+
+

उपत्यकामा स्वतन्त्र पार्टीका १३ उम्मेदवार : कोही चर्चामा, कोही गुमनाम

सागर चन्द सागर चन्द
२०७९ कात्तिक ३० गते १०:०२

३० कात्तिक, काठमाडौं । स्थानीय चुनावपछि गठन भएको राष्ट्रिय स्वतन्त्र पार्टीले काठमाडौं उपत्यकाका १५ निर्वाचन क्षेत्रमध्ये १३ वटामा उम्मेदवारी दिएको छ ।

अर्थात् काठमाडौं–४ र भक्तपुर–१ बाहेक उपत्यकाका सबै क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीले उम्मेदवारी दिएको छ ।

सञ्चारकर्मी रवि लामिछानेको नेतृत्वमा खुलेको पार्टीले सामाजिक आन्दोलन, विभिन्न पेशा र कर्ममा नाम कमाएका व्यक्तिलाई आफ्नो दलबाट उम्मेदवार बनाएको छ ।

यो पार्टीबाट उम्मेदवार बनेकाहरु कोही चर्चामा छन् त कोही गुमनाम छन् ।

काठमाडौं– १ : पुकार बम

०७० र ०७४ को चुनावमा काठमाडौंबाट लडिसकेका विवेकशील साझा पार्टीका पूर्वसदस्य पुकार बम यतिखेर राष्ट्रिय स्वतन्त्र पार्टीबाट काठमाडौं–१ मा उम्मेदवारी दिएका छन् ।

यो क्षेत्रमा कांग्रेसका प्रकाशमान सिंह, एमालेका किरण पौडेल, राप्रपाबाट रवीन्द्र मिश्र, नेपाल सुशासन पार्टीका रमेश खरेल, विवेकशील साझाका शंकर बन्जाडेसहित ३१ जना उम्मेदवार छन्, जसमध्ये ११ जना स्वतन्त्र उम्मेदवार छन् ।

आम चुनाव घोषणाअघि नै स्वतन्त्र उम्मेदवारी घोषणा गरेका बमले अन्तिममा भने राष्ट्रिय स्वतन्त्र पार्टीको उम्मेदवार बन्ने निर्णय लिए ।

घरदैलो अभियानमा सिने कलाकार रविन्द्र सिंह बानिया, दयाहाङ राई, निर्देशक प्रदीप भट्टराई, निश्चल बस्नेत, र्‍यापर प्रनिल तिमल्सेना लगायतका परिचित अनुहार साथ लिएर हिँडिरहेका बमले आफ्नो चुनावी क्षेत्रमा दोहोर्‍याएर घरदैलो गरिसके । कतिपय क्षेत्रमा त उनी पाँचौ पटक पनि घरदैलो गरिसकेका छन् । त्यसैले उनी भन्छन्, ‘हामीले मतदाताको मन जितिसक्यौं, अब मत जित्छौ ।’

बम ढुक्क सुनिए पनि काठमाडौं–१ मा जित निकाल्न सहज छैन । यो क्षेत्रमा ०६४ देखि कांग्रेस नेता प्रकाशमान सिंहले लगातार चुनाव जितिरहेका छन् । ०७४ को चुनावमा विवेकशील साझा पार्टीका रवीन्द्र मिश्र सिंहसँग करिब ८०० मतले पराजित भएका थिए ।

काठमाडौं–१ मा काठमाडौं महानगरपालिकाको वडा नं. १०, ११, २९ र ३१ (नयाँबानेश्वर, त्रिपुरेश्वर, डिल्लीबजार र शान्तिनगर) पर्छन् । यी चार वडामा गत स्थानीय तहको निर्वाचनमा वडा नं. ३१ बाहेक अन्यत्र कांग्रेसका वडा अध्यक्ष निर्वाचित भएका थिए ।

काठमाडौं–२ : सोविता गौतम

काठमाडौं–२ यतिखेर तीन जना महिला उम्मेदवारका कारण चर्चामा छ । सत्तारुढ गठबन्धनको समर्थनमा नेकपा माओवादी केन्द्रकी ओनसरी घर्तीमगर उम्मेदवार, राष्ट्रिय स्वतन्त्र पार्टीबाट अधिवक्ता, कार्यक्रम सञ्चालक र युवा अभियन्ता सोविता गौतम र राष्ट्रिय प्रजातन्त्र पार्टीकी कुन्ती पोखरेल । यद्यपि चुनावी मैदानमा एमालेका मणिराम फुयाँल पनि बलिया प्रतिस्पर्धी हुन् ।

काठमाडौं शहरी भूभागदेखि काँठको जहरसिंह पौवासम्म ओगट्ने यो चुनावी क्षेत्रमा १० जना स्वतन्त्रसहित २७ जना उम्मेदवार छन् । काठमाडौं–२ त्यही क्षेत्र हो जहाँ ०६४ सालको निर्वाचनमा नेकपा एमालेका तत्कालीन महासचिव माधवकुमार नेपाल माओवादीका उम्मेदवार झक्कुप्रसाद सुवेदीसँग पराजित भएका थिए ।

काठमाडौं–२ मा शंखरापुर नगरपालिका पुरै, काठमाडौं महानगरपालिकाको वडा नं. ९ र ३२, कागेश्वरी मनोहरा नगरपालिकाको वडा नं. ४, ५, ६, ७, ८ र ९ पर्छन् ।

२०७४ को आम निर्वाचनमा यो क्षेत्रबाट वाम गठबन्धनका उम्मेदवार बनेका नेकपा (एमाले) का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल २७ हजार ३६६ मत ल्याएर निर्वाचित भएका थिए । निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका दीपकप्रकाश कुइँकेलले १४ हजार ९०३ मत पाएका थिए ।

गत स्थानीय चुनावमा यो क्षेत्रमा वडाअध्यक्षहरूले पाएको मतमा दलगत रूपमा एमाले अगाडि छ । उक्त चुनावमा एमालेका वडाध्यक्ष उम्मेदवारले १७ हजार ३२८, कांग्रेसकाले १४ हजार १२९, नेकपा (एकीकृत समाजवादी) ले ७ हजार ९११, राप्रपाले ७ हजार २०० र नेकपा माओवादी केन्द्रले ३ हजार १३१ मत पाएका थिए ।

काठमाडौं–३ : दुर्गा विक्रम थापा क्षेत्री

काठमाडौं–३ का २२ जना उम्मेदवारमध्ये एक हुन् राष्ट्रिय स्वतन्त्र पार्टीका दुर्गा विक्रम थापा क्षेत्री । पश्मिना व्यापारी थापा निर्यात व्यवसायी महासंघको उपाध्यक्ष समेत हुन् ।

काठमाडौं ३ मा कांग्रेसका सन्तोष चालिसे, एमालेका कृष्णबहादुर राई प्रतिस्पर्धामा छन् । ०७४ सालमा राई निर्वाचित भएका थिए । यहाँबाट दलका उम्मेदवारसंगै ८ जना स्वतन्त्र उम्मेदवार पनि चुनावी मैदानमा छन् ।

स्थानीय तह चुनावमा यो क्षेत्रमा कांग्रेसका वडाअध्यक्षहरूले १५ हजार ७९५, एमालेका वडाअध्यक्षहरूले १४ हजार ८७६, माओवादी केन्द्रकाले १ हजार ७३०, एकीकृत समाजवादीकाले १ हजार ५६ र स्वतन्त्र प्रतिस्पर्धीहरूले १ हजार ३१४ मत पाएका थिए ।

काठमाडौं–५ : डा. प्रणयशमशेर राणा

यो क्षेत्रमा १४ स्वतन्त्र र १४ दलगत उम्मेदवार गरी यो क्षेत्रमा २८ जना उम्मेदवार छन् । भूपू सैनिक तथा द्वन्द्व व्यवस्थापन मामिलाका जानकार डा. प्रणयशमशेर राणा राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार छन् ।

यो क्षेत्रबाट एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेल पनि प्रतिस्पर्धामा छन् । ०७४ मा पोखरेल यही क्षेत्रबाट निर्वाचित भएका थिए । यो क्षेत्रबाट ०७४ मा काठमाडौं महानगरको मेयर उम्मेदवार रञ्जु दर्शनाले पनि स्वतन्त्र उम्मेदवारी दिएकी छन् ।

गएको स्थानीय चुनावमा यो क्षेत्रका वडाहरुमा एमालेले १९ हजार २२९, कांग्रेसले १४ हजार ५३२, राष्ट्रिय प्रजातन्त्र पार्टीले २ हजार ७३९, नेकपा एकीकृत समाजवादीले एक हजार ५५३ र नेकपा माओवादी केन्द्रले १ हजार १३९ मत ल्याएका थिए ।

बलियो संगठन भएको सत्तारुढ गठबन्धन र एमालेसंग संगठन नभएको राष्ट्रिय स्वतन्त्र पार्टीबाट जित निकाल्न सजिलो भने पक्कै छैन ।

काठमाडौं–६ : शिशिर खनाल

काठमाडौं–६ बाट प्रतिनिधिसभामा २४ जनाले उम्मेदवारी दिएकामा राष्ट्रिय स्वतन्त्र पार्टीबाट शिशिर खनाल प्रतिस्पर्धामा छन् । सत्ता गठबन्धनको समर्थनमा कांग्रेसका भीमसेनदास प्रधान र एमालेबाट पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल उम्मेदवार छन् ।

विवेकशील साझा पार्टीका संगठन विभागका प्रमुख रहिसकेका निर्देश सिलवालले यो क्षेत्रबाट स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

टिच फर नेपालका संस्थापकमध्येका एक शिशिर खनालसँग शिक्षा र स्वास्थ्य मामिलामा राम्रो जानकारी छ । ०७४ मा को चुनावमा यो क्षेत्रबाट कांग्रेसका भिमसेनदास प्रधान निर्वाचित भएका थिए ।

गत स्थानीय निर्वाचनमा काठमाडौं–६ मा वडाअध्यक्षहरूले पाएको मत हेर्दा कांग्रेस अगाडि देखिन्छ ।

काठमाडौं–७ : गणेश पराजुली

काठमाडौं–७ मा १६ जना स्वतन्त्रसहित २९ जना उम्मेदवार छन् । यो क्षेत्रबाट एमालेका श्यामकुमार घिमिरे, सत्तारुढ गठबन्धनबाट नेपाल समाजवादी पार्टीकी अस्मिता सिंह (मानुषी) यमी भट्टराई, जनता समाजवादी पार्टीबाट राजेन्द्र श्रेष्ठ, राष्ट्रिय स्वतन्त्र पार्टीबाट गणेश पराजुली उम्मेदवार छन् ।

यसै क्षेत्रबाट निर्वाचित पूर्वसांसद रामवीर मानन्धरले पनि स्वतन्त्र उम्मेदवारी दिएका छन् । मानन्धर ०७० र ०७४ को चुनावमा यही क्षेत्रबाट निर्वाचित भएका थिए ।

२०६४ सालमा हिसिला यमीले यही जित निकालेका यो क्षेत्रमा १५ वर्षपछि उनकी छोरी मानुषी चुनावी दौडमा छिन् । यसबाहेक यो क्षेत्रमा सम्पदा अभियन्ता यादवलाल कायस्थले पनि स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

गत स्थानीय निर्वाचनमा काठमाडौं–६ मा वडाअध्यक्षहरूले ल्याएको दलगत मतमा नेपाली कांग्रेस अगाडि छ । उक्त निर्वाचनमा कांग्रेसका उम्मेदवारले १७ हजार २७७, एमालेका उम्मेदवारले १४ हजार ३०३ र माओवादी केन्द्रकाले २ हजार ४६२ मत पाएका छन् ।

काठमाडौं–८ : विराजभक्त श्रेष्ठ

काठमाडौं–८ मा ३ जना स्वतन्त्र सांसदसहित १९ जना उम्मेदवार छन् । यो क्षेत्रमा सत्तारुढ गठबन्धनको समर्थनमा एकीकृत समाजवादीबाट जीवनराम श्रेष्ठ, एमालेका शिवसुन्दर राजवैद्य, हाम्रो नेपाली पार्टीबाट सुमन सायमी, राप्रपाबाट प्रकाश रिमाल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट विराजभक्त श्रेष्ठलगायतका उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।

विराज २०७४ मा विवेकशील साझाबाट बागमती प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए । स्वतन्त्र पार्टीको संगठन नभए पनि प्रदेशसभामा हुँदा आफूले गरेको कामको बलमा चुनाव जित्ने उनको विश्वास छ ।

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उठेका सुमन सायमीले पनि यस क्षेत्रमा राम्रो मत पाउने अनुमान छ । यो क्षेत्रबाट ०७४ मा तत्कालीन नेकपा एमालेबाट जीवनराम श्रेष्ठले चुनाव जितेका थिए ।

गत स्थानीय तह निर्वाचनमा काठमाडौं–८ मा दलगत रूपमा वडाअध्यक्षहरूले ल्याएको मतमा नेपाली कांग्रेस अगाडि छ । कांग्रेसले १० हजार ८७२, एमालेले ९ हजार २५३, एकीकृत समाजवादीले ५ हजार १४२ र माओवादी केन्द्रले १८९ मत पाएका थिए ।

काठमाडौं–९ : टेकबहादुर पोखरेल

काठमाडौं–९ मा १० जना स्वतन्त्रसहित २२ जना उम्मेदवार छन् ।

एमालेबाट कृष्णगोपाल श्रेष्ठ र सत्तारुढ गठबन्धनको समर्थनमा माओवादी केन्द्रकी कल्पना धमला, राष्ट्रिय स्वतन्त्र पार्टीबाट टेकबहादुर पोखरेल, स्वतन्त्र उम्मेदवार मिलन पाण्डेलगायत प्रतिस्पर्धामा छन् ।

समाजसेवा हुँदै राजनीतिमा छिरेका पोखरेलका लागि काठमाडौं–९ मा जित सहज देखिदैन ।

०७४ को प्रतिनिधिसभा चुनाव एमालेका कृष्ण गोपाल श्रेष्ठले जितेका थिए । गएको स्थानीय निर्वाचनमा वडाअध्यक्षहरूले पाएको मतको आधारमा कांग्रेस र एमाले हाराहारीको पार्टी हुन् ।

कांग्रेसका वडाध्यक्षका उम्मेदवारले १९ हजार ९१६, एमालेले १९ हजार २८२, तत्कालीन विवेकशील साझा पार्टीले ४ हजार ९४६, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले २ हजार ४०१, नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले ७१६ र माओवादी केन्द्रले ६९५ मत पाएका छन् ।

काठमाडौं–१० : प्रदीप विष्ट

काठमाडौं – १० मा ३ जना स्वतन्त्रसहित १८ जना उम्मेदवार छन् । यो क्षेत्रबाट कांग्रेसका राजन केसी, एमालेका हिमेश केसी, माओवादी केन्द्रकी अञ्जना विशंखे, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रदीप विष्टलगायत उम्मेदवार छन् ।

यो क्षेत्रबाट कांग्रेसका राजन केसीले ०७० र ०७४ को चुनाव जितेका थिए । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विष्ट ०४६ देखि कांग्रेस निकट भएर राजनीति गरिरहेका थिए । ०७४ मा उनले कांग्रेस छाडेका थिए ।

भक्तपुर–२ : साजन वि.क

भक्तपुर–२ मा ११ स्वतन्त्रसहित २५ जना उम्मेदवार छन् ।

नेपाली कांग्रेसका दुर्लभ थापा, नेकपा एमालेका महेश बस्नेत, नेपाल मजदुृर किसान पार्टीकी अनुराधा थापामगर, राष्ट्रिय स्वतन्त्र पार्टीका साजन विक, विवेकशील साझा पार्टीबाट शशीबिक्रम कार्कीलगायत उम्मेदवार छन् ।

समाजसेवी र अभियन्ताको परिचय बनाएका विकलाई ठूला दलका ठूला उम्मेदवारलाई जित्न सहज छैन ।

०७४ को चुनावमा यो क्षेत्रबाट एमालेका महेश बस्नेतले चुनाव जितेका थिए । गएको स्थानीय चुनावमा यो क्षेत्रमा वडाअध्यक्षका उम्मेदवारहरूले पाएको दलगत मतमा कांग्रेस अगाडि छ ।

कांग्रेसका उम्मेदवारले २५ हजार ७६४ र एमालेले २४ हजार २८५ मत पाएको छ । त्यस्तै, नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले ४ हजार ९२५, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले ४ हजार १७२, नेकपा (एकीकृत समाजवादी) ले १२०० र माओवादी केन्द्रले १ हजार हाराहारी मत पाएका छन् ।

ललितपुर– १ : डा. सचिन घिमिरे

ललितपुर–१ बाट १० जना स्वतन्त्र सहित २१ जना उम्मेदवार छन् । यो क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट डा. सचिनकुमार घिमिरेले उम्मेदवारी दिएका छन् । मेडिकल एन्थ्रोपोलोजिमा पिएचडी गरेका घिमिरे सामाजिक अभियन्ता पनि हुन् ।

चुनावी मैदानमा पहिलोपटक छिरेका घिमिरेले यही क्षेत्रबाट ०७४ मा निर्वाचित एमालेका नवराज सिलवाल र कांग्रेसका उदयशमशेर राणासंग प्रतिस्पर्धा गर्नुपर्ने देखिन्छ ।

गोदावरी नगरपालिकासहित ललितपुरका तीन गाउँपालिका ललितपुर– १ मा पर्छन् । गएको स्थानीय चुनावमा यो क्षेत्रमा नेपाली कांग्रेसका वडाअध्यक्षहरूले २३ हजार ८५४, एमालेका वडाअध्यक्षहरूले १८ हजार ९९३, माओवादी केन्द्रकाले ६ हजार १३३ र राप्रपाकाले १ हजार ५७५ मत प्राप्त गरेका थिए ।

ललितपुर – २ : बुद्धरत्न महर्जन

ललितपुर–२ मा ८ जना स्वतन्त्रसहित २२ जना उम्मेदवार चुनावी मैदानमा छन् । राष्ट्रिय स्वतन्त्र पार्टीबाट बुद्धरत्न महर्जन उम्मेदवार छन् ।

एमालेका प्रेमबहादुर महर्जन, गठबन्धनको समर्थनमा एकीकृत समाजवादीका कृष्णलाल महर्जन र राष्ट्रिय प्रजातन्त्र पार्टीका रघुवर राज थापा पनि चुनावी मैदानमा छन् । ०७४ को चुनावमा यो क्षेत्रबाट तत्कालिन एमालेबाट कृष्णलाल महर्जनले जितेका थिए ।

गएको स्थानीय तहको चुनावको नतिजा अनुसार महालक्ष्मी नगरपालिकामा एमाले र ललितपुर महानगरमा कांग्रेसको बलियो पकड देखिन्छ । ललितपुर महानगरको वडा नम्बर ६, ७, ८, ९, ११, १६ कांग्रेस, १२, १७ र १९ मा एमाले उम्मेदवार निर्वाचित भएका थिए ।

वडाअध्यक्षका उम्मेदवारहरूले पाएको मतका आधारमा कांग्रेस ठूलो दल हो । उसका उम्मेदवारले पाएको कुल मत १९ हजार ८८२ मत पाएको छ । एमालेकाले १५ हजार ७१०, माओवादीकाले ५ हजार २३, राप्रपाकाले ३ हजार ४९५ र एकीकृत समाजवादीकाले ३ हजार १९२ मत पाएको छ ।

ललितपुर–३ : डा. तोसिमा कार्की

ललितपुर– ३ बाट ७ स्वतन्त्रसहित २० जना उम्मेदवार चुनावी मैदानमा छन् । यो क्षेत्रबाट माओवादी केन्द्रकी पम्फा भुसाल, एमालेका अमृत खड्का, राष्ट्रिय स्वतन्त्र पार्टीकी डा. तोसिमा कार्कीलगायत प्रतिस्पर्धामा छन् ।

निर्वाचन आयोगले उम्मेदवारी खारेज गर्ने निर्णय गरेसँगै चर्चामा आएकी स्वतन्त्र पार्टीकी उम्मेदवार कार्की शल्यचिकित्सक हुन् ।

यही क्षेत्रबाट ०७४ को चुनाव जितेकी पम्फा भुसाल र बलियो संगठन भएको एमालेसँगको प्रतिस्पर्धा कार्कीका लागि सहज देखिदैन । तर, मतदातामा पुराना दलहरुप्रति देखिएको वितृष्णाको फाइदा भने कार्कीलाई पुग्ने देखिन्छ ।

ललितपुर– ३ भित्र पर्ने क्षेत्रमा कांग्रेसका वडाअध्यक्षहरूले १९ हजार ७४४, एमालेकाले १९ हजार ७११, माओवादी केन्द्रकाले ७ हजार ९५८ र नेकपा एकीकृत समाजवादीले ५ हजार १२९ मत पाएका छन् ।

छक्क पार्ने गरी जित्छौं : स्वतन्त्र पार्टी

राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता डा. मुकुल ढकाल यसपटकको चुनावमा ठूला पार्टीलाई छक्क पार्ने गरी आफूहरुले चुनाव जित्ने दावी गर्छन् । ‘उपत्यकाका १३ क्षेत्रमध्ये अधिकांशमा हाम्रा उम्मेदवारले जित्छन्’ उनले भने ।

समानुपातिक पद्धतिमा पनि ३ प्रतिशतको थ्रेसहोल्ड पार गर्ने उनले बताए । ‘मतदातामा ठूला दलप्रति आक्रोश छ । त्यो आक्रोश नै हाम्रो मत हो’, ढकाल भन्छन् ।

विदेशमा रहेका नेपालीले आफन्तलाई फोन गरेर राष्ट्रिय स्वतन्त्र पार्टीको चुनाव चिह्न घण्टीमा मतदान गर्न आग्रह गरेको पनि उनले बताए ।

‘काठमाडौं उपत्यकामा हाम्रा धेरै उम्मेदवारको चर्चा छैन । तर, भित्रभित्रै भने हाम्रो चर्चा भुसको आगो जसरी फैलिएको छ’, प्रवक्ता ढकालले भने ।

लेखकको बारेमा
सागर चन्द

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?