+
+

‘काठमाडौं रोड सेफ्टी फिल्म फेस्टिभल’ माघमा

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक २९ गते ८:५७

२९ कात्तिक, काठमाडौं । ‘काठमाडौं रोड सेफ्टी फिल्म फेस्टिभल’ आगामी माघ २ गते आयोजना हुने भएको छ ।

ग्लोबल एलायन्स अफ एनजीओ फर रोडसेफ्टि, एफआईए फाउन्डेसन र अन्य विभिन्न संस्थाहरुको सहयोगमा नासा फाउन्डेसनले नेपालमा आयोजना गर्ने सो फिल्म फेस्टिभल मार्फत सडक र सवारी सम्बन्धी आधारभूत जानकारी दर्शक सामु प्रस्तुत गर्ने लक्ष्य रहेको बताइएको छ ।

मोटरसाइक्लिङ सेफ्टि मुख्य थिम रहेको सो फिल्म फेस्टिबल इन्टरनेशनल रोड सेफ्टी फिल्म फेस्टिभलमा आबद्द रहेको छ ।

फिल्म फेस्टिभलमा विभिन्न प्रतियोगीहरुले सडक सुरक्षा, सेफ्टी राइडिङ र हेल्मेट तथा भयरहित यात्राको अधिकार सम्बन्धी फिल्म प्रदर्शन गर्नेछन् ।

प्रतियोगीले बढीमा १० मिनेटको फिल्म देखाउन सक्ने छन् ।  जस अन्तर्गत डिसेम्बर ३० भित्र आ-आफ्नो फिल्मको अवधारणा वुझाइसक्नु पर्नेछ भने छनोटमा परेका १० देखि १५ वटा अवधारणालाई प्रक्रियामा सामेल गराइनेछ ।

विभिन्न छलफल, ओरिएन्टेसन र निर्माणको चरण पार गरेका १० वटा फिल्मलाई प्रतिस्पर्धामा समावेश गरिने फेलस्टिभल संयोजक भगवती सेढाइंद्वारा जारी पत्रमा उल्लेख छ ।

अन्तिम दिनमा दरबारमलस्थित दरवार सिनेम्याक्समा फिल्म प्रदर्शन गरिने छ । उक्त फिल्म फेस्टिबलमा यातायातका सरकारी निकाय, ट्राफिक प्रहरी, स्वास्थय र सुरक्षा सम्बन्धी निकायहरु, अटोमोबाइल सम्बन्धी व्यवसायीक प्रतिष्ठानहरु,  स्थानीय निकाय, सरकारी, गैरसरकारी संस्था, राष्ट्रिय अन्तर्राष्ट्रिय संघ संस्था तथा व्यावसायिक संस्थाको समेत सहयोग रहने आयोजकले जनाएको छ ।

सो अवसरमा फिल्म प्रदर्शनसँगै अवार्ड प्रोग्राम, अन्तरक्रिया तथा सडक र सुरक्षा सम्बन्धी विभिन्न विषयमा प्रदर्शनी समेत गरिने छ ।

सन् २०१८ बाट नासा नेपालले सडक सुरक्षाको क्षेत्रमा काठमाडौं रोड सेफ्टी फिल्म फेस्टिबल शुरु गरेको थियो भने २०२० मा दोस्रो फिल्म फेस्टिभल आयोजना गरेको थियो ।

कुल १२ लाख ५० हजार अनुमानित खर्च लाग्ने सो फिल्म फेस्टिभलको लागी इश्वर बल्लभ उप्रेतीको संयोजकत्वमा एक समिति गठन गरीएको आयोजकले जनाएको छ ।

नासा फाउण्डेसन, नेपाल अटोमोबाइल्स एसोसीएसन (नासा नेपाल) को सडक सुरक्षा, मोबीलीटी र कल्याणकारी कार्यको लागि स्थापित संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?