+
+

चितवनमा ओली : रवि लामिछानेप्रति नरम, प्रचण्डप्रति गरम

चितवनमा घर बनायो दाइ साइला, गोरखामा बास

सुवास पण्डित सुवास पण्डित
२०७९ कात्तिक २८ गते २०:३१

२८ कात्तिक, चितवन । सत्ता गठबन्धनले २६ कात्तिकमा सभा गरेको गेस्ट हाउस चौरमा सोमबार नेकपा एमालेले चितवनले सोमबार सभा गर्‍यो । सभामा एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीप्रति सहानुभूति देखाए भने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रति भने आक्रोश पोखे ।

उनले सत्ता गठबन्धनको भविष्य, गोरखामा एमाले समर्थकमाथि भएको आक्रमण, मुलकको आर्थिक क्षेत्रमा देखिएको समस्या, एमाले उम्मेदवारलाई किन जिताउने जस्ता विषयमा धारणा राखे । दिउँसो २ बजे सभास्थल पुगेका ओलीले ४० मिनेट सम्वोधन गरे ।

आफ्नो पालामा भएको विकास आयोजनाका बारेमा व्‍याख्या गर्दै ओलीले २७ बर्षदेखि सारङ्गीको र्‍याई र्‍याई गरेर बजाउने गीत जस्तै बनेको मेलम्चीको पानी कडा मेहनतपछि काठमाडौंमा ल्याइछाडेको बताए । हरेक चुनावमा चुनावी नारा बन्ने हुलाकी सडकको काम एमालेले प्राथमकितामा राखेर काम गरेको पनि उनले बताए ।

सत्तारुढ गठबन्धनलाई फुटेका हाँडीका टुक्राहरुको संज्ञा दिएका ओलीले गठबन्धनका नेताहरू म्याद गुज्रेका औषधिजस्तो भएको टिप्पणी गरे ।

अरु दलले घोषणा पत्रका नाममा किताबको खोलमात्रै देखाएको भन्दै ओलीले आफूहरुले हिजो गरेका काम र भोलि सरकार बन्दा गर्ने कामका बारेमा जनतालाई स्पष्ट जानकारी गराएको पनि दावी गरे ।

पाँच बर्ष आफूलाई सरकारको नेतृत्व गर्ने अवसर आए पनि प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल र घनश्याम भूसालहरुकै कारणले काम गर्न नपाएको ओलीको दावी छ । उनले आफ्नो घरमा आगो लगाएर खुसियाली मनाउँदै कांग्रेसका पालीमा बास बस्न पुगेको टिप्पणी गरे ।

आफू प्रधानमन्त्री हुँदा स्रोत सुनिश्चितता गरेका आयोजनाको रकम काटिएको प्रति आक्रोश ब्यक्त गरेका ओलीले भने, ‘एमालेको सरकार हुँदा वृद्धभत्ता बढाउनेदेखि सडक पूर्वाधारमा रकम पुग्ने तर अहिले किन पुगेन, देशमा पैसा कहाँ गयो, डलरको सञ्चिती किन घट्यो ? यो सरकार अलच्छिना छ ।’

चितवनमा घर बनायो दाइसाइला, गोरखामा बास

ओलीले प्रचण्डले चितवनमा घर बनाएर गोरखामा बास बस्न पुगेको टिप्पणी गरे । ओलीले भने, ‘स्याङ्जामा बिजुली दाइसाइला नाउडाँडामा बास भने जस्तै, चितवनमा घर बनाइयो दाइसाइला गोरखामा बास ।’

सम्बोधनको सुरुमा नै ओलीले प्रचण्ड गोरखा गएको प्रति ब्यंग्य गरे । ‘चितवनले केही नगरीकन कसरी भगाइयो, भाग्नेहरु भागिसके जित्नेहरु यहीँ छन्’ उनले भने । प्रचण्ड एक पटकका लागि चुनाव लड्न मात्रै गोरखा पुगेको ओलीले बताए ।

‘भागेको ठाउँ पनि एकपल्ट काम लाग्छ, गोरखामा पनि भोट हालेर जित्ने अवस्था रहेनछ मान्छे कुटेर घाइते बनाउन थाले’, ओलीले भने, ‘यिनीहरुको लोकतन्त्र के रहेछ थाहा भयो, अरु दलका कार्यकर्ताको टाउकोमा बोतल हान्ने यिनीहरुको लोकतन्त्र हो ।’

प्रचण्ड परिवारको घेरा भन्दा बाहिर जान नसकेको बताउँदै ओलीले भने, ‘शहीदका परिवारलाई थाहा छ प्रचण्ड को हुन् । वैशाखी टेकेर हिँडेकाहरुलाई थाहा छ । विस्तारामा छटपटाइरहेकाहरुलाई थाहा छ । गौर हत्याकाण्डका घाइतेहरुलाई सोध्नोस् प्रचण्ड को हुन् ?’

रविप्रति सहानुभूति

चितवनको लेवाटारमा आइतबार राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने सवार गाडीमा आक्रमण भएको थियो । उक्त आक्रमणको दोष सत्तारुढ गठबन्धनमा रहेका दलका कार्यकर्ताप्रति लगाउँदै ओलीले रविप्रति सहानुभूति राखे । चुनाव लड्छु भनेर आएको एउटा युवाको गाडी फुटाउनु अलोकतान्त्रिक चरित्र भएको भन्दै ओलीले कोही उत्साही युवाहरु राजनीतिमा आउँछु भने राम्रो भएको बताए ।

ओलीले सभास्थलको मञ्चतिर संकेत गर्दै भने ‘यहाँ राम्रो डान्सर नचाउनुभयो राम्रो गीतमा भने त्यहाँ (मञ्चको तलतिर) केटाकेटी नाच्न थाल्छन्, डान्सरहरुले आत्तिनुपर्छ, त्यहाँ केटाकेटी नाचे भन्दैमा’ ओलीले प्रश्न गरे, ‘यहाँ (मञ्चमा) कलाकार नाच्ने हो, डान्सर नाच्ने हो, केटाकेटी त्यहाँ (मञ्चको तलतिर) नाचिरहेका हुन्छन् ।

उनले अगाडि भने, ‘कोही कोही उत्साहित भएर छेउतिर नाचिरहेका हुन्छन् । युवाहरु आए राजनीतिमा रुची राखे राम्रो कुरा हो, ४ गतेसम्म कुद्छन् ठीक छ नि ।’ सत्तारुढ गठबन्धनका कार्यकर्ता भने आत्तिएर ढुंगा हानेको ओलीले टिप्पणी गरे ।

राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने चितवन–२ बाट प्रतिनिधिसभामा उम्मेदवार छन् । ओलीले उनको चुनाव चिह्न घन्टीतिर संकेत गर्दै भने, ‘ढ्यांग्रो बजाएको छैन, घन्टी पनि बजाउन नदिने रु अनि ढुंगा हान्न जाने ?’

उनले सत्तारुढ गठबन्धनतर्फ व्यंग्यको शैलीमा भने, ‘दमाहा बजाएको होइन, नरसिंह बजाएको पनि होइन, एउटा घण्टी‘ । कति आत्तिएको ?’

लेखकको बारेमा
सुवास पण्डित

पण्डित अनलाइनखबर डटकमका चितवन संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?