+
+
स्थलगत भरतपुर :

कृष्णभक्त र उमेशको मनमा घन्टी बजाइरहेका रवि

बसन्त बस्नेत, गौरव पोखरेल र सुवास पण्डित बसन्त बस्नेत, गौरव पोखरेल र सुवास पण्डित
२०७९ कात्तिक २५ गते ९:२७

२५ कात्तिक, भरतपुर । अघिल्ला चुनावहरुमा लो–प्रोफाइलमा रहने गरेको चितवन क्षेत्र नम्बर २ यसपल्ट एकाएक खास बन्न पुग्यो । टिभीका शोहरुमा ‘सिधा कुरा’ चलाउने, अनि आफूलाई सामान्यतया सिधै प्रस्तुत गर्न रुचाउने रवि लामिछानेले निकै लामो अन्योल र द्विविधापछि छानेका थिए यो क्षेत्रलाई । त्यसयता उनी प्रतिस्पर्धीहरुका लागि ताजा टाउको दुखाइ बन्न पुगेका छन् ।

हिन्दु बहुल क्षेत्रका मतदाताले घरैको पूजाकोठाबाट झिकेर चुनावी भेलामा बजाउन ल्याएको आस्थाको घन्टीलाई मालैमाला बनाएर गलामा लगाइदिन थालेपछि लामिछानेको अन्योल स्वतः समाप्त भयो । बिहीबार बिहान अनलाइनखबरको टोलीले भरतपुरको शिवघाटमा संक्षिप्त भेट्दा रवि तिनै घन्टीका माला किर्लिङकिर्लिङ बजाइरहेका थिए ।

पछिल्ला दुई आम चुनाव लगालग जितिरहेका एमाले नेता कृष्णभक्त पोखरेल यहाँबाट तेस्रोपल्ट उम्मेदवार छन् । व्यवसायी पृष्ठभूमिबाट राज्यमन्त्री बनेका कांग्रेस नेता उमेश श्रेष्ठ सत्ता गठबन्धनबाट यहाँ उठेका छन् । स्वर्णिम वाग्लेले चाहेर पनि चितवनमा नपाएको टिकट आफूले पाउँदा श्रेष्ठ यत्तिकै खुसी हुनुपर्ने । तर संगठित मताधार भएका स्थानीय नेता कृष्णभक्त अनि त्यसभन्दा माथि लोकरिझ्याइँको चुली चुमेका रवि लामिछाने आइलागेपछि उनको खुसी धेरैबेर टिक्न पाएन ।

विभिन्न जिल्लाका निर्वाचन क्षेत्र नियाल्ने क्रममा अनलाइनखबरको टिम बिहीबार दिनभरि चितवन २ का विभिन्न इलाकाहरुमा सक्रिय रह्यो । हाम्रो प्रारम्भिक ठम्याई अनुसार रवि लामिछानेसँग आम मतदाताको आकर्षण बढेको देखिन्छ ।

विगतमा कांग्रेस, माओवादी, राप्रपा, एमाले लगायत पार्टीमा भोट हाल्नेहरुमा उनीप्रति अपेक्षा र जिज्ञासा थपिएको देखिन्छ । हामीसँग कुरा गर्नेमध्ये थुप्रै प्रौढ, युवा तथा महिला, दलितहरुले यो भावना खुलेरै व्यक्त गरे ।

भरतपुर महानगर ११ का दिलबहादुर सापकोटाले विगतमा धेरैपल्ट कांग्रेसलाई भोट दिँदै आए । उनी यसपल्ट भोट बदल्ने निश्चय गरेर रविको समर्थनमा सामेल छन् । ‘अहिलेसम्म केही भएन, त्यसैले मन बदल्ने निर्णय गरें,’ सापकोटाले भने, ‘रविले केही गर्छौं भनेका छन् । मलाई लाग्छ, सत्ता र संसदको मोहनीमा परेनन् भने यिनले केही गरेर देखाउँछन् ।’

कांग्रेसमात्रै होइन, अन्य पार्टीहरुको समर्थन समेत रविले पाउने संकेत देखाउँदै गर्दा विगतको जनाधार भएका पार्टीहरुमा उनलाई रोक्ने खास रणनीति देखिँदैन । कांग्रेस उम्मेदवार उमेश श्रेष्ठले विकास गर्छु भन्ने उम्मेदवार होइन, विकास दिनसक्ने क्षमता भएको उम्मेदवारले मात्रै जनतालाई आशावादी बनाइराख्ने बताए । भरतपुर ११ लामाटोलमा घरदैलो गर्दै उनले त्यस्तो क्षमता आफूसँग रहेको दाबी गरे ।

श्रेष्ठको समस्या के थियो भने उनीसँग कांग्रेसको प्रतिबद्ध कार्यकर्ता पंक्ति निकै कमजोर देखिन्थ्यो । स्थानीय कार्यकर्ताहरुको कमजोर सहभागिताबीच उनी व्यवसायी पृष्ठभूमिका व्यक्ति तथा नयाँ पुस्ताका कतिपय समर्थक लिएर मैदानमा खडा थिए ।

एमालेका कृष्णभक्त पोखरेलमाथि विगतमा के गर्यौ भन्ने किसिमका प्रश्न छँदैछन् । वकिल पृष्ठभूमिबाट सांसद बनेका उनले सबुतप्रमाण र मतदाताको कानमा चिनी हाल्ने आश्वासन जोड्दै आफूतिर प्रभावित पार्न खोजेका छन् । झट्ट हेर्दा उनको प्रभाव स्थानीय संगठनहरु र पकेट एरियाहरुमा घटेको देखिंदैन । विगतमा सुकुम्वासी, अव्यवस्थित बसोबास भएका क्षेत्र अनि राष्ट्रिय वन क्षेत्रमा बसोबास गर्ने बासिन्दाहरुमा उनको पकड बलियो देखियो । तर जितलाई जोगाइराख्न यो पर्याप्त छैन ।

औसतमा घरैपिच्छे खाडी मुलुक गइराख्ने क्षेत्र २ का मतदाताहरुमा विगतमा वैदेशिक रोजगारीका सरोकार उठाइराख्ने रवि लामिछानेको क्रेज जबर्जस्त देखिन्छ । लामिछानेले स्वदेशमै रोजगारी, गुणस्तरीय र सुलभ स्वास्थ्य, खानेपानी अनि सुशासनको विषय मुख्य रुपमा उठाइराख्दा त्यसलाई सम्बोधन गर्ने मुख्य तर्क कांग्रेस र एमालेका उम्मेदवारसँग निकै कम छ । पोखरेलले आँपटारीको सभामा उपस्थित ठूलो भीडका बीचमा बोले, ‘ओलीलाई प्रधानमन्त्री बनाएर देशमा सुशासन र समृद्धि ल्याउन मलाई जिताउनुहोस् । सुकुम्वासी र भूमिहीनका लागि व्यवस्थित कानुन बनाएर मुक्तिको सास फेर्न सघाउने हजुरहरुको प्यारो पार्टी नेकपा एमाले नै हो ।’

बोलक्कड लामिछानेले भीआईपी संस्कारले देश सोत्तर भएको तर्क गरेर जति ताली पाउन सक्छन्, त्यो कला उमेश श्रेष्ठसँग छैन । उनीसँग रहेका अरु वक्ताले पनि कांग्रेस गठबन्धनले अघि सारेको संविधान रक्षाको नारा किन औचित्यपूर्ण छ भन्ने तर्कलाई स्थापित गर्नै सकेका छैनन् ।

बरु एमाले उम्मेदवार पोखरेल बाचाल देखिन्छन् । यति हुँदाहुँदै उनले समेत जनमत कतातिर ढल्कँदै छ भने ढिलोगरी समीक्षा गरेको देखिन्छ । सुरुसुरुका दिनहरुमा चुच्चे नक्सा र नागरिकता विधेयकमा आफ्ना भाषण सीमित गरेका एमाले नेता पोखरेलले बिस्तारै कुरा बुझ्दै गएका रहेछन्, मतदातालाई रविको भ्रष्टाचारविरोधी नारा, अनि सुलभ स्वास्थ्यउपचार र खानेपानी, बिजुली निःशुल्क गर्ने नाराले बढ्ता अपील गरिरहेको छ ।

कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठको तुलनात्मक कमजोर घरदैलो अभियान तथा कोणसभाको अवलोकनपछि हामीले एमाले यिनै उम्मेदवार कृष्णभक्त पोखरेल, अनि प्रदेशतर्फ उठेर मुख्यमन्त्री बन्ने चर्चा फ्याँकिरहेका विगतका चर्चित उम्मेदवार देवी ज्ञवालीको अभियानतर्फ लागेका थियौं ।

देबी ०७४ को स्थानीय चुनावमा एमालेबाट भरतपुर महानगर मेयर लड्दा प्रचण्डपुत्री रेणु दाहालसँग पराजित नेता हुन् । यो क्षेत्रमा पोखरेल र देवी ज्ञवालीको आफ्नै किसिमको प्रभाव देख्न सकिन्छ । स्थानीय चुनावमा भने अन्यत्र झैं प्रतिकुलता यहाँ पनि व्यहोर्यो । एमालेले यहाँका दुई गाउँपालिका इच्छाकामना र कालिका जित्दैगर्दा भरतपुर महानगरअन्तर्गत क्षेत्र २ मा पर्ने १० वडामध्ये ३ वटामा मात्रै जित्यो । समग्र मत ठिकै पाए पनि पालिका र वडाहरुमा रक्षात्मक बनेको एमालेका लागि एउटै आधार छः सशक्त आन्तरिक संगठन । बिहीबार यसको झल्को जहीँतहीँ देख्न पाइन्थ्यो ।

हामीले एउटा रोचक दृश्य देख्न पायौंः कांग्रेस उम्मेदवार प्रचारमा हिँड्ने सत्ता गठबन्धनका प्रचारकमध्ये कतिपयले रविको चिह्न घन्टीमा भोट हाल्ने खुलेआम बताइरहेका थिए । एमाले प्रचारकहरुबाट भने त्यस्तो टिप्पणी सुन्न पाइएन ।

भरतपुर महानगरका शिवघाट, लंकु, आनन्द चोक, कमलनगर, नारायणगढ पुल्चोकलगायत ठाउँहरुमा घरदैलो तथा कोणसभा गर्दै हिँडेका रवि लामिछानेका पछिल्तिर भुइँ तहको तप्का सोहोरिएर पछि लागेको देखिन्थ्यो ।

२०७६ सालमा शालिकराम पुडासैनी मृत्यु प्रकरणमा रवि तानिँदा चितवनका थुप्रै स्थानीयले उनलाई साथ दिएका थिए । त्यसैले काभ्रे स्थायी बास भएका रविले चितवनको यो क्षेत्र रोज्न पुगेको देखिन्छ ।

‘मप्रतिको आकर्षणमात्रै नबुझ्नु होला, हामीले १३० सिटमा जुन इमान्दार उम्मेदवार उठायौं, अनि समानुपातिक सिटतर्फ समावेशी र बहुपहिचान झल्कने गरी उम्मेदवार छान्यौं, त्योप्रति आम मानिसले भरोसा गरेको देखियो,’ रविले अनलाइनखबरसँग भने, ‘हामीले मतदातालाई हाम्रो कार्यकर्ता भइदिनुस् भनेका छैनौं । तर हाम्रो अपिललाई जुनसुकै दलमा भोट दिँदै आएको मतदाताले पनि रुचाएका छन् ।’

भरतपुरको एक क्याफेमा चुनावी विश्लेषण सुनाइरहेका विश्लेषक जीवन क्षेत्रीको बुझाइमा केही महिना अघिसम्म क्षेत्र नं. २ मा मुख्य प्रतिष्पर्धा एमाले उम्मेदवार पोखरेल र सत्ता गठबन्धनका उमेश श्रेष्ठबीच नै थियो । ‘तर पछिल्लो समय दुवैजना उम्मेदवार राष्ट्रिय स्वतन्त्र पार्टीका लामिछानेसँग डिफेन्सिभ देखेको छु’, क्षेत्रीले अनलाइनखबरसँग सुनाए, ‘अहिले नयाँ खालको लहर देखिन थालेको छ ।’

यसको पृष्ठभूमि स्थानीय तहको निर्वाचनमा देशका विभिन्न स्थानीय तहमा देखिएको परिणामबाट सुरु हुने बताउँदै उनले थपे, ‘यसपालि रविले जति भोट ल्याए पनि त्यसको उल्लेख्य हिस्सा चाहिँ कांग्रेस र एमालेप्रतिको नो भोट हो भन्ने बुझ्नुपर्छ भन्ने मेरो बुझाइ हो ।’

रविका तर्क तिखा छन् । नारा जनोत्तेजक छन् । त्यस्ता अपीलको दीर्घायुमा भने प्रशस्तै आशंका गर्ने, अनि प्रश्न गर्ने ठाउँहरु छन् । खासगरी एउटा पार्टी या त्यसका सांसदले संसदमा के गर्न सक्छन्, के गर्न सक्दैनन् भन्ने कुनै भेद नै नछुट्याई रविले गरेका मनपरी बाचाहरु उनैका लागि कालान्तरमा प्रतिकूल बन्ने खतरा पनि छन् । भरतपुरदेखि आँपटारीसम्म, शिवघाटदेखि भोजाडसम्मका मतदाताहरुको अपेक्षा सुन्दा यथार्थ र अपेक्षाका बीचमा निकै लामो दूरी भेटिन्छ ।

झट्ट सुन्दा रविले अहिलेकै संवैधानिक व्यवस्था र जनआन्दोलन लगायत संघर्षबाट प्राप्त उपलब्धिको पक्षमा राय जाहेर गरेको सुनिन्छ । उनले आफ्ना भाषणलाई केवल सुशासन र डेलिभरीसँग लगेर केन्द्रिकृत गर्न खोजेका छन् । उनको मूल सिकाइ भारतको आम आदमी पार्टी र यसका नेता अरविन्द केजरीवालबाट प्रभावित देखिन्छ । तर उनी राष्ट्रवादका चर्का नाराहरु, अनि संघीयता अभ्यासमा देखापरेका छिद्रहरु टाल्नेभन्दा यसमा खेलेर पछिल्ला उपलब्धिविरुद्ध प्रहार गर्ने ध्याउन्नमा हुन् कि भनी सन्देह गर्न मिल्ने ठाउँहरु भने बाँकी राखेर ताली खाइरहेका छन् ।

पार्टीको नाम ओझेलमा

यो स्टोरी यति लेखिसक्दासम्म हामीले रविको पार्टीको नाम चर्चा गरेका छैनौं । किनभने उनले र उनका कार्यकर्ता स्वयंले पार्टीको नामलाई उत्रो मतलब गरेका छैनन् । बरु उनीहरुले चुनाव चिह्न घन्टीलाई हदैसम्म ब्रान्डिङ गर्न ऊर्जा खर्च गरेका छन् । भरतपुर ४ लंकुमा रवि पुग्दा चर्का गीत र नाराहरु थिए । त्यसमा कि त रविको महिमामन्डन थियो, कि त घन्टी चिह्नप्रतिको अन्धभक्ति ।

पार्टीको नाम राष्ट्रिय स्वतन्त्र पार्टी हो, जसलाई उनीहरुले स्वतन्त्र उम्मेदवार भनी प्रचारमा ल्याएका छन् । जबकि यो निर्वाचन आयोगमा दर्ता भएको दल हो । बालेन शाह, हर्क साम्पाङ्गहरुको जस्तो असंगठित र स्वतन्त्र सन्जाल होइन ।

रविलाई छाडेर चितवन २ को छलफल गर्नुपर्दा कांग्रेस उम्मेदवार उमेश श्रेष्ठले विगतमा एमालेबाट प्रत्यक्ष चुनाव जितेका सांसद कृष्णभक्त पोखरेललाई प्रश्न सोध्ने गरेका छन्, ‘१० वर्षसम्म चुनाव जितेर उहाँले के गर्नुभयो ?’

यो यस्तो प्रश्न, जो श्रेष्ठले पोखरेललाई जुन दमका साथ सोध्छन्, पोखरेल पनि त्यही दमका साथ प्रतिप्रश्न गर्छन्, ‘उहाँ पनि १० वर्षयता निरन्तर समानुपातिक तर्फबाट सांसद हुनुहुन्छ, उहाँले चाहिँ के गर्नुभयो ?’

हुन पनि उमेश श्रेष्ठ उच्च नेतृत्वसम्म स्थापित प्रत्यक्ष पहुँचका कारण निरन्तर लाभ पाउने समानुपातिक सांसद पर्छन् । यति हुँदाहुँदै पनि पोखरेल फाइदामा भने छैनन् । किनभने एक अर्कातर्फ औंला ठड्याएर आफ्नो भागको जवाफदेहिताबाट भाग्न खोजिरहेका विगतका सांसद श्रेष्ठ र पोखरेलप्रति एकमुष्ट प्रश्न सोध्न आइसकेका छन् रवि लामिछाने, ‘दुई–दुईपल्ट सांसद बनेर उहाँहरु दुवैले अहिलेसम्म के गर्नुभयो ?’ ४ मंसिरमा चितवन २ को यो त्रिपक्षीय महाभिडन्त यिनै प्रश्नहरुको वरिपरि हुनेछ ।

तर रवि हालसम्म अपरीक्षित उम्मेदवार हुँदाहुँदै पनि उनी स्वयं पनि प्रश्नहरुभन्दा माथि भने छैनन् । एकातिर उनको असाध्यै विवादित व्यक्तिगत पृष्ठभूमि, अनि उनलाई राजावादी र परिवर्तनविरोधी समूहले दिइरहेको समर्थन यसको कारक तत्व हो ।

विगतमा कतिपय आर्थिक आचरणमा सफा नदेखिएको र पारिवारिक जीवन तथा विवाहेत्तर सम्बन्धमा पटक पटक दोषी देखिएको दाग रवि लामिछानेलाई लागेको छ । रविले राजनीतिक समस्याहरुको रातारात छुमन्तर गरिदिने मखमली बाचा गरेका छन्, तिनको कार्यान्वयन गर्न उनले जुन शक्तिहरुको प्रत्यक्ष परोक्ष सहारा लिइरहेका छन् ती पनि विवादग्रस्त नै छन् । नेपालमा जन्मे हुर्केर यहीँ करिअर बनाए पनि लामिछानेको पछिल्लो नागरिकताको कानुनी हैसियत भने अमेरिकी देखिन्छ ।

लोकतान्त्रिक प्रतिस्पर्धामा जाने उम्मेदवारको कानुनी सफाइ, नैतिक आर्थिक पक्ष बेदाग हुनुपर्ने हुन्छ । तर जिउँदै इँटाभट्टामा मान्छे पोल्ने, जेलबाटै आपराधिक गिरोह चलाउनेजस्ता क्रियाकलापमा संलग्नहरुले समेत मानभाउ पाइरहेका बेला लामिछानेसँग जोडिएका यस्ता प्रश्नउपर आम नागरिक जान चाहेको देखिँदैन । जवाफदेहीविहीन जनप्रतिनिधि, अनि अधैर्य नागरिकहरुको आपसी द्वन्द्वमा लामिछानेले खेल्न खोजेका छन् ।

रवि–राप्रपा सम्बन्ध

चितवन २ मा लामिछाने जुन पृष्ठभूमिमा आए, यसको पनि विवादास्पद सन्दर्भ भेटिन्छ । उनी खासमा उठ्न चाहन्थे चितवन ३ मा, जहाँ माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अघिल्लो चुनाव जितेका थिए । स्थानीय सूत्रहरुका अनुसार प्रचण्डसँग लड्ने तयारी गर्दै गरेका राप्रपा उम्मेदवार तथा ठेकेदार विक्रम पाण्डेले रविलाई उक्त क्षेत्रमा नआएर सहयोग गरेमा चितवन २ मा उनलाई सघाउने बचन दिएका थिए । कांग्रेसका बागी दिनेश कोइरालालाई एमालेले सघाउने भित्री तयारी, अनि रविसमेतको सम्भावित प्रवेशले अत्ताल्लिएका प्रचण्ड गोरखा सरे । विक्रमले हाल परोक्ष रुपमा रविलाई सघाइरहेको प्रचार विपक्षीले चलाइरहेका छन् ।

यसो हुनुमा रविको पारिवारिक पृष्ठभूमिले निर्णायक काम गरेको छ । रविपत्नी निकिता पौडेलका बुवा उद्धव पौडेल राप्रपाका नेता हुन् । विक्रमले आफ्ना साथी तथा नेता पौडेलमार्फत रविसँग उक्त संवाद गरेको चितवनका स्थानीय राजनीतिक स्रोतहरु प्रष्ट दाबी गर्छन् ।

रविले भने यस्ता प्रचारहरुको जवाफ दिने प्रयास गरेका छैनन् । उनले एउटै तर्क पटक–पटक दोहोर्याए, ‘तपाईंहरु जुनै दलको सदस्य बनेपनि हुन्छ, एकपल्ट भोट हामीलाई दिनुहोस् । भोट हालेर जिताएकाहरुबाट कहिल्यै केही पाउनुभएको छैन, तै पनि कहिलेसम्म आफैंले आफैंलाई ठगिराख्नुहुन्छ ?’

उनले उठाएका उम्मेदवारहरु बलियो पृष्ठभूमिका, कतिपय अति महत्वाकांक्षी पनि देखिन्छन् । तोसिमा कार्की, सोबिता गौतम, विराजभक्त श्रेष्ठजस्ता उम्मेदवारहरुमा आफ्नै किसिमको सार्वजनिक अपिल देखिन्छ । कतिपय उम्मेदवार चाहिं कच्चा अनि रातारात प्रसिद्धिको लोभमा कुदेका देखिन्छन् । चितवनको स्थानीय परिवेश भने यी समग्र विषयको गहिराइमा छिर्न तत्काललाई तयार छैन ।

देशका जुनसुकै भूभाग पुगे पनि रविप्रति जुन जबर्जस्त क्रेज निर्माण हुन गएको छ, त्यसलाई उनले राजनीतिक सोचमा ढाल्न सक्नेमा आशा र आशंका दुवै गर्न सकिन्छ । आखिरमा हालका स्थापित दलहरुले सुरुका दिनमा बोलेका भाषाहरु यस्तै जनोत्तेजक अव्यावहारिक, अनि अदूरदर्शी खालका समेत थिए । समयले सिकाउँदै लैजान्छ भन्ने कुरा रविको हकमा लागु हुन्छ कि हुँदैन भन्ने कुरा भने परीक्षणमा छ ।

विरोधाभास विनाको मान्छे पाउन कठिन हुन्छ । यो तथ्य दलहरुका हकमा पनि लागू हुन्छ । एकातिर रवि माग्दैछन् निर्दलीय राष्ट्रपति, अनि दलीय आधारमा स्थानीय तह । निर्बलियो प्रदेश, तर बलियो जिल्ला तह । अरु पनि यस्ता सूची बनाउन सकिन्छ, जसले उनी वास्तवमा के गर्न चाहन्छन् भनी प्रश्नैप्रश्न उब्जाउँछन् । कांग्रेस र कम्युनिस्टका नाममा वर्षौं अपरिपक्व कार्यनीतिको दुष्परिणाम भोगेर आएका मतदाताले रविमा एकैदिन परिपक्वता र प्रष्टताको अपेक्षा गर्नु भने बढ्ता हुन्छ ।

तस्बिर : शंकर गिरी/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?