+
+

कर्णालीमा ओली : सत्ता गठबन्धनलाई गाली, संसद विघटनको प्रतिरक्षा

यज्ञ खत्री यज्ञ खत्री
२०७९ कात्तिक २७ गते २०:४३

२७ कात्तिक, सुर्खेत । नेकपा एमालेका अध्यक्ष एवं‌ पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले कर्णाली प्रदेशका तीन जिल्लामा आयोजित चुनावी सभालाई आइतबार सम्बोधन गरेका छन् ।

कालीकोटको रास्कोट, दैलेखको जम्बुकाँध र सुर्खेतको वीरेन्द्रनगरमा आयोजित चुनावी सभालाई सम्बोधन गरेका ओलीले अधिकांश समय सत्तारुढ गठबन्धनलाई गाली गर्न र संसद विघटनको प्रतिरक्षामै खर्चिए ।

ओलीले तै ‘हाँडीघोप्टे जस्ताले देश चलाए, प्रतिगमनतिर लगे’ भन्दै गठबन्धन प्रति कटाक्ष गरे भने कतै ‘टालाटुली बटुली कति राम्री कठपुतली’ भन्दै मजाक उडाए । ओली त्यतिमै रोकिएनन्, प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गृहमन्त्री हुँदा १२२ जना सर्वसाधारणको गोली हानेर हत्या गरेको गम्भीर आरोपसमेत लगाए ।

संसद विघटनको प्रतिरक्षा

सुरुमा कालीकोटको रास्कोटमा आयोजित चुनावी सभालाई सम्बोधन गरेका ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डप्रति आक्रेश पोखे । गत मंगलबार रास्कोट पुगेका प्रचण्डले ओलीलाई प्रतिगमनकारी भन्दै, ‘केही दिनपछि केपी ओली यहाँ आउँदैन् भन्ने सुनेको छु, संसद विघटन किन गरेको भनेर सोध्नुहोला’ भनेका थिए ।

आइतबार त्यहाँ पुगेका ओलीले त्यसको जवाफ दिँदै भने, ‘कांग्रेसका पछाडि लागेर रास्कोट आएर प्रतिगमन गर्‍यो रे ? मैले प्रतिगमन गर्ने काम कहिल्यै गरिन ।’ उनले प्रचण्ड दक्षिणपन्थीका शरणमा पुगेपछि ताजा जनादेशका लागि जनतामा जान चाहेको कुरालाई विरोधीले प्रतिगमन भनेको टिप्पणी गरे ।

वीरेन्द्रनगरमा आयोजित सभालाई सम्बोधन गर्दै ओलीले सत्तारुढ गठबन्धनले प्रतिगमन गरेको आरोप लगाए । ‘प्रतिगमन कस्तो हुन्छ देउवा–प्रचण्डजी ? संसदमा सरकार बनाउने र फेर्ने कुरा अदालतमा गएर बनाएको जस्तै हुन्छ ?’ ओलीले भने, ‘जनताको जनआदेशमा जान नदिने कुरा नै प्रतिगमन हो । त्यो तपाईंहरुले गर्नुभयो ।’

प्रचण्डलाई बिचौलियाको संज्ञा

ओलीले माओवादी अध्यक्ष प्रचण्डलाई राजनीतिक बिचौलियाको संज्ञा दिएका छन् । ‘प्रचण्डले म जता गयो उतै सरकार बन्छ भनेको सुन्छु’, ओलीले भने, ‘प्रचण्डजी, बिचौलियाको जमाना गयो ।

देशलाई दलाल बिचौलिया हैन, देश बनाउने दृढ संकल्प भएको मान्छे चाहिएको छ । त्यो म हो ।’
गत साता कालीकोटमा पुगेका प्रचण्डले महेन्द्रबहादुर शाहीलाई प्रतिनिधिसभामा जिताएर पठाए मन्त्री बनाउने आश्वासन दिएका थिए ।

आइतबार कालीकोट पुगेका ओलीले प्रचण्डले जसलाई पनि मन्त्री बनाउँछु भनेर अव्यवहारिक कुरा गर्दै हिँडेको टिप्पणी गरे । ‘केही मानिसहरू जहाँ पुग्यो त्यहीँको मानिसलाई मन्त्री बनाउँछु भनिरहेका छन् । हरिबहादुर भेटियो मन्त्री बनाउँछु । रामबहादुर भेटियो उसलाई मन्त्री बनाउँछु’ प्रचण्डप्रति लक्षित गर्दै ओलीले भने, ‘जो देखियो मन्त्री बनाउँछु भन्दै हिँड्नु अव्यवहारिक र अनुचित तरिका हो ।’

गठबन्धन स्याल र एमालेलाई सिंहको संज्ञा

सुर्खेत वीरेन्द्रनगरसभामा ओलीले सत्तारुढ गठबन्धनलाई स्याल र एमालेलाई सिंहको संज्ञा दिए । उनले देशी विदेशी शक्ति मिलेर एमालेलाई कमजोर पार्ने प्रयास गरिएको तर एमाले कमजोर नहुने दावी गरे ।

‘देशी विदेशी प्रतिक्रियावादी शक्ति मिलेर एमालेविरुद्ध घेराबन्दी गरिरहेका छन् । सय वटा स्यालले पनि एउटा सिंहलाई घेरावन्दी गर्न सक्दैन’, ओलीले भने । उनले ५ पटक प्रधानमन्त्री भएर देउवाले देशका लागि एउटा काम के गर्नुभो भनेर प्रश्न गरे ।

‘शेरबहादुरजीलाई म सोध्न चाहन्छु, पाँच पटक देशको प्रधानमन्त्री भएर के गर्नुभयो ? एउटा काम बताइदिनुस् त । तपाई उभिएका ठाउँबाट दायाँबायाँ, अगाडि र पछाडि हेर्नुस्, एमालेले गरेका काम देख्नुहुन्छ’, उनले भने ।

सत्ता गठबन्धनभित्रका दलहरूले छुट्टाछुट्टै घोषणापत्र ल्याएर जनता अल्मल्याएको बताए । ‘गठबन्धनले बनाएको घोषणापत्र आ–आफ्नै छ । यदि जितेको खण्डमा कसको घोषणापत्र लागु गरेर सरकार चलाउँछन् ?’, ओलीले प्रश्न गरे, ‘त्यसैले एमालेको एउटै अभियानमा साथ दिनुहोस्, सुदृढ राष्ट्रिय शक्ति चाहिएको छ, त्यो एमालेले गर्छ ।’

दैलेखको जम्बुकाँधमा ओलीलाई कार्यकर्ताले ‘भीम रावल खै’ भन्दै प्रश्न गरे । भीम रावलको नाम लिनेहरुलाई ओलीले अछाम गएर खोज्न सुझाए । उनले भने ‘चुप लागेर बस्नुस् । भीम रावलको माया लाग्या भए अछाम त्यहीँ पारिपट्टि छ, जानुस् ।’

ओलीले पराजित कर्णालीमा पराजित मानसिकता देखाएको राजनीतिक विश्लेषक कमलेश डिसीले बताए । ‘उनले कर्णालीमा जुन कुरा व्यक्त गरे त्यो यहाँको भूगोल, यहाँको विकास, यहाँका स्थानीयको आकांक्षालाई सम्बोधन गर्ने खालको देखिएन । खाली राजनीतिक पूर्वाग्रह, गठबन्धनप्रतिको आक्रोशमात्रै पोखेको पाइयो’ उनले भने ।

लेखकको बारेमा
यज्ञ खत्री

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?