+
+
कालीकोट :

महेन्द्रविरुद्ध माओवादीकै बागी, नागीन्द्रलाई आश

यज्ञ खत्री यज्ञ खत्री
२०७९ कात्तिक २४ गते २०:५२

२४ कात्तिक, कालीकोट । आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा सदस्यका लागि कालीकोटमा ७ जना उम्मेदवार चुनावी मैदानमा छन् । तर, मुख्य प्रतिस्पर्धा सत्तारुढ गठबन्धन र नेकपा एमालेबीच नै हुने देखिएको छ ।

सत्ता गठबन्धनले नेकपा माओवादी केन्द्रका नेता एवं कर्णाली प्रदेशका पूर्व मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई उम्मेदवार बनाएको छ भने नेकपा एमालेका तर्फबाट नेता नगीन्द्र शाही उम्मेदवार छन् ।

यतिबेला दुवैले आ–आफ्नो प्रचारप्रसारलाई तीव्र बनाएका छन् । चुनाव जित्न महत्वकांक्षी चुनावी प्रतिबद्धता सहित घरदैलो र चुनावी सभा गरिरहेका छन् । सत्तारुढ गठबन्धनले केन्द्रीय नेताहरुको कालीकोटप्रति सदासयता रहेको देखाउन मंगलबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस उपसभापति पूर्णबहादुर खड्कालाई बोलाएर चुनावी सभा गरेको छ ।

प्रचण्ड र खड्कालाई उपस्थित गराएर एकैदिन जिल्लामा दुई ठाउँमा चुनावी सभा गरिएको थियो । प्रदेश सभा (क) को मान्म र (ख) को रास्कोटमा आयोजित चुनावी सभामा नेताद्वयले आश्वासन युक्त मन्तव्य दिएका थिए ।

एमालेले पनि यही २५/२६ गतेभित्र अध्यक्ष केपी शर्मा ओलीलाई उपस्थित गराएर चुनावी सभा गर्ने कार्यक्रम तय गरेको छ । नगीन्द्रको प्रचार टोलीमा एमालेका नेता कार्यकर्ता छन् भने महेन्द्रसँग माओवादी कार्यकर्ताका साथै यसअघिको प्रमुख प्रतिस्पर्धी नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीका कार्यकर्ता पनि छन् ।

जबकि २०७४ को चुनावमा वाम गठबन्धन भएकाले एमालेका नगीन्द्र महेन्द्रलाई जिताउन भोट माग्दै घरदैलोमा खटिएका थिए । तर, यसपटक उनै महेन्द्रको कमजोरी औल्याउँदै आफूलाई भोट मागिरहेका छन् ।

गत स्थानीय चुनावको नतिजा हेर्दा कालीकोटमा माओवादी एक्लैले चुनाव जित्नसक्ने देखिन्छ । नौ स्थानीय तह रहेको कालीकोटमा ८२ वडा छन् । जसमध्ये माओवादीले ४९ वडा, नेपाली कांग्रेसले १६, नेकपा एमालेले ८, एकीकृत समाजवादी र नेमकिपा तीन/तीन वडा जितेका छन् । दुई वडामा स्वतन्त्र हैसियतमा वडाध्यक्ष जितेकाहरु हाल माओवादीमा छन् ।

नौ पालिकामध्ये माओवादीले ६, कांग्रेसले २ र स्वतन्त्र (हाल एकीकृत समाजवादी) ले एउटामा प्रमुख पद जितेका छन् । एमालेले तीनवटा पालिकाको उपप्रमुख पद जितेको छ ।

यस आधारमा कालीकोटमा माओवादी केन्द्र पहिलो, नेपाली कांग्रेस दोस्रो, एमाले तेस्रो र एकीकृत समाजवादी चौथो शक्ति हो । स्थानीय तह निर्वाचनमा वडा अध्यक्षका उम्मेदवारले पाएको मतको आधारमा एमालेको भन्दा सत्तारुढ गठबन्धनको डेढ गुणा बढी मत छ ।

वडामा माओवादीले १८ हजार ३४७, नेपाली कांग्रेसले १२ हजार ८२०, एमालेले १२ हजार ६१३, नेकपा एकीकृत समाजवादीले ३ हजार ५०३, स्वतन्त्रले ४ हजार ६०९ र नेपाल मजदुर किसान पार्टीले १४ सय ६० मत पाएका छन् ।

सो अनुसार गठबन्धनसँग ३४ हजार ६७० मत रहेको छ भने एमालेसँग २२ हजार ७५ मत अन्तर रहेको देखिन्छ । कांग्रेस नेता दमन शाही सत्तारुढ गठबन्धनले निर्वाचन जित्नेमा ढुक्क भएको बताए । ‘संघमा एमाले र गठबन्धनबीचको मतअन्तर झण्डै दुईगुणा छ । महेन्द्रजी जित्नेमा ढुक्क हुनुहुन्छ’ शाहीले अनलाइनखबरसँग भने ।

केन्द्र सरकारको उर्जामन्त्री तथा कर्णाली प्रदेश सरकारको पूर्वमुख्यमन्त्री समेत रहेका महेन्द्र पनि कालीकोटमा माओवादी एक्लैले जित्ने जनआधार रहेको र यो पटक सत्ता गठबन्धन बीच एकता हुँदा जित झन् सहज भएको बताउँछन् ।

‘यो भन्दा अगाडिका दुईवटा चुनावमा एक्लै जितेको थिएँ, यसपटक त झन् गठबन्धन छ । मेरो त प्रतिस्पर्धी नै छैनन् भनेपनि हुन्छ’, महेन्द्रले भने ।

नेकपा एमालेका नेता नगीन्द्र भने कांग्रेस र माओवादीकै भोट पाएर आफू जित्ने दावी गर्छन् । ‘नेताहरुले जस्तोसुकै गठबन्धन गरेपनि कांग्रेस कार्यकर्ताले माओवादीलाई भोट दिदैनन्, माओवादी भित्रै एउटा ठूलो समुह असन्तुष्ट छ,’ नगीन्द्रले अनलाइनखबरसँग भने, ‘कांग्रेस र माओवादीकै भोटले महेन्द्रजीलाई हराउँछु ।’

महेन्द्र केन्द्र सरकारको मन्त्री र प्रदेशको मुख्यमन्त्री हुँदा पनि कालीकोटका लागि केही गर्न नसकेको उनको आरोप छ । ‘कालीकोटका जनताले महेन्द्रजीलाई दुई पटक जिताए, मन्त्री, मुख्यमन्त्री बनाए तर ती जनताले के पाए त ? आज प्रत्येक मतदाताले महेन्द्रजीलाई प्रश्न गरिरहेका छन् । तर उहाँसंग जवाफ छैन’, नागीन्द्रले भने ।

काशीचन्द्रको आफ्नै दाउ

नेकपा माओवादी केन्द्रले टिकट नदिएपछि काशीचन्द्र बरालले बिद्रोह गरेर स्वतन्त्र उम्मेदवारी दिएका छन् । उनी माओवादी केन्द्र र दलीय राजनीतिबाट असन्तुष्ट रहेको मत तान्ने प्रयासमा छन् ।

विशेष गरी माओवादी, कांग्रेस, एमाले र एकीकृत समाजवादीभित्रका अससन्तुष्टहरुको मत ल्याएर जित्ने दावी उनको छ । त्यसैले घरदैलो अभियानमा स्वतन्त्र चाहियो भन्नेहरुसँग पनि मत मागिरहेका छन् ।

नेपाली कांग्रेसभित्र पनि संस्थापन र संस्थापन इतर दुई धार छ । संस्थापन पक्षले प्रदेश सभा (ख) मा टिकट पाउँदा यसअघिदेखि निरन्तर चुनाव लड्दै आएका संस्थापन इतर मानिने भूपेन्द्रजंग शाहीले टिकट पाएनन् । त्यसैले असन्तुष्ट रहेको संस्थापन इतर पक्षको मत आफूलाई आउने बराल बताउँछन् ।

‘मेरो उम्मेदवारी विशेषगरी शासकविरुद्ध हो । एउटै व्यक्तिले वर्षौंसम्म शासन गर्ने तर जनताको जीवनस्तरमा सुधार कहिल्यै नआउने देखिएपछि मैले पार्टीभित्रै विद्रोह गरेर स्वतन्त्र उम्मेदवारी दिएको हुँ’ उनले भने, ‘कांग्रेस, एमाले, एकीकृत समाजवादी र माओवादीभित्रकै असन्तुष्ट मत ल्याएर जित्छु ।’

रास्कोट नगरपालिकाका पूर्वमेयर समेत रहेका बराल यसपटक प्रदेशसभामा लड्न चाहन्थे । तर, माओवादीले टिकट नदिएपछि उनले महेन्द्र शाहीका विरुद्ध उम्मेदवारी दिएका हुन् ।

‘उहाँ अलि बढीनै अवसरवादी मान्छे हो । गठबन्धन हुँदा उहाँको क्षेत्रमा कांग्रेसलाई दिनुपर्‍यो । टिकट नपाएपछि त बागी उठ्नुभयो’, माओवादीका जिल्ला स्तरीय एक नेताले भने, ‘काशी कमरेड आफू चुनाव जित्न भन्दा पनि महेन्द्र कमरेडलाई हराउन उम्मेदवारी दिनुभएको हो ।’

यस्तो छ चुनावी इतिहास

शान्ति प्रक्रिया सुरु भएपछि ०६४ साल यता कालीकोटमा निरन्तर माओवादीले चुनाव जित्दै आएको छ । जनआन्दोलनपछि पनि यो क्षेत्रमा कम्युनिस्टहरूको उल्लेख्य उपस्थिति रहँदै आएको छ । अहिले पनि यो जिल्लामा कम्युनिस्ट विचारधारा बोक्ने पार्टी राजनीतिभित्र आवद्ध ठूलो जमात छ ।

विगतको परिणाम रोचक थियो । ०४८ सालमा कांग्रेसका तिलकप्रसाद न्यौपाने विजयी हुँदा नेपाल मजदुर किसान पार्टीका हिक्मतबहादुर विष्ट र एमालेका प्रेमबहादुर सिंह पराजित भएका थिए ।

०५६ मा एमालेका प्रेमबहादुर सिंह विजयी हुँदा कांग्रेसका नेत्रबहादुर शाही पराजित भए । तर ०६४ देखि निरन्तर माओवादीले जित्दै आएको छ । ०६४ मा माओवादीका खड्गबहादुर विश्वकर्मा विजयी हुँदा कांगेसका हिक्मत विष्ट पराजित भए । ०७० को दोस्रो संविधानसभा निर्वाचनमा माओवादी केन्द्रका महेन्द्रबहादुर शाही विजयी हुँदा कांग्रेसका भूपेन्द्रजंग शाही र एमालेका कुर्मराज शाही पराजित भएका थिए ।

०७४ को निर्वाचनमा माओवादीका महेन्द्रबहादुर शाही मुख्यमन्त्री बन्ने ध्येयका साथ प्रदेशमा झर्दा माओवादीकै दुर्गा रावत विजयी भए । वाम गठबन्धनका उम्मेदवार रावतले कांग्रेसका भूपेन्द्रजंग शाहीलाई पराजित गरेका थिए ।

प्रदेश सभा (क) मा एमालेका कुर्मराज शाही र (ख) मा माओवादीका महेन्द्रबहादुर शाही विजयी भएका थिए । वाम गठबन्धनले क्लिन स्वीप गर्दा कांग्रेसका सबै उम्मेदवार पराजित भएका थिए ।

अहिले सतारुढ गठबन्धनको तर्फबाट प्रतिनिधिसभामा महेन्द्रबहादुर शाही उम्मेदवार बन्दा प्रदेश सभामा कांग्रेस र माओवादीले एक/एक सिट बाँडेका छन् । प्रदेश सभा (क) माओवादीका दुर्गा रावत उम्मेदवार बन्दा एमालेले पुन कुर्मराज शाहीलाई नै उठाएको छ । एकीकृत समाजवादीका जिल्ला अध्यक्ष समेत रहेका शाही गत असोज २२ गते मनोनयन गर्दा गर्दाको अन्तिम दिन एमाले प्रवेश गरेका थिए ।

प्रदेश सभामा फ्लोर क्रस गरेर महेन्द्र शाही नेतृत्वको सरकार जोगाइदिएका कुर्मराज एमाले विभाजन भएसँगै एकीकृत समाजवादीमा लागेका थिए । तर, चुनावको अन्तिम समयमा कालीकोट समाजवादीको भागमा नपरेपछि उनी एमाले प्रवेश गरेर उम्मेदवार बनेका हुन् ।

प्रदेश सभा (ख)मा कांग्रेसले हिक्मत विष्टलाई उम्मेदवार बनाएको छ भने एमालेले वीरेन्द्र बोगटीलाई उठाएको छ । सोही क्षेत्रमा एकीकृत समाजवादीका विश्वराज बमले वागी उम्मेदवारी दिएका छन् । माओवादीले कारवाही गरेका लक्षम बमले पनि स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

लेखकको बारेमा
यज्ञ खत्री

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?