 
																			२५ कात्तिक, भरतपुर (चितवन) । बिहीबार अपराह्न ४ बजेतिर भरतपुर महानगरपालिका–२, आँपटारीको मूल सडक आडको गल्लीमा पोलिटिकल र्याप घन्कियो ।
‘शहर शहरमा ओली,
झुपडी र महलमा ओली
ठाउँ ठाउँमा ओली…’
गाडीमा राखिएको स्पिकरले मात्र ‘मंसिर ४, ओली सरकार’ भन्दै र्याप घन्काएन । भिडको अघिल्तिर हिँड्दै गरेका नेकपा एमालेका उम्मेदवार कृष्णभक्त पोखरेलसहित एमाले कार्यकर्ताले पनि ओलीको नाम लिँदै भोट मागे ।
‘सूर्यको जित छ, भोलि
आउँदैछन् केपी ओली’
स्पिकरको चर्को ध्वनिबीच एमाले उम्मेदवार पोखरेल दुई वृद्ध भएको घर अगाडि टक्क अडिन्छन् । श्रद्धापूर्वक नमस्कार गर्दै भन्छन्, ‘दाइ, सूर्यमा है भोट ।’ कपडा टक्टक्याउँदै उभिएका वृद्ध मुन्टो हल्लाउँछन् । बोल्दैनन् ।
पोखरेल अघि बढ्ने वित्तिकै एमाले चितवन जिल्ला कमिटी सदस्य देव पाठक आइपुग्छन् । ‘ल है सूर्यमा भोट, केपी ओलीलाई प्रधानमन्त्री बनाउनुपर्छ’, पाठकले भने, ‘अरुलाई दिएर दुईजना सांसद भएर केही हुँदैन । केपीलाई बनायो भने परिवर्तन हुन्छ ।’
वृद्ध चुपचाप हेरिरहन्छन् । कार्यकर्ता नारा लगाउँछन्, ‘नेकपा एमाले जिन्दावाद ।’
‘दाइ, याँ घरभित्रै जानुपर्छ’, एक कार्यकर्ताले पोखरेललाई अनुरोध गरे । उनीभित्र जान खोज्दा एकजना महिला बाहिर निस्किइन् ।
‘ल है दिदी, भोट दिनुपर्यो’, उनले बोलिनसक्दै जवाफ आयो, ‘हजुरलाई नै त हो, सधैं दिने ।’ पोखरेल र अरु कार्यकर्ता ओलीको नाम लिँदै प्रधानमन्त्री बनाउनुपर्ने बताउन थाले ।
केहिबेरपछि भएको सभामा पनि पोखरेलले अहिलेको चुनाव नै केपी ओली कि शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने भन्ने विषयको भएको बताउँदै एमालेका घोषणा पत्रमा उल्लेखित वाचाहरु दोहोर्याए ।

ओलीलाई प्रधानमन्त्री बनाउने गरी आफूलाई भोट दिन आग्रह गर्ने पोखरेल स्वयं चाहिँ विगतमा पार्टीभित्र माधव नेपाल खेमाका नेताका रुपमा चिनिन्थे । नेपालले पार्टी विभाजन गरेर जाँदा चाहिँ पोखरेलले ओलीलाई साथ दिए ।
लामा टोलबाट ओरालो जाँदै गर्दा उनले पसल–पसल छिरेर पनि आफूलाई भोट मागिरहे । सकेसम्म नजिकै गएर दुई हात जोडिरहे ।
‘दाइ नमस्कार, आराम हुनुहुन्छ ?’
चिया पसलमा बसेका एक वृद्धलाई पोखरेलले भोट मागे ।
‘यसपालि मात्रै हो र ? सधैं सूर्यलाई नै त हाल्ने हो नि’, उनले जवाफ फर्काए । नजिकै रहेका एक युवाले चाहिँ जिस्क्याए, ‘१० वर्ष त भोटै खेर गएछ नि, खोइ टोलमा के प्रगति भयो ?’
चुनावी टोली अघि बढेपछि अनलाइनखबरसँग कुरा गर्दै मतदाता धर्मलाल विश्वकर्माले लामो समयदेखि सूर्यमा नै मत दिँदै आएकाले पोखरेललाई नै दिने बताए ।
भत्ता बढाउने आश्वासन
पोखरेल अर्को घरतिर छिर्न मात्र के लागेका थिए । कार्यकर्ताले रोकिहाले । ‘दाइ, याँ चार÷पाँच भोट छ’, सुन्नेवित्तिकै पोखरेल फरक्क फर्किए ।
‘ल हजुर, भत्ता दिने माननीय आउनु भएको छ है’, कार्यकर्ताले पोखरेलको परिचय गराए । उनले पनि थपिहाले, ‘भत्ता दिने पार्टी यही हो है । मनमोहनको पार्टी ।’

अगाडि बसेका वृद्धहरु फिस्स हाँसे । पोखरेलले ‘सूर्य है’ भनेपछि मुन्टो हल्लाए । फर्किने बेला फेरि आश्वासन दिए, ‘सूर्यलाई भोट हाल्नुस् है, भत्ता बढ्छ ।’
पोखरेल अघिल्तिर रहेको घरको गेटतिर पनि छिरे । एकजना महिला अलमलिँदै निस्किइन् ।
‘ल है सूर्यमा मतदान है,’ पोखरेल बोले ।
उनले सुकुम्वासीलाई धनीपूर्जा दिने कानून लेख्ने व्यक्ति आफू नै भएको बताउँदै भोट मागे । कानून, न्याय तथा मानवअधिकार समितिमा पोखरेल सभापति हुँदा भूमिसम्बन्धी ऐन आएको थियो । ‘एमाले हजुरहरुको प्यारो पार्टी हो’, उनले भने, ‘त्यही भएर लालपूर्जा पाउनु भएको हो ।’
पोखरेल निस्किएपछि चाहिँ पार्वती नेपालले विगतमा हसियाँ हथौडामा भोट हालेको बताइन् । ‘यसपालि चाहिँ कसलाई दिने थाहा छैन’, उनले भनिन्, ‘गठबन्धन छ, कांग्रेसलाई नै दिनुपर्छ भन्छन् ।’
चुनावी टोली अघि बढ्दै थियो । ‘नेताज्यूको भाषण सुन्नुपर्यो, आउनुस् है रामजी,’ भीडमा कार्यकर्ता फुस्फुसाए । थप दुईजना पनि भिडमा मिसिए ।
सभामा पुग्नै लाग्दा पोखरेलले ७७ वर्षीय फूलमाया तामाङलाई नमस्कार गर्दै भोट मागे । उनीले आर्शिवाद दिइन् । अनलाइनखबरसँग कुरा गर्दै उनले अहिलेसम्म सबै चुनावमा एमालेलाई नै भोट दिएको बताइन् ।
सभामा बोल्दै पोखरेलले विपक्षीलाई आफूलाई १० वर्ष सांसद भएर पनि के गरे भन्ने आरोप लगाएको बताए । ‘गठबन्धनको चाहिँ नयाँ मान्छे हो ? १० वर्ष समानुपातिक सांसद भएर चाहिँ के–के भएको छ ? एकपटक सोध्नुस्’, पोखरेलले भने, ‘राज्यमन्त्री भएर पनि के गरे सोध्नुुस् ।’
उनले खानेपानी, गुम्बा, मदनकृष्ण हरिवंशको स्कुललाई सांसद विकास कोषबाट सहयोग गर्नेदेखि लिएर सांसदले गर्नसक्ने सबै काम गरेको बताए ।
तस्वीहरुः शंकर गिरी/अनलाइनखबर
 
                









 
                     
                                 
 
 
 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4