+
+

गौतमबुद्ध विमानस्थलमा विद्युत आपूर्तिमा समस्या छैन : विद्युत प्राधिकरण

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक २३ गते १८:११

२३ कात्तिक, काठमाडौं । नेपाल विद्युत प्राधिकरणले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा विद्युत् आपूर्तिमा कुनै समस्या नरहेको दाबी गरेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा गुणस्तरीय विद्युत आपूर्ति नभएको बताएपछि नेपाल विद्युत प्राधिकरणले आपत्ति जनाएको छ ।

विद्युत प्राधिकरणले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई पत्र लेख्दै समस्याबारे जानकारी मागेको छ । प्रणाली सुदृढीकरण गरेर विगतमा विमानस्थलको विद्युत आपूर्तिमा रहेको समस्या पनि समाधान गरेको विद्युत प्राधिकरणको दाबी छ ।

तर, उड्डयन प्राधिकरणले विद्युत आपूर्तिमा अझै समस्या रहेको बताउने गरेको छ । विद्युत प्राधिकरणका वितरण विभाग प्रमुख मनोज सिलवाल विमानस्थलमा रहेको समस्याबारे उड्डयन प्राधिकरणलाई सोधिएको बताउँछन् ।

‘विमानस्थलमा विद्युत आपूर्तिमा हामीले कुनै कसर बाँकी राखेका छैनौं,’ उनले भने,’विमानस्थलको इलेक्ट्रिकल विभागमा सोध्दा कुनै समस्या छैन भनिंदैछ । तर नेपाल नागरिक उड्डयन प्राधिकरणले के आधारमा विद्युत आपूर्तिमा समस्या पर्‍यो भनेको हो भन्ने बुझ्न सकिएन ।’

यसबारे आफूले उड्डयन प्राधिकरणको नेतृत्वसँग कुरा गर्न चाहेपनि सम्पर्कमा नआएको सिलवालको गुनासो छ । विद्युत आपूर्तिमा विमानस्थल प्रशासन सन्तुष्ट रहेपनि उड्डयन प्राधिकरणले किन यस्तो दुष्प्रचार गरेको हो भन्ने बुझ्न नसकिएको सिलवालले बताए ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको इलेक्ट्रिकल डिपार्टमेन्ट प्रमुख सञ्जय चौधरी विद्युत आपूर्तिमा अहिले खासै समस्या नरहेको बताउँछन् । ‘विगतमा केही समस्या थियो, अहिले समाधान भइसक्यो,’ उनले भने,’कहिलेकाँही बत्ती जाने समस्या छ, तर त्यो त्यति ठूलो हैन ।’

चौधरीले सञ्चारकर्मीलाई उड्डयन प्राधिकरणको तर्फबाट पुरानो ‘स्टेटमेन्ट’ दिइएको हुनसक्ने बताए । त्यसकै आधारमा समाचारहरु आएकाले विद्युत प्राधिकरणले समस्याबारे चासो दिएको उनको भनाइको छ ।

बिजुलीको आपूर्तिकै कारण विमानस्थल सञ्चालनमा अवरोध नै हुने अवस्था नरहेको उनले बताए । प्राधिकरणले पत्रमार्फत सोधेको प्रश्नको जवाफ पठाइने भन्दै चौधरीले बिजुली नजाने सुनिश्चितताका लागि अनुरोध गरिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?