+
+

पब्जी मोबाइल विश्वकप आजदेखि सुरु, नेपालबाट तीन टिम सहभागी

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक २४ गते १२:५१

२४ कात्तिक, काठमाडौं । पब्जी मोबाइलको सबैभन्दा ठूलो प्रतियोगिता पब्जी मोबाइल ग्लोबल च्याम्पियनसिप (पीएमजीसी) विहीबारदेखि सुरु भएको छ । मलेसिया र इण्डोनेसियामा आयोजना हुने विश्व च्याम्पियनसिप करिब दुई महिनासम्म चल्नेछ ।

विश्व च्याम्पियनसिपमा नेपालबाट तीन टिम छनोट भएका छन् । विश्वभरबाट क्षेत्रीय छनोटमार्फत विश्व च्याम्पियनसिपका लागि ४८ टिम छनोट भएकोमा नेपालबाट तीन टिमले सफलता पाएका हुन् ।

अघिल्लो साता सम्पन्न दक्षिण एसियाली छनोटमा दोस्रो भएको डीआरएस गेमिङ, तेस्रो स्काइलाइट्ज गेमिङ र पाँचौं भएको ट्रेण्ड टू किल (टीटूके)ले विश्व च्याम्पियनसिप खेल्नेछन् । पीएमजीसीमा छनोट प्रतियोगिताबाट आएका ४८ टिमलाई १६ टिमका दरले तीन समूहमा विभाजन गरिएको छ ।

नेपालबाट छनोट भएकामध्ये डीआरएस गेमिङ समूह रेड, स्काइलाइट्ज गेमिङ समूह ग्रीन र टीटूके गेमिङ समूह एल्लोमा परेका छन् । डीआरएसका खेलाडीहरु दीपेश गुरुङ, साहस भण्डारी, सुविनकुमार प्रजापती, समीर गुरुङ र संगीन भट्टाई हुन् ।

स्काइलाइट्जमा अजय श्रेष्ठ, युजेन लामा, अन्जन राई र निमा तामाङ तथा टीटूके टिममा अभिशेक सिंह, सुयोग मुल्मी, वसन्त गौतम, सन्देश प्रधान र रिग्देन बज्राचार्य जस्ता स्टार खेलाडीहरु समावेश छन् ।

तेस्रोपल्ट हुन लागेको पीएमजीसीमा नेपालको डीआरएस टिम लगातार छनोट हुँदै आएको छ । उसको यो तेस्रो विश्व च्याम्पियनसिप हो । स्काईलाइट्ज र टीटूकेले पहिलोपल्ट विश्व च्याम्पियनसिप खेल्न लागेका हुन् ।

यस्तो छ प्रतियोगिताको फर्म्याट

प्रतियोगितामा ग्लोबल छनोटमार्फत ४८ टिम र सिधै सहभागी तीन टिमबीच प्रतिस्पर्धा हुनेछ ।

छनोट भएर आएका ४८ टिमलाई ३ समूहमा विभाजन गरी समूह चरणका खेल सन्चालन हुनेछन् । हरेक समूहको निश्चित साता प्रतिस्पर्धा गर्नेछन् । सातामा चार दिन म्याच हुनेछ । एक दिनमा ६ खेल हुनेछ र सातामा एउटा समूहमा २४ खेल हुनेछ ।

समूहको शीर्ष तीन टिम सिधै फाइनल स्पर्धाका लागि योग्य हुनेछ । चौथोदेखि ११औं स्थानमा आउने टिम सर्भाइभल चरणमा प्रवेश गर्नेछ । बाँकी पाँच टिम समूह चरणबाटै बाहिरिनेछ ।

सर्भाइबल चरणमा तीन समूहका २४ टिम हुनेछन् । उनीहरुलाई ८ टिमका दरले तीन समूहमा विभाजन गरिनेछ । हरेक समूहमा दिनको ६ खेल हुनेछन् । ३ दिन सन्चालन हुने यो चरणमा १८ खेल हुनेछ । राउण्ड रोविन प्रणालीमा प्रतिस्पर्धा गराइनेछ । नतिजाका आधारमा २४ मध्ये १८ टिम अन्तिम अवसर (लास्ट चान्स)का लागि छनोट हुनेछन् । ८ टिम बाहिरिनेछन् ।

लास्ट चान्समा १६ टिमबीच १२ खेल हुनेछ । शीर्ष चार टिम फाइनल चरण (ग्राण्ड फाइनल)मा प्रवेश गर्नेछन् भने १२ टिम बाहिरिनेछन् । लास्ट चान्ससम्मका खेलहरु मलेसियाको क्वालालम्पुरबाट आयोजित हुनेछन् । ग्राण्ड फाइनल भने इण्डोनेसियाको जाकार्तामा हुनेछ ।

ग्राण्ड फाइनलमा १६ टिम सहभागी हुनेछन् । समूह चरणको स्पर्धामा हरेक समूहबाट शीर्ष तीन स्थानमा रहेका ९ टिमा, सर्भाइभल हुँदै लास्ट चान्सबाट छनोट भएका ४ टिम र सिधै आमन्त्रित गरिएका ३ टिमले फाइनल चरणमा प्रतिस्पर्धा गर्नेछन् ।

क्राफ्टन, लेभल इन्फिनिट र भीएसपीएनको संयुक्त आयोजनामा सन्चालित प्रतियोगिताको कुल पुरस्कार राशी ४० लाख अमेरिकी डलर हुनेछ । पहिलोदेखि ५१औं स्थानमा रहने टिमले नगद पुरस्कार पाउनेछन् ।

विश्व च्याम्पियनसिपमा ३२ देशका टिमबीच प्रतिस्पर्धा हुनेछ । चीनको टिम एसएमजी र इण्डोनेसियाको अल्टर इगो लिम्याक्सले सिधै सहभागिताको अवसर पाएका छन् । सिधै सहभागी हुने अर्को टिमको टुंगो लाग्न बाँकी छ ।

पीएमजीसीको सन् २०२० मा आयोजित पहिलो र २०२१ मा आयोजित दोस्रो संस्करणमा चीनको नोभा इस्पोर्टस टिम च्याम्पियन बनेको थियो । दोस्रो संस्करणमा ६० लाख डलर कुल पुरस्कार राशीको व्यवस्था रहेकोमा यो संस्करणमा २० लाख कम गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?