+
+
WC Series
विराटनगर किंग्स 2025
0/0
VS
चितवन राइनोज 2025
0/0
Shares
कांग्रेस केन्द्रीय सदस्य गुरू बरालसँग वार्ता :

‘महामन्त्रीले कांग्रेसमा विग्रह ल्याउन चाहनुहुन्छ’

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर १० गते १२:२८

१० मंसिर, काठमाडौं । नेपाली कांग्रेसमा विशेष महाधिवेशन कि नियमित भन्ने बहस चर्को रुपमा उठेको छ । संस्थापन पक्षले २१ फागुनको निर्वाचनपछि नियमित महाधिवेशन गर्नुपर्ने बताएको छ भने इतर पक्षले विशेष महाधिवेशनबाट नयाँ नेतृत्व चुनेर निर्वाचनमा जानुपर्ने आवाज उठाउँदै आएको छ ।

यो बहसले केन्द्रदेखि वडा तहसम्म कांग्रेसमा स्पष्ट दुई धार देखिएको छ । यस्तो बेलामा विशेष महाधिवेशन पक्षधरले आज काठमाडौंमा विशेष भेला आयोजना गरेको छ ।

त्यो भेलालाई संस्थापन पक्षले कसरी लिएको छ र कांग्रेसभित्रको यो विवाद कसरी समाधान हुन्छ ? भन्ने विषयमा केन्द्रित रहेर केन्द्रीय सदस्य गुरु बरालसँग विनोद घिमिरेले गरेको कुराकानी :

नेपाली कांग्रेस त विशेष कि नियमित महाधिवेशन भनेर अल्झिरहेको छ । अनि एउटा पक्षले विशेष महाधिवेशनका लागि दबाब दिनलाई आज काठमाडौंमा भेला पनि गर्दैछ । यसलाई तपाईंहरूले कसरी हेर्नु भएको छ ?

नेपाली कांग्रेसमात्र होइन, राष्ट्रिय राजनीति अत्यन्त पेचिलो र संक्रमणकालमा प्रवेश गरेको छ । भदौ २३ र २४ गते देशमा जुन खालको अवस्था निर्माण भयो, यसले सबै राजनीतिक दलहरूलाई विभाजित र निराश बनाएको छ । मैले यति मात्र भने । तर, यो सबै कुराको निकास दिनका लागि कांग्रेस संग्लिएर, तंग्रिएर जान जरुरी छ ।

यसकै लागि भनेर हाम्रो केन्द्रीय कार्यसमिति बैठक पनि लामो भयो । बैठकमा पनि विभिन्न मत–मतान्तरहरु आए । महामन्त्रीले प्रस्ताव ल्याउनु भएको छैन तर, केही साथीहरुले पार्टीको केन्द्रीय कार्यालयमा विशेष महाधिवेशनको प्रस्ताव दर्ता गरेको जानकारीमा आएको छ ।

हाम्रो केन्द्रीय कार्यसमितिको कार्यकाल त अझै १५–२० दिन बाँकी होला । भोलिका मितिदेखि हाम्रा जिल्ला तहसम्मका सबै समितिहरूको कार्यकाल पनि सकिएको छ । कार्यकाल पूरा भइसकेपछि अथवा कार्यकालको अन्तिम वर्षमा विशेष महाधिवेशन, १५ औं महाधिवेशन भनेर धेरै रडाको गर्नुभन्दा देशको राष्ट्रिय राजनीति अहिले प्रतिकुल दिशामा गएको छ, लोकतन्त्र खतरामा परेको छ । आम रुपमा हामीले सभा समारोह जस्ता कार्यक्रम गर्ने अवस्था पनि छैन ।  यसलाई हामीले सम्झिएर, एक ठाउँमा उभिएर सही दिशा दिनका लागि कांग्रेस एकीकृत हुन जरुरी छ ।

यस्तो विषम परिस्थितिमा साथीहरूले के मनसायका साथ यी अभियान चाल्नुभयो त्यो कुरा अत्यन्तै दु:खद छ ।

उहाँहरुले लिक बाहिर गएको कांग्रेसलाई सही दिशा दिनकै लागि यो सब गरिरहेको भन्नु भएको छ । तपाईं के भन्नुहुन्छ ?

नियमित १५ औं महाधिवेशनको कार्यतालिका कार्यसमितिमा ल्याउने र सबै नेता, सबै तह, सबै पक्षको भावनालाई प्रतिनिधित्व गर्दै सबैलाई ‘वीन–वीन सिचुएसन’मा पुर्‍याएर निर्णयका साथ आउनका लागि केन्द्रीय कार्यसमितिको मिटिङ ढिलो भएको छ ।

नेताहरूलाई पनि हामीले सबै पक्षहरूसँग सल्लाह गरेर संयुक्त रुपमा एककृत प्रस्ताव ल्याउनुस् भनेर हामीले निरन्तर दबाब दिइरहेका छौं । अहिले विशेष र नियमित भनेर झगडा गर्ने बेला होइन ।

हामीले पहिले राष्ट्रिय राजनीतिलाई ‘लिक’मा लिएर आऔं, राष्ट्रिय राजनीतिलाई पहिले मूल प्रवाहमा लिएर आऔं, घायल संविधानलाई मूल प्रवाहमा लिएर आऔं, प्रतिनिधिसभाको निर्वाचनमा एक ठाउँमा जुटौं, राष्ट्रिय राजनीति सग्लिएर आइसकेपछि पार्टी भित्रको राजनीतिमा फेरी प्रतिस्पर्धा गरौंला तपाईंको मिडियामार्फत् निवेदन गर्न चाहन्छु ।

राष्ट्रिय राजनीति कहाँ पुगेर कसरी संग्लिने हो भन्ने अन्योलको अवस्था छ । यस्तो अवस्थामा कांग्रेस जस्तो जिम्मेवार पार्टी घर झगडामा अल्झिएको छ । तपाईंले त झन् निकास दिनुपर्ने हो नि त ?

अनि राष्ट्रिय राजनीति संघाल्ने जिम्मा कस्तो त ? संघाल्ने जिम्मा त हाम्रो कांग्रेसको हो । पुरानो पार्टी, जेठो पार्टी, ठूलो पार्टी, मेच्युअर पार्टी, नेसनली– इन्टरनेसनली रिकग्नेसन पार्टी भएका हिसाबले हाम्रो जिम्मा हो । हामी आफैं घर झगडा गरेर तँलाई बहिस्कार गर्‍यौं, तँलाई निकाल्यौं, तँलाई निकाल्छौं, तँ अयोग्य भन्ने खालका झगडा गरेर त निस्कन्न नि राष्ट्रिय राजनीतिको निकास ।

त्यसो भएर हाम्रो आग्रह के हो भने संगठित भएर, सबै आग्रह पूर्वाग्रहहरूलाई अहिले एकछिन थाती राखेर, सकभर सबै तिलाञ्जली गर्दिऔं । केही सकिन्न, गुनासाहरू छन् भने पनि एकछिन थाती राखेर राष्ट्रिय राजनीतिलाई संघालौ भन्ने हो नि त ।

महामन्त्रीहरूले सम्पूर्ण साथीहरूलाई एक ठाउँमा ल्याएर विषम परिस्थितिलाई ट्रयाकमा ल्याउन जरुरी थियो । एकमतका साथ जान आह्वान गर्न जरुरी थियो । तर, उहाँहरूले पार्टीलाई पूरै ‘डिरेल’ गर्ने गरी, पार्टीलाई अन्योलको भड्खालामा हाल्ने गरी लाग्नु भयो

तर साथीहरु जुन खालको विग्रह गरिराख्नु भएको छ, यसले त झन् झगडा तिर लिएर गयो, नम्बर एक । नम्बर दुई– अहिले तपाईंले मलाई भन्न के बाध्य पार्नुभयो भने चानचुन साढे दुई महिना भयो, हामी टाइमली नै उठेर आफूलाई ठीकठाक पारेर दौडिन पर्ने थियो । हामी समयमै निर्णय गरेर दौडिन जान सकेको भए यसले एउटा गति लिइसक्थ्यो ।

तपाईंले अघि मलाई इंगित गर्नुभयो कि– राष्ट्रिय राजनीति अस्तव्यस्त छ भनेर, यो हाम्रो झगडाको कारणले पनि हो । झगडा कल्ले गरायो त भन्दा दुई महामन्त्रीज्यूहरुले । उहाँहरुले भिडियो सन्देश गरेर सभापतिलाई गलहत्याउँछु, निकाल्छु भन्नुभयो । भिडियो सन्देश गरेर वडा तहसम्म डिभिजन (विभाजन)को सन्देश दिनुभयो ।

मैले इंगित के गर्न खोजे भनेँ, त्यहीँनिर यो पार्टीलाई बर्बाद गर्ने, पार्टी बर्बाद भएपछि यो सिस्टम पनि ‘डिरेल’ हुन्छ भन्ने कुत्सित मानसिकता त्यहाँ  ढल्किएको छ ।

केन्द्रीय समितिभन्दा बाहिर भएका र जिम्मेवारीमा अहिले तत्काल नरहनु भएका साथीहरूका बारेमा भने मेरो कुनै गुनासो छैन । किनभने उहाँहरूले आफू जिम्मेवारीमा आउने कुरा, आफू रहेको पार्टीलाई बलियो र परिस्कृत बनाउने, कसैको मनमा लागेको हुन सक्छ, त्यता म जान चाहँदैन ।

तर, जिम्मेवार पदाधिकारीले, पार्टीको सम्पूर्ण हिसाबले तालाचाबी लिएर बसेकाले पार्टीभित्रै विग्रह ल्याउने गतिविधि सुरु गर्नुभयो । त्यसले कांग्रेस पार्टीलाई त कमजोर बनायो बनायो, राष्ट्रिय राजनीतिलाई पनि अन्योलता र अस्थिरतातिर, थप अप्ठ्यारो तिर धकल्ने काम भइरहेको छ ।

जिम्मेवारी त नेतृत्वले पनि त लिनुपर्ने होला । सभापतिले नै पार्टीलाई विभाजनतिर धेकेलिरहेको भन्ने आरोप उहाँहरुको छ नि त ?

हाम्रो पार्टी खुला छ । हाम्रो पार्टीमा आरोप–प्रत्यारोप, आलोचना हुन्छ । त्यसपछि सबै मतहरूलाई एक ठाउँमा राखेर, सबै कुराहरुलाई समाधान गरेर, एक भएर जाने हाम्रो पार्टीको प्रचलन छ ।

अस्तिका भदौ २२ गतेसम्म देवता सभापति २४ गते राक्षसमा परिणत गर्नुभयो महामन्त्रीज्यूहरूले । त्यसपछि उहाँले ल म राक्षसै रहेछु, म अयोग्य रहेछु, सबै समस्याको कारक म रहेछु भने म जिम्मेवारीबाट बाहिरिएँ, म स्वास्थ्यका कारणले पनि आक्रमणमा परेको छु, उपचार गर्न जान्छु, पार्टी ठीकठाक मिलाएर, पार्टीलाई एक गरेर तपाईंहरू अधिवेशन पनि गर्नुस्, चुनावमा पनि भाग लिनुस्, परिवर्तित परिस्थितिको नेतृत्व पनि गर्नुस् भनेर सार्वजनिक रुपमा केन्द्रीय समितिलाई सम्बोधन गर्नुभयो । सार्वजनिक लिखित मन्तव्य दिएर उहाँ बाहिएको पनि एक–दुई महिना भयो ।

तर खोई त समाधान ? समस्या झन्–झन् पेचिलो बन्दै आइरहेको छ । त्यसो भएर अहिले आवेगमा, उत्तेजनामा र क्षणिक बहकावमा कुद््न थालियो भने कहीँ पुगिँदोरहेनछ भन्ने कुरा त प्रमाणित भयो नि त ।

विशेष महाधिवेशनको माग गर्नु, नेतृत्व परिवर्तन गर्नुपर्छ भन्नु बहकाउमा लाग्नु हो ?

सचिवालयमा दर्ता गर्ने टेबुलसम्म छैन अहिले पार्टीमा । कसरी बनाउने ? यस्तो झगडा गरिएको छ । अनि यो जिम्मेवारीबाट पन्छिएर, भागेर, आरोप–प्रत्यारोप लगाएर मात्रै हुन्छ ? यसरी चल्दैन, व्यवहारिक हुनु पर्‍यो नि

एकदमै हो । म तपाईंलाई एउटा दृष्टान्त बताउँछु । उहाँहरूमा इम्याचुरिटी (अपरिपक्व) देखिन्छ । यसमा जिम्मेवारीबाट बाहिर हुनुभएका हस्ताक्षरकर्ता, अभियानकर्ताहरूलाई मेरो ठूलो गुनासो छैन । उहाँहरूले पार्टीलाई घच्घच्याउनका लागि हस्ताक्षर गर्नुभयो । त्यो एउटा पाटो हो । तर, यो गर्नका लागि प्रेरित गरेर आह्वान गर्नुभयो, खासगरी दुई महामन्त्रीज्यूहरूले ।

फागुन २१ गतेको निर्वाचनमा हामी एक्लै लडौंला । हामीले महासमिसितको बैठकबाट एक्लै जाने निर्णय गरेका छौं । माघ ११ गतेको निर्वाचनमा हामी एक्लै गयांै भने के होला ? ल एकचोटि राष्ट्रियसभाको निर्वाचनलाई इंगित गरे विचार गर्नुस् त । उहाँहरु त तत्काल बहसको विषयमा ल्याउनु पर्ने कुरालाई अलमलमा पार्दिनु हुन्छ, केही दिन थाति राख्नुपर्ने कुरालाई बहसमा ल्याइदिनुहुन्छ ।

अहिले त महामन्त्रीहरूले सम्पूर्ण साथीहरूलाई एक ठाउँमा ल्याएर विषम परिस्थितिलाई ट्रयाकमा ल्याउन जरुरी थियो । एकमतका साथ जान आह्वान गर्न जरुरी थियो । तर, उहाँहरूले पार्टीलाई पूरै ‘डिरेल’ गर्ने गरी, पार्टीलाई अन्योलको भड्खालामा हाल्ने गरी लाग्नु भयो ।

भदौ २४ को घटना घट्ने बित्तिकै सभापतिको अवस्था के छ थाहा छैन, सभापति ठूलो आक्रमणमा पर्नुभएको थियो । उहाँ सेनाको हिरासतमा हुनुहुन्छ कि कोमामा हुनुहुन्छ कि केही थाहा छैन । त्यस्तो बेला महामन्त्रीहरू गलहत्याउने स्टेटमेन्ट दिएर, भिडियो सन्देश जारी गरेर, पार्टीमा ‘सिग्नेचर क्याम्पेन’को आह्वान गर्नुहुन्छ ।

अनि पार्टीलाई खण्डित गर्ने, पार्टीलाई बर्बाद गर्ने, पार्टीलाई ड्यामेज गर्ने उहाँहरू होइन ? महामन्त्रीहरू होइन ? यसको उत्तर दिनु पर्दैन ? यसको उत्तर तपाईं–हामी जस्ता आम देशवासी, लोकतन्त्रवादीले खोज्छ कि खोज्दैन ?

लोकप्रियतावादबाट उदाएको राजनीति छिट्टै अन्त हुन्छ, दु:खान्त हुन्छ । यो संसारका दृष्टान्तले देखाएको छ । महामन्त्रीहरूले जुन खालको राजनीति गर्न खोज्नु भयो, त्यसले देश र प्रजातन्त्रलाई अझ ठूलो भड्खालोमा लैजाने त छँदै छ,  यसले उहाँहरूलाई पनि राम्रो गरिरहेको छैन । जो बुज्रुक डेमोक्रेटहरू हुनुहुन्छ, उहाँहरूले पनि राम्रो मान्नु भएको छैन ।

जेनजी आन्दोलन पछाडिको मर्म र भावनाअनुसार युवाले नेतृत्व गर्नुपर्छ । अब बुढापाका संरक्षक भएर बस्नुपर्छ भन्नु गलत होर ? पार्टी भड्खालोमा लैजान खोजेको भन्न मिल्ला र ?

हस्तान्तरण गर्ने भनेको सडकमा गर्ने हो ? हस्तान्तरण गर्ने त विधि, विधान, पद्दति होला नि । हाम्रो चार वर्षे कार्यकाल पूरा भएको छ । कांग्रेस पार्टीको निर्वाचनको सबैभन्दा ठूलो मेरुदण्ड भनेको क्रियाशील सदस्य हो । क्रियाशील सदस्यतादेखि अफिस अपडेट नहुनाका कारणले यी सबै प्रब्लम आएका छन् ।

सारा अफिस अपडेट गर्ने र क्रियाशील सदस्यता अपडेट गर्ने काम महामन्त्रीज्यूहरूको हो । उहाँहरूलाई यो काम गर्न तीन वर्ष अगाडिदेखि जिम्मा लगाइएको छ । तर वरको सिन्को पर सार्नु भएको छैन ।

अनि भदौ १९ गते ४५ मिनेट हाम्रो सभापति यस्तो अलौकिक व्यक्तित्व भनेर भाषण गर्नुहुन्छ । तर काम गर्नुहुन्न । आरोप अरुलाई लगाएर हिँड्न मिल्छ ? त्यसो भएर जिम्मेवारीबाट भागेर आरोप–प्रत्यारोपको राजनीति गरेर कहीँ पुगिन्न क्या ।

अहिले देशले संयमता खोजेको छ, अहिले देशले परिपक्वता खोजेको छ, अहिले देशले एकता खोजेको छ । यसले मात्रै डिरेल भएको डेमोक्रेटिक प्रोसेसलाई लाइनमा ल्याउँछ । यसलाई मैले डिरेल नै भन्छु । अहिले सभा–समारोह, व्यक्तिगत गतिविधि गर्न पाइँदैन । संविधानमा राष्ट्रपतिले विशेष परिस्थितिमा एउटा जुक्ति निकालेर धान्दिनु भएको छ ।

यसलाई एकताका साथ ट्रयाकमा ल्याउने जिम्मेवारी त हाम्रो हो नि त । गाली गरेर, आरोप–प्रत्यारोप गरेर, पद्दतिबाट आएको सभापतिलाई गलहत्याउने आह्वान गरेर समस्याको समाधान हुँदैन ।

महामन्त्री गगनजी क्रियाशील वितरण र नवीकरणको जिम्मेवारीमा भएको तीन वर्षभन्दा बढी भयो । तर खै क्रियाशील सदस्यताको विषय टुंग्याएको ?

महामन्त्रीहरू यो समस्या समाधान गर्न चाहनुहुन्न । उहाँहरू विग्रह ल्याउन चाहनुहुन्छ । उहाँहरू निर्वाचन होइन कि परिस्थितिलाई अरु धेरै अप्ठ्यारो तिर धकेल्न चाहनुहुन्छ । फेरि यो उहाँहरूले चाहेको होइन । उहाँहरूले अरु कसैको योजना र स्क्रिप्ट पढेको भन्ने मेरो ठहर छ ।

तपाईंको भनाइअनुसार उहाँहरु परिचालित हो अरुबाट ?

अब त्यसरी परिचालित त नभनौं । तर अरु कसैको बहकावमा बहकिनुभयो भन्नेमा चाहिँ हामी करिब–करिब छौं ।

राजनीति गर्ने व्यक्ति नेतृत्व तहसम्ममा पुग्न चाहनु स्वाभाविक छ नि त । यो सबै गर्दा तपाईंहरूको टाउको दु:खाइ किन भन्ने प्रश्न पनि छ नि ?

लोकतान्त्रिक गतिविधिबाट आएको मान्छेलाई लोकतान्त्रिक विधिबाटै हटाउनु पर्‍यो नि । विशेष महाधिवेशनको आह्वान गर्नुभयो । त्यसलाई हामीले अनादर गरेका छैनौं । विशेष महाधिवेशन पनि गरौं तर, विशेष महाधिवेशन गर्ने पद्दति होला नि त ।

१४औं महाधिवेशनको म्याद सकिएको छ । अब १५ औं महाधिवेशनको तालिका लिएर जाऔं न । तालिका ल्याउँदा पनि विशेष महाधिवेशनका आह्वानकर्ता साथीहरू फिर्ता लिन चाहनुहुन्छ कि विशेषै गर्नपर्छ भन्नुहुन्छ । विशेषै गर्नपर्छ भन्नुभयो भने त्यसको पनि प्रक्रिया सुरू गरौं भन्ने छलफल गर्दा पनि उहाँहरु मान्नु हुन्न । अनि के गर्न सकिन्छ ल भन्नुस त ?

विशेष महाधिवेशनका लागि उहाँहरुले त हस्ताक्षर संकलन गर्नुभएको छ । हस्ताक्षर बुझाएको तीन महिना भित्र मिति तोक्नु पर्ने वैधानिक व्यवस्था छ । त्यसलाई बेवास्ता गर्न पनि त मिल्दैन नि ?

तपाईंलाई इन्फ्याक्ट भन्दा के हो भने त्यो धारा १७ (२) ले विशेष महाधिवेशन बोलाउन सकिने छ भन्यो । विशेष महाधिवेशनको नियमावली, निर्देशिका सबै केन्द्रीय कार्यसमितिले बनाउनु पर्ने हो । त्यो कुराको कुनै प्रावधान पनि रहेनछ । फेरि केन्द्रीय कार्यसमिति बसेर नियमावली, निर्देशिका नै बनाउन जरुरी छ ।

गर्ने नै हो विशेष महाधिवेशन भने हामी विशेष महाधिवेशनसँग भाग्ने तर्सिने कुरा होइन । साथीहरूको अभिमतलाई सम्मान गर्दै पार्टीको विधि र विधान, पद्दतिअनुरुप लिएर जाने हो नि त ।

त्यसो भएर आग्रह खाली के हो भने हामी १५औ महाधिवेशनको पूर्वसन्ध्यामा छौं । विशेष महाधिवेशनको प्रक्रिया धेरै लामो हुन्छ । यसले पार्टीलाई अरु धेरै अप्ठ्यारोमा पार्न सक्छ । त्यसो भएर विधिसम्मत हिसाबले नयाँ परिवर्तित परिस्थिति र नयाँ साथीहरूलाई पनि पार्टीको वडादेखि केन्द्रसम्म प्रतिनिधित्व गराउने हिसाबले सदस्यतादेखि सारा कुरामा जोड्ने हिसाबले १५औं महाधिवेशनको तयारी हार्दिकतापूर्वक गरौं भन्ने हाम्रो आग्रह हो ।

त्यो पनि कहिले हुन्छ ठेगान हुँदैन भनेर उहाँहरू तत्काल मिति तोक्नुपर्छ भनिरहनुभएको छ ।

ठेगान छ । ताला–चाबी उहाँहरूकै हातमा छ । क्रियाशील सदस्यता कहिले टुङ्याएर दिनुहुन्छ, त्यसपछि त भैहाल्छ नि । महामन्त्री गगनजी क्रियाशील वितरण र नवीकरणको जिम्मेवारीमा भएको तीन वर्षभन्दा बढी भयो । तर खै क्रियाशील सदस्यताको विषय टुंग्याएको ?

महामन्त्रीलाई पनि असहयोग र निषेध गर्ने किसिमले तपाईंहरुले गतिविधि गरिराखेको छ भन्ने गुनासो छ नि उहाँहरूको ?

भावनामा बहकेर हुन्छ ? फेसबुकमा फेसबुक लाइभ बसेजस्तो हो र राजनीति भनेको ? सारा अफिसको जिम्मेवारी महामन्त्रीको हो । त्यसलाई ठीकसँग सम्पादन गर्नुपर्‍यो नि । पार्टी संगठनको जिम्मेवारी सबै उहाँहरूको हो । अनि निषेध कुन लोकको मान्छे आएर गरिदियो ?

एउटा उखान छ नि गाउँघरमा– नाच्न जान्दैन, आँगन टेढो । आफू काम नगर्ने, सस्तो लोकप्रियतामा खादामालातिर मात्रै कुद्ने ? पार्टी लथालिङ्ग छ । आन्दोलनमा जलेको पार्टी कार्यालयहरू अरूका रंगरोगन भएर रिफर्म भइसके । उहाँहरू एउटा रोइलो बजाएर हिँड्नु भएको छ ।

सचिवालयमा दर्ता गर्ने टेबुलसम्म छैन अहिले पार्टीमा । कसरी बनाउने ? यस्तो झगडा गरिएको छ । अनि यो जिम्मेवारीबाट पन्छिएर, भागेर, आरोप–प्रत्यारोप लगाएर मात्रै हुन्छ ? यसरी चल्दैन, व्यवहारिक हुनु पर्‍यो नि ।

कांग्रेसमा देखिएको विवाद कसरी समाधान तिर जान्छ त ?

हामी विवाद समाधानका लागि निरन्तर दबाब दिइरहेका छौं । १५औं महाधिवेशनको कार्यतालिका ल्याउछौं । तल्लो तहसम्म सदस्यता वितरणदेखिका सबै कुरा टुङ्याउछौं । र, कार्यतालिकासहित १५औं महाधिवेशनमा जान्छौं ।

विशेष महाधिवेशनका हस्ताक्षरकर्ता साथीहरूलाई पनि हामी १५ औं महाधिवेशनको कार्यतालिकासहित आयौं, राष्ट्रिय राजनीति अप्ठ्यारोमा परेको छ,  एकताका साथ अगाडि बढौं भनेर आह्वान गर्छौं ।

मलाई विश्वास छ विशेष महाधिवेशनका साथीहरूले आफ्नो प्रस्ताव पनि फिर्ता लिनुहुन्छ र अनि हामी निर्वाचनको उपयोग गर्दै १५औं महाधिवेशनमा हामी छिटै पुग्छौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?