्टहरुले आफूलाई भोट दिनसक्ने राईको अनुमान छ ।

नेकपा एकीकृत समाजवादीका अर्जुन राई सत्तारुढ गठबन्धनको समर्थन आफूलाई रहेकोले चुनाव जित्ने विश्वासमा छन् । ‘गठबन्धनको साथमा सबैले इमान्दारिताका साथ सहयोग गर्ने र यसपटक चुनाव जित्नेमा म ढुक्क छु’, अर्जुन राई भन्छन् । स्थानीय तहको चुनावमा गठबन्धनका उम्मेदवारले पाएको मतलाई नै आधार मान्दा पनि आफूले जित्ने उनको भनाइ छ ।

जनता समाजवादी पार्टीका उम्मेदवार तथा पूर्वमन्त्री रकम चेम्जोङ आफू मन्त्री हुँदा धनकुटामा विकास निर्माणका धेरै काम गरेकाले जनताले मत दिने अपेक्षा रहेको बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?