+
+

ओनसरी घर्ती : बाध्यताले काठमाडौं, गठबन्धनकै भर

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक २४ गते १२:५८

तत्कालीन नेकपा (माओवादी)ले २०५२ फागुनमा सशस्त्र युद्ध थालेको जनाउ दिन गरेको होलेरी प्रहरी चौकी (रोल्पा) आक्रमणमा सहभागी दुई महिलामध्ये ओनसरी घर्ती एक थिइन् । माओवादीको पहिलो सुरक्षा दलमा रोल्पाका चार महिलामध्ये पनि उनी एक थिइन् । नेकपा (माओवादी केन्द्र)की नेता ओनसरी घर्ती नेपालको पहिलो महिला सभामुख पनि हुन् ।

२०३४ सालमा हालको रोल्पा नगरपालिका-७ मा जन्मिएकी ओनसरी घर्ती मगर माओवादी सेनामा बटालियन कमिसारसम्म बनिन् । २०४६ सालमा अनेरास्ववियुको सम्पर्कमा आएर विद्यार्थी राजनीति थालेकी उनी माओवादीको राज्य कमिटी सदस्य, केन्द्रीय कमिटी सदस्य, पोलिटब्यूरो सदस्य हुँदै स्थायी कमिटी सदस्य बनिसकेकी छन् ।

माओवादी पार्टी शान्ति प्रक्रियामा आएपछि गठन भएको पहिलो संविधानसभामा समानुपातिक तर्फबाट सभासद बनेकी घर्तीले दोस्रो संविधानसभामा जान चाहिं प्रत्यक्ष निर्वाचन रोजिन् । त्यसका लागि उनले रोल्पा क्षेत्र नं २ रोजिन् र जितिन् पनि ।

२०७४ मा फेरि घर्ती समानुपातिकबाट प्रतिनिधिसभामा आइन् । माओवादी केन्द्रले यसअघिका समानुपातिक सांसदलाई नदोहोर्‍याउने नीति लिएपछि उनले कि पार्टीभित्रको राजनीतिमा सीमित हुनु पर्‍यो कि त रोल्पाबाहिर कतैबाट चुनाव लड्नुपर्ने भयो । अनि उनी काठमाडौं-२ बाट उठेकी छन् ।

बाध्यताको रोजाइ

सत्ता गठबन्धनबाट प्रतिनिधिसभाकी उम्मेदवार ओनसरी घर्ती काठमाडौं-२ का मतदाताका लागि नयाँ हुन् । रोल्पा छोड्नुपर्दा उनले लुम्बिनी प्रदेशकै कुनै सहज क्षेत्र चाहेकी थिइन्, तर सम्भव नभएपछि काठमाडौंं-२ बाध्यता भयो ।

माओवादीका लागि काठमाडौं उसै पनि सजिलो ठाउँ होइन । २०६४ सालको पहिलो संविधानसभा चुनावमा काठमाडौंका १५ क्षेत्रमध्ये ७ वटामा जितेको माओवादी दोस्रो संविधानसभामा शून्य भएको थियो ।

नेकपा -एमाले)सँग गठबन्ध्ान गरेर लडेको २०७४ को चुनावमा पनि माओवादी केन्द्रले काठमाडौंबाट संसदको एउटै सिट जित्न सकेन । यो अवस्थामा घर्ती काठमाडौं-२ मा आएकी छन् ।
यद्यपि, घर्तीको लागि भविष्यमा समेत अनुकूल बनाउने गरी यो प्रतिकूलता रोजिएको माओवादी केन्द्रका नेताहरू बताउँछन् ।

सहज अंकगणित, असहज ‘भोट ट्रान्सफर’

गत स्थानीय तह चुनावमा वडाअध्यक्षका उम्मेदवारहरूले काठमाडौं २ मा पाएको दलगत मतमा यो क्षेत्रमा नेकपा (एमाले)को १७ हजार ३२८, नेपाली कांग्रेसको १४ हजार १२८, नेकपा (एकीकृत समाजवादी)को ७ हजार ९११, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को ७ हजार २०० र माओवादी केन्द्रको सबभन्दा कम ३१३१ रहेको छ ।

यो आधारमा सत्ता गठबन्धनको २५ हजार १७० मत छ । यसले घर्तीलाई अगाडि देखाउँछ । जितका लागि उनी गठबन्धनमै पूर्ण निर्भर छिन् । र, गठबन्धनबाट ‘भोट ट्रान्सफर’ गर्नु नै उनको मुख्य चुनौती हो ।

यो क्षेत्रमा एमालेका स्थानीय उम्मेदवार मणिराम फुँयाल, राप्रपाकी कुन्ती पोखरेल र रास्वपाकी सोविता गौतम प्रतिस्पर्धामा छन् । सत्ता गठबन्धनको मतलाई सुरक्षित राख्दै विपक्षीहरूलाई पाखा लगाउन सक्दा रोल्पाकी ओनसरी घर्तीका लागि काठमाडौं-२ भविष्यको लागि समेत सहज हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?