+
+

फिलिपिन्सतर्फ प्रस्थान गरिन् सरिशा, भन्छिन्- जित्ने मनोबल लिएर मिस अर्थमा जाँदैछु

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक २५ गते १३:५९

काठमाडौं । मिस नेपाल अर्थ सरिशा श्रेष्ठ अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा भाग लिन शुक्रबार फिलिपिन्सको राजधानी मनिलातर्फ प्रस्थान गरेकी छन् । नोभेम्बर २९ मा मनिलामा हुने मिस अर्थको फिनालेसहित अन्य प्रतिस्पर्धामा सरिशाले नेपालको प्रतिनिधित्व गर्नेछिन् ।

त्यसतर्फ प्रस्थान गर्नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अनलाइनखबरसँग कुरा गर्दै उनले जित्ने मनोबल लिएर आफू जान लागेको बताइन् ।

विमानस्थलमा मिस नेपाल आयोजक संस्था द हिडन ट्रेजरका अध्यक्ष दिवाकर राजकर्णिकार, निर्देशकहरु प्रमोद कंसाकार र सुवर्ण क्षेत्रीले सरिशालाई शुभकामना दिए ।

सरिशासँग गरिएको संक्षिप्त संवाद :

देशको प्रतिनिधित्व गरेर अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा जाँदा कस्तो महसुस भइरहेको छ ?

म चाहिं विजयी हुने मनोभावले जाँदैछु । किनभने हारजित भनेको बाहिरी सोचमा निर्भर गर्छ । एकदमै आशावादी र सकारात्मक छु । त्यहाँ पुगेर आफूले सकेको दिन्छु । भागवद् गीतामा पनि भनिएको छ– कर्म गर्दै गर, फलको आशा नगर । मेरो कर्म चाहिं राम्रोसँग गर्छु ।

अहिलेसम्म केही सबटाइटल भर्चुअल रुपमा भइसकेको छ । अब मनिलामा पुगेर कुन–कुन प्रतिस्पर्धा हुँदैछ ?

सेमिफाइनल छनोटको लागि भनेर तीनवटा राउण्ड भर्चुअल रुपमा भइसकेको छ । नेपालले एकदमै राम्रो प्रस्तुति दिएको छ । इन्टिलिजेन्ट, ब्युटी अफ फेस र फिटनेस एण्ड फाउनमा राम्रो गरेका छौं । भर्खरै रिलिज भएको इको भिडियो पनि युट्युबमा छ । धेरै लाइक, सेयर र कमेन्ट गरेर नेपाललाई सहयोग पनि गर्नुहोला । यसले सेमिफाइनल प्रवेशमा मद्दत पुर्‍याउँछ ।

ट्यालेन्ट राउण्ड, स्विमवेयर, लङ गाउन लगायतका प्रतिस्पर्धा अब हुँदैछन् । भइसकेका तीनवटा प्रारम्भिक प्रतिस्पर्धामा हामी फिलिपिन्समा पुगेपछि त्यहाँका फिलिपिनो र मिडियासँग कसरी व्यवहार देखाउनुहुन्छ भनेर मूल्यांकनपछि विजेता घोषणा गर्ने भनिएको छ ।

यसपटक नेपालले कस्तो वातावरणीय मुद्दा प्रस्तुत गर्नेछ ?

यसपटक मेरो प्रोजेक्टको थिम चाहिं ग्रीन माइण्ड भन्ने छ । हामीले फोहोरमैलाको दिगो व्यवस्थापन कसरी गर्ने भन्ने कुरामा प्रोजेक्ट गरेका छौं । यसमा दुई भाग छन् । पहिलो भागमा स्कुलमा हामीले वृक्षारोपण परियोजना गरेका थियौं । स्कुलको बगैंचामा कसरी कुहिने फोहोरबाट कम्पोस्ट मल बनाउने र त्यसलाई बगैंचामा कसरी प्रयोग गर्न सकिन्छ भन्नेबारेमा सिकाएका थियौं ।

नकुहिने फोहोरलाई त्यही गार्डेनमा कसरी गाडेर व्यवस्थित गर्न सकिन्छ भन्नेबारे सिकायौं । दोस्रो भागमा हामीले सिसडोल डम्पिङ साइट छेउछाउका बासिन्दाको पीडालाई दर्शाउन खोजेका छौं । त्यहाँ बस्ने बासिन्दा प्रायः श्रमिक हुनुहुन्छ । मैले त्यहाँ स्वास्थ्य शिविर पनि चलाएकी थिएँ । त्यहाँको स्वास्थ्य अवस्थालाई समेटेका छौं ।

नेपाली शुभचिन्तकलाई के भन्न चाहनुहुन्छ ?

मैले दिनरात खटेर नै मेहनत गरेको छु । आफ्नो तर्फबाट म कर्म त गर्नेछु तर फल भनेको भाग्यमा पनि निर्भर हुन्छ । यसका लागि यहाँहरुको माया, सहयोग र प्रोत्साहन पनि जरुरी हुन्छ । किनभने मैले त्यहाँ गएर डाक्टर सरिशा भनेर होइन, त्यहाँ मैले आफूलाई नेपाल भनेर चिनाउनेछु । यसकारण यहाँको मायालाई लिएर आशावादी छु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?