+
+

‘इमानदार छु, काम गर्न सक्छु’

ओनसरी घर्ती, नेकपा माओवादी केन्द्र ओनसरी घर्ती, नेकपा माओवादी केन्द्र
२०७९ कात्तिक २७ गते ९:०२

अहिलेसम्मको घरदैलोबाट कस्तो माहोल देख्नुभएको छ ?

घरदैलोमा जनताको स्वागत हेर्दा मलाई एकदम खुसी लागेको छ । म उत्साहित नै छु । जब घरदैलोमा पुग्छु, मेरो विषयमा उहाँहरू आफैंले व्याख्या गर्नुहुन्छ । उहाँहरूले चाहिं ‘तपाईंले गरेको काम र तपाईंबारे हामीलाई थाहा छ, प्रत्यक्ष भेट भएर खुसी लागेको छ’ भन्नुहुन्छ । तपाईंले काम गर्न सक्नुहुन्छ, इमानदार हुनुहुन्छ भन्ने कुरा जनसमुदायले गर्नुभएको छ ।

काठमाडौं-२ का लागि तपाईंका एजेन्डा के हुन् ?

आधारभूत रूपमा खानेपानीको समस्या छ । काठमाडौं-२ का ६४ प्रतिशत जनसमुदाय खानेपानीको पहुँचमा हुनुहुन्न । यस विषयमा प्राथमिकता दिएर काम गर्नुपर्छ भन्ने मैले महसुस गरेकी छु । यसपछि बाटोका कुरा छन् । बागमती र मनोहरा करिडोर र जग्गा एकीकरणका कुरा पनि छन् । जस्तै मैले अहिले देखेको सपना शंखरापुरका लागि सांस्कृतिक ग्राम र कागेश्वरी मनोहराका लागि स्पोर्टस् सिटी हो ।

त्यस्तै सफा सुन्दर र दिगो विकास भएको शहर भनेर जनताले कुरा उठाउनुभएको छ । मैले ट्राफिक व्यवस्थापनको कुरा पनि गरेकी छु । मैले जनताको आधारभूत कुरा विकास निर्माणको सवाल उठाएकी छु भने जनताको कुनै पनि हक कटौती नहुने गरेर कानुन निर्माण गर्न भूमिका खेल्ने प्रतिबद्धता जाहेर गरेकी छु । युवाको रोजगारीका लागि ती सबै काममा युवालाई संलग्न गराउने कुरा पनि मैले गर्दै आएकी छु ।

यो क्षेत्रमा अरू पनि प्रतिस्पर्धी छन्, तपाईंलाई नै मतदाताले किन मत दिने ?

म जनताको पक्षमा कानुन बनाउँछु । महिला प्रतिनिधित्व, प्रोत्साहन र पहुँचका लागि मेरो उम्मेदवारी हो, त्यसकारण मलाई मत दिनुहोस् भन्न चाहन्छु । जनताको विकास निर्माणको पहुँच सरकारसम्म पुर्‍याउने छु भन्ने प्रतिबद्धता जाहेर गरेकी छु । र, मैले माथि भनेका एजेन्डा कार्यान्वयन गर्न मलाई नै मत दिनुहुन्छ जस्तो लाग्छ ।

तपाईंको प्रतिस्पर्धी को हो ?

मतभारको हिसाबले त हामीसँग यो क्षेत्रमा प्रतिस्पर्धी नै छैन भने पनि हुन्छ । तर, नजिकको मतभार कसको छ भन्दा नेकपा एमालेको नै छ । उहाँहरूको मतभारको हिसाबले अहिले नजिकको प्रतिस्पर्धी भनेको नेकपा एमाले नै हो ।

तपाईंले आफ्नो जितको आधार के मान्नुभएको छ ?

सबैभन्दा बढी त जनताको समर्थन नै हो । जनताकै अभिमत हो । घर दैलोमा जाँदा मैले लहर आएको देखेकी छु । जब, मैले उहाँहरूसँग भेटघाट गरें र बाक्लै अन्तरक्रिया गरें, उहाँहरू धेरै नै उत्साहित हुनुहुन्छ । जनताको तहबाटै आएको लहरले गर्दा मैले आफ्नो जितको आधार निश्चित देख्छु । त्यति मात्रै होइन, हामीले गठबन्धनको तर्फबाट शान्ति, स्थिरता र जनताको समृद्धिलाई एजेन्डा बनाएर आएका छौं । र, गठबन्धनको उम्मेदवार भएकाले स्वाभाविक रूपमा मतभार धेरै हुँदा हाम्रो जित सुनिश्चित छ ।

नयाँ उम्मेदवार भन्दै आउनुहुन्छ, जितेर गएपछि फर्किनुहुन्न भन्ने गुनासो मतदातामा रहेछ नि ?

मैले जनसमुदायलाई भनेकी छु, कुनै पनि अवस्थामा म तपाईंसँगै रहन्छु । र, तपाईंहरूको सेवा गरेर अगाडि बढ्छु । तपाईंहरूले मेरो विगत एकपटक हेर्नुहोस् । मैले इमानदारपूर्वक भूमिका खेलें । जस्तो जस्तो भूमिका पर्‍यो, मैले त्यसलाई बोध गरेर निर्वाह गरेकी छु भनेर मैले मतदातासँग अनुरोध गरेकी छु ।

त्यसैले मेरो इमानदारी, मैले विगतदेखि गर्दै आएको काम र अहिले मैले जनतासमक्ष जे जे एजेन्डा उठाएँ, यसलाई उहाँहरूले हेर्नुभएको छ । यो हेरिसकेपछि उहाँहरूले मलाई मौका दिन्छौं, तर तपाईंले हामीसँगै रहेर काम गर्नुपर्छ भन्ने सुझाव दिनुभएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?