+
+

गौतमबुद्ध विमानस्थलमा विद्युत आपूर्ति राम्रो भएन : प्राधिकरण

अच्युत पुरी अच्युत पुरी
२०७९ कात्तिक २२ गते १३:१९

२२ कात्तिक, काठमाडौं । नेपाल नागरिक नागरिक उड्डयन प्राधिकरणले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा विद्युत आपूर्ति समेत गुणस्तरीय नभएको गुनासो गरेको छ ।

गत २ जेठदेखि व्यावसायिक रुपमा सञ्चालनमा आएको विमानस्थलमा विद्युत आपूर्तिमा भोल्टेज अपडाउनको समस्या रहेको प्राधिकरणले बताएको छ । यसका कारण विमानस्थलमा रहेका मेसिन/औजार उपकरण सञ्चालनमा समस्या भएको प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले जानकारी दिए ।

प्राधिकरणका अधिकारीहरुका अनुसार विमानस्थलमा अर्घाखाँची सिमेन्टदेखि विद्युत आपूर्तिसम्मको समस्या रहेको बताउँछन् । एयर रुट सिधा नहुँदा जहाज सजिलै आकर्षित हुन नसकेको उनीहरु बताउँछन् । लुम्बिनी आउने पर्यटक आकर्षित गर्न नसक्दा समेत यो विमानस्थलले विजनेश पाउन नसकेको प्राधिकरणको निष्कर्ष छ ।

श्रमसँग सम्बन्धित धेरै प्रक्रिया भैरहवामा लैजान नसक्दा समेत एयरलाइन्स आकर्षित हुन नसकेकोतर्फ इंगित गर्दै महानिर्देशक अधिकारी भन्छन्, ‘के यी जिम्मेवारी पनि प्राधिकरणकै हुन र ?, राज्यका सबै निकायले उत्तिकै जिम्मेवारीपूर्वक विमानस्थल सञ्चालनमा ध्यान दिनु पर्ने होइन र ?’

एयर रुटमा पर्ने अर्घाखाँची सिमेन्टको चिम्नी हटाउन पत्राचार गरिसकिएको छ । तर, यसमा काम भएको छैन । उडान बढाउन विदेशस्थित नेपाली कूटनीतिक नियोगबाट समेत सहयोग र पहल हुनु पर्ने प्राधिकरणको भनाइ छ । लुम्बिनी पर्यटक आकर्षित गर्न पर्यटनसँग सम्बन्धित संघ संस्थाबाट टूर प्याकेज बनाएर प्रबर्द्धनमा लाग्न समेत प्राधिकरणले आह्वान गरेको छ । ईयूको अवरोधले समेत विमानस्थल सञ्चालनमा अवरोध गरिरहेको प्राधिकरणको निष्कर्ष छ ।

सिधा एयररुट छैन

अहिले भारतको राजधानी नयाँ दिल्ली हुँदै आउने अन्तर्राष्ट्रिय उडानका जहाज सिधै नेपाल प्रवेश गर्न पाउँदैनन् । उनीहरुले सिमरा बिन्दुबाट मात्र नेपाल प्रवेशको अनुमति पाउँछन् । यसले वायुसेवा कम्पनीहरुको लागत बढी हुने गरेको छ । सो सम्बन्धमा भारत सरकारसँग पत्राचार र समन्वय भइरहेको छ । नेपालले नेपालगञ्ज वा महेन्द्रनगरबाट इन्ट्री रुट मागेको छ । भारतले आनाकानी गरिरहेको छ ।

कार्गो व्यवस्थापन गर्ने कम्पनीको अभाव

भैरहवा र आसपासको क्षेत्रमा रहेका कृषिजन्य, पशुजन्य, औषधि, मिनिरल वाटर, घरेलु सामानको विदेश निर्यात गर्न र विदेशबाट आयात हुने सामानको कार्गो व्यवस्थापन गर्ने, मिलाउने एजेण्ट र पार्टीको समेत अभाव रहेको प्राधिकरणले जनाएको छ ।

श्रम तथा रोजगार कार्यालयको सबै काम हुन नसक्नु

भैरहवा तथा यस क्षेत्रबाट श्रम तथा रोजगार कार्यालयले व्यक्तिगत श्रम स्वीकृति, अभिमुखिकरण तालीम प्रदायक संस्थाको छनोट, बीमा, स्वास्थ्य तथा म्यानपावर संस्थाको व्यवस्था, भीसा सेन्टर र श्रम स्वीकृतिका सबै काम हुन नसक्दा समेत यात्रु र एयरलाइन्स आकर्षित गर्न नसकिएको प्राधिकरणले उल्लेख गरेको छ ।

विमानस्थलमा चाहिने कुन कुन कार्यालय खुले, कुन कुन खुल्न बाँकी ?

कार्यालयको नाम स्थापनाको अवस्था
विमानस्थल सुरक्षा प्रहरी स्थापना भएको
सुरक्षा सैनिक स्थापना भएको
अध्यागमन कार्यालय स्थापना भएको
भन्सार कार्यालय स्थापना भएको
पारवहन तथा गोदाम व्यवस्था स्थापना भएको
राष्ट्रिय वाणिज्य बैंक स्थापना भएको
मेट्रोलोजी स्थापना भएको
नेपाल आयल निगम स्थापना भएको
स्वास्थ्य सेवा विभाग (हेल्थ डेक्स) स्थापना भएको
वैदेशिक रोजगार विभाग स्थापना भएको
नेपाल वायुसेवा निगम ग्राउण्ड ह्यान्डलिङ मात्र
प्लान्ट क्वारेन्टाइन स्थापना नभएको
खाद्य तथा पशु क्वारेन्टाइन स्थापना नभएको
हुलाक सेवा विभाग स्थापना नभएको
सशस्त्र प्रहरी सीमित संख्यामा उपस्थित
नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान केन्द्र, लागु औषध ब्यूरो, विशेष ब्यूरो स्थापना भएको
ट्राफिक प्रहरी व्यवस्थापन गरिएको

 

लेखकको बारेमा
अच्युत पुरी

आर्थिक पत्रकारितामा सक्रिय पुरी पर्यटन तथा नागरिक उड्डयन विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?