+
+

सहकारीको सन्दर्भ ब्याजदरलाई स्वचालित बनाउन महासंघको माग

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक २८ गते १५:१८

२८ कात्तिक, काठमाडौं । राष्ट्रिय सहकारी महासंघले सहकारीको सन्दर्भ ब्याजदरलाई बजार अनुरुप स्वचालित रुपमा निर्धारण हुने व्यवस्था गर्न माग गरेको छ । सोमबार महासंघले एक विज्ञप्ति जारी गर्दै वित्त बजारमा ब्याजदरमा उतारचढाब आउँदा सहकारी संस्थाका लागि क्यापिंगका रूपमा निर्धारण भएको सन्दर्भ ब्याजदरले प्रतिकुल अवस्था सिर्जना गरेको भन्दै महासंघले स्वचालित बनाउन माग गरेको छ ।

कोभिड-१९ महामारी, रूस–युक्रेन युद्ध, असन्तुलित व्यापार घाटा, उच्च मूल्यवृद्धिका कारण समग्र अर्थतन्त्रमा परेको असरबाट सहकारी क्षेत्र पनि प्रभावित भएको विज्ञप्तिमा उल्लेख छ । जसका कारण सदस्यहरूमा लगानी भएको सावाँ व्याज असुलीमा समस्या भएर सहकारी संघ/संस्थाको भुक्तानी सन्तुलन प्रभावित भएको महासंघका अध्यक्ष मनिराज कँडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

सन्दर्भ ब्याजदरलाई तत्काल पुनरावलोकन गर्नका लागि महासंघले पटक–पटक अभियानको तर्फबाट सुझाव पठाउँदै आएपनि हालसम्म सन्दर्भ ब्याजदर पुनरावलोकन नहुनु दुःखद् भएको महासंघले उल्लेख गरेको छ ।

‘तत्काल सन्दर्भ ब्याजदर पुनरावलोकनका साथै उक्त सन्दर्भ ब्याजदरलाई क्यापिंगको रूपमा नभई बजार अनुरुप स्वचालित रुपमा ब्याजदर निर्धारण हुने कानूनी व्यवस्था मिलाउन नेपाल सरकार, भूमि व्यवस्था सहकारी तथा गरीवी निवारण मन्त्रालय समक्ष जोडदार माग गर्दछौं,’ विज्ञप्तीमा भनिएको छ । सहकारी संघ/संस्थाको वित्तीय जोखिम न्यूनीकरणका लागि अत्यावश्यक सहकारी कर्जा सूचना केन्द्र, वचत तथा कर्जा सुरक्षण कोषको स्थापना तथा कर्जा असुली न्यायधीकरण तत्काल गठान गर्न महासंघले माग गरेको छ ।

‘वित्तीय अनुसासनका अभावले केही संस्थामा देखिएको समस्यालाई लिएर समग्र सहकारी अभियानप्रति नै अविश्वास सिर्जना गर्ने कार्यप्रति महासंघको गम्भीर ध्यानाकर्षण भएको छ,’ महासंघले भनेको छ, ‘समग्र अर्थतन्त्रमा आएको यस प्रतिकूल अवस्थालाई ध्यान दिई संस्था सु–सञ्चालनमा जिल्ला, प्रदेश तथा विषयगत केन्द्रीय संघहरू, राष्ट्रिय सहकारी बैंक तथा यस महासंघ क्रियाशिल रहेको छन् । निर्धक्कका साथ कारोबार गर्नहुन आमसहकारीकर्मीहरूमा हार्दिक अपिल गर्दछौं ।’

महासंघले सहकारी संघ/संस्थाहरूलाई पनि आफ्नो सदस्यहरूसँग नियमित सम्पर्क तथा समन्वय गरी सेवा प्रवाह गर्न, वित्तीय सुशासन कायम गर्न, जोखिम विश्लेषण गरेर कारोबार गर्न आह्वान गरेको छ । सामान्य अवस्थामा भन्दा अधिक तरलता कायम राख्न, खर्चमा मितव्ययिता अपनाउन तथा खराब कर्जा असुलीमा विशेष ध्यान दिन समेत महासंघले आह्वान गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?