News Summary
Generated by OK AI. Editorially reviewed.- ब्राजिलको सर्वोच्च अदालतले पूर्व राष्ट्रपति जायर बोल्सोनारोलाई राजनीतिक षड्यन्त्रको आरोपमा २७ वर्षको सजाय सुनाएको छ।
- बोल्सोनारोले सन् २०२२ को चुनावमा पराजित भए पनि सरकार ढाल्ने षड्यन्त्र गरेको र राष्ट्रपति लुला डी सिल्भाको हत्या योजना बनाएको आरोप छ।
- अदालतले बोल्सोनारोलाई फेडरल पुलिस हेडक्वार्टरमै नजरबन्दमा राख्न आदेश दिएको छ र उनका सबै अपीलहरू खारेज गरेको छ।
१० मंसिर, काठमाडौं। ब्राजिलका पूर्व राष्ट्रपति जायर बोल्सोनारोलाई त्यहाँको सर्वोच्च अदालतले राजनीतिक षड्यन्त्र (कु) गरेको अभियोगमा २७ वर्षको सजाय सुनाएको छ। यो फैसला मंगलबार आएको हो।
७० वर्षीय बोल्सोनारोमाथि सन् २०२२ को राष्ट्रपति चुनावमा पराजित भए पनि सत्तामा रहिरहनका लागि वर्तमान राष्ट्रपति लुला डी सिल्भाको सरकार ढाल्ने षड्यन्त्र रचेको आरोप छ।
सुनुवाइका क्रममा बोल्सोनारोको कानूनी टोलीले अदालतको फैसला विरुद्ध अन्तिम पुनरावेदन नगरेपछि न्यायाधीश अलेक्जान्द्रे मोराएसले २७ वर्षको सजाय लागू गर्ने आदेश दिए।
न्यायाधीशले बोल्सोनारोलाई हाल राजधानी ब्रासीलियाको फेडरल पुलिस हेडक्वार्टरमै राख्न आदेश दिएको छ । त्यहाँ उनी शनिबारदेखि नै ‘भाग्न सक्ने आशंका’ का कारण पहिले नै ‘प्री-अरेस्ट’ मा छन्।
के हो ‘कु’ षड्यन्त्रको मामला ?
ब्राजिलका सरकारी वकिलहरूले बोल्सोनारोले चुनाव हारेपछि सत्ता जोगाउनका लागि सर्वोच्च अदालतमाथि हमला गर्ने षड्यन्त्र रचेको आरोप लगाएका छन्।
त्यस्तै, उनीमाथि राष्ट्रपति लुला डी सिल्भा र न्यायाधीश डी मोराएसको हत्याको योजना बनाए पनि आरोप छ । साथै, सैन्य ‘कु’ मार्फत चुनाव परिणाम उल्ट्याउने प्रयास गरेको अभियोग पनि उनीमाथि लगाइएको छ ।
‘हाउस अरेस्ट’ को माग खारेज
बोल्सोनारोका वकिलहरूले उनको खराब स्वास्थ्यको हवाला दिँदै ‘हाउस अरेस्ट’ अर्थात् घरमै नजरबन्दमा राख्न माग गरेका थिए, तर अदालतले सबै अपीलहरू खारेज गरिदिएको छ। न्यायाधीश मोराएसले बोल्सोनारोका सबै दाबीहरूलाई अस्वीकार गरेका हुन्।
पूर्व राष्ट्रपतिले भ्रमका कारण आफ्नो खुट्टाको घुँडामा लगाइएको निगरानी यन्त्र (इलेक्ट्रोनिक एङ्कल मनिटर) लाई वेल्डिङ गर्ने औजारले काट्ने प्रयास गरेको दाबी गरेका थिए । जबकि अदालतले भने उनले भाग्ने क्रममा उक्त यन्त्रलाई सोल्डरिङ आइरनले जलाउने प्रयास गरेको बताएको छ।

अदालतले सार्वजनिक गरेको भिडियोमा उक्त मनिटर जलेको र क्षतिग्रस्त देखिएको छ। यद्यपि, त्यो अहिले पनि बोल्सोनारोको खुट्टामा बाँधिएको छ। फुटेजमा बोल्सोनारोले आफूले यन्त्रमा औजार प्रयोग गरेको स्वीकार गरेका छन्।
अरूलाई पनि सजाय
पूर्व जनरल अगस्टो हेलेनो र पूर्व सैन्य अधिकारी पाउलो सर्जियो नोघुएरालाई ब्रासीलियाको मिलिट्री सेन्टर पठाइएको छ। पूर्व न्यायमन्त्री एन्डरसन टोरेसलाई पापूडा जेलमा राखिएको छ। एडमिरल अलमिर गार्नियरलाई सेनाको जेलमा राखिनेछ।
पूर्व रक्षामन्त्री तथा उपराष्ट्रपति पदका उम्मेदवार वाल्टर ब्रागा नेटोलाई रियो दि जेनेरियोको सैन्य केन्द्रमा राखिनेछ। सांसद र पूर्व गुप्तचर प्रमुख अलेक्जान्द्रे रामाजेम भने अमेरिका भागेका छन्।
अगस्टदेखि नजरबन्दमा थिए बोल्सोनारो
अगस्टमा सर्वोच्च अदालतले बोल्सोनारोलाई नजरबन्द गर्ने आदेश दिएको थियो। न्यायाधीश मोराएसले बोल्सोनारोले घरमै नजरबन्दमा रहँदा पनि आफ्ना तीन सांसद छोराहरूमार्फत सार्वजनिक सन्देशहरू पठाएर प्रतिबन्धहरूको उल्लंघन गरेको बताएका थिए।

बोल्सोनारोले रियो दि जेनेरियोमा आफ्ना समर्थकहरूको एक र्यालीलाई आफ्नो छोराको फोनबाट सम्बोधन गरेका थिए। यस क्रममा उनले भनेका थिए, ‘नमस्ते कोपाकबाना, गुड अफ्टरनुन मेरो ब्राजिल, यो हाम्रो स्वतन्त्रताको लागि हो ।’
अदालतले यसलाई नियमहरूको सीधा अवहेलना बताएको थियो। यसपछि सर्वोच्च अदालतले उनलाई घरमा नजरबन्द राख्न, इलेक्ट्रोनिक एङ्कल मनिटर लगाउन र उनको घरबाट सबै मोबाइल जफत गर्न आदेश दिएको थियो।
ट्रम्पले फैसलालाई ‘विच हन्ट’ बताए
बोल्सोनारोले तख्तापलटको षड्यन्त्रसँग सम्बन्धित कुनै पनि गलत काममा लगातार इन्कार गर्दै आएका छन्। उनी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका नजिकका मानिन्छन्।
ट्रम्पले अदालतको फैसलालाई ‘विच हन्ट’ अर्थात् उनलाई जानबूझकर गलत तरिकाले आरोपी बनाइएको बताएका छन् ।
ट्रम्पले हालै बोल्सोनारोसँग कुरा भएको र चाँडै उनलाई भेट्ने योजना रहेको बताए। ट्रम्पले ब्राजिलबाट आयात हुने सामानहरूमा ५० प्रतिशत ट्यारिफ लगाएका थिए र सर्वोच्च अदालतका न्यायाधीश मोराएसको भिसा पनि रद्द गरेका थिए।
(एजेन्सीहरूको सहयोगमा)
प्रतिक्रिया 4