+
+

उमेश श्रेष्ठको चुनावी यात्राका दुई तगारा

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक २५ गते ८:३२

२५ कात्तिक, काठमाडौं । चितवन क्षेत्र नं. २ मा गठबन्धनबाट उम्मेदवार बनेका उमेश श्रेष्ठ बिहीबार दिनभर भरतपुर ११ का विभिन्न ठाउँका घरदैलो भेटिए । भरतपुर ११ क्षेत्र नं. २ कै सबैभन्दा धेरै १४ हजारभन्दा बढी मतदाता वडा हो । त्यसकारण पनि उमेशले यसलाई विषेश महत्व दिंदै आएका छन् ।

२०७४ र २०७९ को स्थानीय तहको निर्वाचनमा एमालेले यो वडामा लगातार जित्दै आएको छ । गत स्थानीय तहको निर्वाचनमा कांग्रेसले माओवादीलाई छाडेको वडा भएकाले श्रेष्ठले यसलाई प्राथमिकतामा राखेको कांग्रेसकै एक नेताले बताए ।

चुनावी कार्यक्रमलाई भोजाड चोकमा केन्द्रित गर्ने तयारीका लागि मञ्चसहित बनाएको सवारी चोकमा राखियो । नजिकै रहेको सामुदायिक वन क्षेत्रको एक छेउमा बिहानभर घरदैलोमा उपस्थित भएका कार्यकर्तालाई खाना खुवाउने कार्यक्रममा उम्मेदवार श्रेष्ठ पनि सहभागी भए ।

खाना खाएपछि चोकमा गर्ने भनिएको कार्यक्रममा खासै स्थानीय मानिसहरुको उपस्थिति नभएपछि कार्यक्रम लामा टोल नजिकै सारियो । सवारीको लावालस्कर, ठूलठूला आवाजमा गीतसहित उम्मेदवारलाई मत मागेका सामग्रीहरु बजाउँदासमेत मानिसहरुको ठूलो चहलपहल भने थिएन ।

भोजाड चोक नजिकै घर भएकी एक महिलाले आफ्नोमा मत माग्न दलहरु खासै नआएको बताइन् । ‘यो टोलमा खासै मत माग्न आएका छैनन्, जसले जिते पनि हामीलाई खासै मतलव पनि भएन,’ उनले भनिन् ।

भरतपुर महानगरपालिका वडा नं. ५ घर भएका श्रेष्ठले चितवनमा निजी विद्यालय, होटल, फर्म हाउस र अस्पतालमा लगानी गरेका छन् । ३२ वर्षदेखि चितवनसँग जोडिएको बताउने श्रेष्ठ यसपटक प्रत्यक्षबाट चुनाव लडेर जित्न चाहन्छन् । तर, दुईपटकसम्म प्रत्यक्ष निर्वाचन लडेर जितेका एमालेका कृष्णभक्त पोखरेल र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको चुनौतीको सामना गरेर जित निकाल्नुपर्ने अवस्थामा छन्, श्रेष्ठ ।

उम्मेदवारीका विषयमा कांग्रेस भित्रको किचलो कारणले उठ्न नसकेको गठबन्धनको चुनावी अभियान पछिल्ला दिनमा अलि बढ्दै गएको देखिएको छ । विभिन्न भेला, अन्तर्क्रिया, वडावडामा कार्यालयहरु खोलेर गठबन्धनले चुनावी कार्यक्रमलाई तीव्रता दिएको श्रेष्ठ बताउँछन् ।

‘हाम्रो अभियानले गति लिएको छ, पहिलाको जस्तो अवस्था छैन, पार्टी भित्र १० दिन यतादेखि एक ढिक्का छौं,’ श्रेष्ठले भने, ‘म न्यूट्रल किसिमको मानिस भएकाले सबैको साथ र सहयोग हुनेमा आशावादी छु, कांग्रेसको जित सुनिश्चित छ ।’

कांग्रेस नेतामा असन्तुष्टी र स्वतन्त्र पार्टीको चुनाैती

श्रेष्ठले कांग्रेस एकढिक्का भएको बताए पनि जिल्लाका कतिपय नेताहरू अझै पनि खुलेर श्रेष्ठको पक्षमा लागेको देखिदैन । क्षेत्र नं. २ मा घर भए पनि खासमा श्रेष्ठ क्षेत्र नं. ३ लाई आधार बनाएर राजनीति गर्दै आएका थिए । तर, क्षेत्र नं. ३ मा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड उठ्ने भएपछि श्रेष्ठले क्षेत्र नं. १ वा २ बाट उठ्ने इच्छा राखे ।

क्षेत्र नं. २ मा पार्टीका जिल्ला सभापति राजेश्वर खनाल र पूर्व सभापति जीतनारायण श्रेष्ठ आंकाक्षी भएकाले उनीहरू सकभर उमेशलाई यहाँबाट पन्छाउन चाहन्थे । तर, प्रधानमन्त्री शेरबहादुर देउवाका प्रिय पात्र श्रेष्ठले टिकट ल्याएपछि उनीहरुको चित्त त्यति बुझेको छैन ।

अर्कोतिर, तत्कालिन पार्टी सभापति सुशील कोइरालाको विरुद्धमा बागी उम्मेदवार दिएर कारबाही भोगेका पूर्व जिल्ला सभापति विकास कोइरालाले केही दिन अगाडि गरेको चियापान तथा शुभकामना कार्यक्रम र जिल्ला पार्टी सभापति राजेश्वर खनालले कोइराला पार्टीको पूर्व सभापतिसमेत नभएको विज्ञप्ती जारी गरेपछि कांग्रेसको विवाद छताछुल्ल भएर पोखिएको थियो । यसलाई सम्हाल्न अझै पनि नसकिरहेको अवस्था छ ।

कांग्रेस भित्र नै विवाद देखिएपछि गठबन्धनका अन्य घटक माओवादी केन्द्र र एकीकृत समाजवादीलाई समेत त्यसको प्रभावले छुने नै भयो । सोही कारण पनि श्रेष्ठको घरदैलो त्यति उत्साहप्रद हुन सकेको छैन ।

घरदैलोमा नै भेटिएका एक जना कांग्रेस कार्यकर्ता पार्टी भित्रको विवाद र कांग्रेसकै कतिपय मतदाता स्वतन्त्र पार्टीको पक्षमा लाग्दा जित निकाल्न चुनौती देख्छन् । उम्मेदवार श्रेष्ठ भने काम गरेर नै आएको र जनताले जिताउनेमा आशावादी देखिन्छन् । उनी भन्छन्, ‘जीवनमा मैले अहिलेसम्म हारेको छैन, काम गर्नका लागि नै आउने हो ।’ उमेश श्रेष्ठले अहिलेसम्म आफ्नो प्रतिस्पर्धी को हो भनेर नभन्ने तर जनताले नै त्यसको निर्क्यौल गर्ने बताए ।

चुनावी प्रसारप्रसारका क्रममा कुनै पनि उम्मेदवारको बारेमा खरो टिप्पणी गर्ने स्वभाव उनको छैन । ‘म कसैको पनि विरोधी हैन, जनताले नै प्रतिस्पर्धी छानुन्,’ श्रेष्ठले भने, ‘कृष्णभक्त जीले १० वर्षमा केके गर्नुभयो, त्यो जनताले भन्ने हो, उहाँको विरोधी हैन, कसलाई ल्याउँदा फाइदा/बेफाइदा के छ जनताले भन्ने कुरा हो ।’

स्वतन्त्र पार्टीको अभियानले कांग्रेसकै मत काटिने हो की भन्ने चिन्ता उम्मेदवार श्रेष्ठलाई परेको छ । काठमाडौं जनमैत्री अस्पतालमा कोरोना कालका बेलामा रवि लामिछानेसँग सहकार्य गरेका श्रेष्ठ चितवन २ को लामिछानेको उम्मेदवारीले असहज महसुस गरेको उनी निकटका ब्यक्तिहरु बताउँछन् ।

श्रेष्ठ अन्तिम समयमा जति पनि रकम खर्च गरेर चुनावको नतिजा आफ्नो पक्षमा पार्न सक्ने खुबी आर्थिक हैसियतले पनि राख्छन् तर, उनका प्रतिस्पर्धी पोखरेल र लामिछानेका लागि भने त्यो सुविधा नहुने सक्छ ।

जनताको बीचमा जाँदा फ्रस्टेसन पाएको अनुभूति गरेको उनले बताए । महिला र युवाहरुमा त्यसको लेभल बढी पाएको श्रेष्ठ बताउँछन् ।

चितवनबाट दुईपटकसम्म समानुपातिक सांसद भए पनि श्रेष्ठ क्षेत्र नं. २ का लागि नयाँ उम्मेदवार हुन् ।

इच्छाकामनाको फिस्लिङ्गदेखि उपरदाङ्गगढी, चेपाङ्ग क्षेत्र सिद्धीदेखि भरतपुरको सुगम क्षेत्र यही निर्वाचनमा पर्छ । भूगोल अनुसार यहाँका समस्या पनि अलग–अलग छन् । कतै विकासका न्यूनतम आवश्यकताको खाँचो छ भने भरतपुर लगायतका क्षेत्रमा सुविधाहरुको बढोत्तरीको खाँचो छ ।

पहिलोपटक प्रत्यक्ष निर्वाचन लडेका श्रेष्ठले चितवनलाई शिक्षा र स्वास्थ्यको केन्द्र बनाउने चुनावी एजेण्डालाई प्राथमिकतामा राखेका छन् । प्रादेशिक विश्वविद्यालय स्थापना, सुकुम्वासी समस्याको समाधान गर्ने, भरतपुरमा व्यवस्थित वस्ती विकासको गुरुयोजना तयार पारेर वस्ती विकासको पहिलो नमूना परियोजना सञ्चालन गर्ने, प्रत्येक पालिकामा न्यूनतम एक व्यावसायिक तथा प्राविधिक विद्यालय स्थापना गर्ने, नारायणी नदी माथि अर्को पुल बनाउने, भरतपुर विमानस्थल विस्तार गर्ने लगायतका एजेण्डा अघि सारेका छन् । विषेश गरी शिक्षा र स्वास्थ्य क्षेत्रमा निजी लगानी गर्दै आएका श्रेष्ठका सरकारी शिक्षा र स्वास्थ्यका क्षेत्रमा निःशुल्क गराउने नारा दिएका छन् ।

तस्वीर : शंकर गिरी/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?