+
+
बाँके २ :

भन्ने गठबन्धन, भोट माग्ने आफ्नैलाई

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक २९ गते २०:३०
बाँके २ मा चुनाव प्रचार गर्दै राप्रपा उम्मेदवार धवलशमशेर राणा र नेपाली कांग्रेसका उम्मेदवार सुदीप नरसिंह राणा ।

२९ कात्तिक, बाँके । छेउमै जनता समाजवादी पार्टीको सम्पर्क कार्यालयमा उसको चुनावी नारा घन्किरहेको थियो । नजिकै एउटा सूर्य र एउटा हलोको झन्डासहित चारजना कार्यकर्ताको साथ लिएर नेकपा एमालेका प्रदेशसभा उम्मेदवार निरक गुरुङ स्थानीयसँग भोट मागिरहेका थिए ।

उनी एमालेको तर्फबाट बाँके जिल्ला निर्वाचन क्षेत्र नं २ ‘२’ बाट प्रदेशसभा उम्मेदवार हुन् । यो त्यही क्षेत्र हो, जहाँ नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीको चुनावी तालमेल छ । राप्रपाका महामन्त्री तथा नेपालगञ्ज उपमहानगरपालिकाका पूर्व मेयर धवलशमशेर राणा बाँके–२ बाट उनीहरुका साझा उम्मेदवार हुन् ।

धवल पनि आफ्ना पार्टीमै रहेका केही कार्यकर्ता बोकेर एक्लै प्रचारमा हिँड्छन् । नेकपा एमालेका नेता कार्यकर्ताहरू धवलका लागि भोट माग्न खासै हिँडेका छैनन् । धवल लगभग एक्लै आफ्नो चुनावी अभियान सम्हालिरहेका छन् । एमालेसँग संयुक्त चुनावी प्रतिवद्धतापत्र सार्वजनिक गरेका उनी त्यसपछिका चुनावी अभियानमा राप्रपाका कार्यकर्तासंग मात्रै देखिएका छन् ।

यही क्षेत्रबाट प्रतिनिधिसभामा सत्तारुढ गठबन्धनको समर्थनमा नेपाली कांग्रेसका नेता सुदीप नरसिंह राणा उम्मेदवार छन् । तर प्रदेशसभा (२) मा भने माओवादीले पूर्वलडाकु अक्कलबहादुर बमलाई कांग्रेसका सुरेन्द्र हमालसँग प्रतिस्पर्धामा उतारेको छ । त्यसैले सत्ता गठबन्धनले प्रदेशसभामा यहाँ ‘मित्रवत’ प्रतिस्पर्धा भनेको छ । २०७४ सालमा पनि प्रदेशसभा सदस्य चुनिएका हमाल लुम्बिनी प्रदेशका वन तथा भूसंरक्षण मन्त्री छन् ।

प्रदेशसभा अन्तर्गत ‘२’ निर्वाचन क्षेत्र त्यस्तो क्षेत्र हो जो प्रतिनिधिसभा क्षेत्र नं २ का लागि निर्णायक मानिन्छ । सबैभन्दा धेरै जनघनत्व भएको र धेरै मतदाताले भरिएको नेपालगञ्ज उपमहानगरको मुख्य सहरी क्षेत्र यसै निर्वाचन क्षेत्रमा पर्छ । तर गठबन्धन गरेका दलहरू यही क्षेत्रमा धेरै विभाजित छन् । केन्द्रबाट ‘तालमेल’ वा गठबन्धन जे भनेपनि यहाँ फरक पार्टीका नेता कार्यकर्ताले एक अर्का बीच मन मिलाउन सकेका छैनन् ।

सत्ता गठबन्धनका उम्मेदवार पनि ‘एक्लै’

यो क्षेत्रबाट पूर्वसांसद जनता समाजवादी पार्टीका मोहम्मद इश्तियाक राई पनि उम्मेदवार छन् । उनी यसै क्षेत्रबाट २०७४ मा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।

चुनाव प्रचारमा जनता समाजवादी पार्टीका नेता मोहम्मद इस्तियाक राई

यसअघि नेपालगञ्जका चिया पसलहरूमा राजनीतिक गफमा भेटिने सुदीप नरसिंहलाई आजभोलि बिहानैदेखि आफ्ना कार्यकर्ताको लस्कर लिएर मतदाताका घरघर पुग्न भ्याइ नभ्याइ छ । तर उनको यो चुनावी अभियानमा गठबन्धनका अरू दलहरू भने मिसिएका छैनन् । नेपाली कांग्रेसका पुराना र पाका नेता भनेर चिनिएका राणाले एक्लै चुनावी मोर्चा सम्हालिरहेका छन् ।

बाँके–२ को प्रदेशसभाको ‘१’मा नेपाली कांग्रेसका राजकुमार कुर्मी र गठबन्धनभित्रकै एकीकृत समाजवादीका समसुद्दिन सिद्दिकी उम्मेदवार छन् । प्रदेशसभाका उम्मेदवारहरूको प्रचार गर्र्नुपर्ने भन्दै गठबन्धन दलका कार्यकर्ताहरू आआफै प्रचारमा छन्, संयुक्त रुपमा हिँडेका छैनन् ।

बाँके क्षेत्र नं ३ मा गठबन्धन बीचको तालमेल झन् रोचक छ । सुरूमा यो क्षेत्र कसले पाउने भन्नेमा नै अन्योल थियो । अन्तिम समयमा आएर नेपाली कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले टिकट पाए ।

प्रतिनिधिसभाका लागि कांग्रेसले उम्मेदवारी पाएपछि प्रदेशसभा सदस्यमा गठबन्धनका अरू दलको माग थियो । यहाँ नेकपा माओवादी र एकीकृत समाजवादी दुवैले दाबी गरेका थिए । यसअघि पनि प्रदेशसभामा सांसद भइसकेका इन्द्रप्रसाद (आईपी) खरेलले नेकपा माओवादीबाट प्रदेशसभा ‘१’ बाट टिकट दाबी गरिरहेका थिए । अनि एकीकृत समाजवादीका दलबहादुर सुनारले पनि यही क्षेत्रको दाबी छोडेका थिएनन् ।

अन्तिम समयमा प्रतिनिधिसभामा राठौरले र प्रदेश सभामा आईपीले सत्ता गठबन्धनबाट टिकट पाए । तर आफूले टिकट नपाएपछि एकीकृत समाजवादीका सुनारले भने ‘स्वतन्त्र’ उम्मेदवारी दिए । गठबन्धनले सुनारको उम्मेदवारी फिर्ता गराउन अन्तिम समयसम्म पनि प्रयास गरेको थियो । तर, सुनारले नाम फिर्ता लिन मानेनन् ।

त्यसपछि स्थानीय माओवादी नेताहरूले सुनारलाई माओवादीमा प्रवेश गराएर उनलाई नै समर्थन दिए । गठबन्धनका साझा उम्मेदवारका रूपमा अहिले किशोरसिंह राठौरसँग सँगै भोट माग्न हिँडिरहेका छन्, आइपि खरेल । तर खरेलकै पार्टी माओवादीका अरू नेताहरू भने सुनारका लागि भोट मागिरहेका छन् । त्यसलाई पनि उनीहरूले ‘मित्रवत प्रतिस्पर्धा’ भनेका छन् ।

यही क्षेत्रमा नेपाली कांग्रेसबाट प्रदेशसभाका लागि टिकट दाबी गरिरहेका चन्तराम थारू पनि अन्तिम समयमा नागरिक उन्मुक्ति पार्टी (रेशम चौधरी) मा प्रवेश गरे । अनि ‘ढकिया’ लिएर अहिले उनि पनि चुनावी मैदानमा छन् ।

अघिल्लो (२०७४) को निर्वाचनमा पनि बाँके–२ मा नेकपा एमालेका आफ्नै उम्मेदवार थिएनन् । मधेस आन्दोलनमा निकै आलोचना खेपेका र पछि हृदयेश त्रिपाठीहरूको समूहमा लागेका यहाँका व्यापारी पशुपति दयाल मिश्रलाई नेकपा एमालेले ‘सूर्य’ चिह्न दिएको थियो ।

त्यो बेला पनि चुनावी अभियान सम्हाल्न पशुपतिलाई लगभग उस्तै मुश्किल परेको थियो । साथ दिएजस्तो गरे पनि एमालेका कार्यकर्ताहरू त्यो बेला नै पशुपतिका लागि खुलेर भोट माग्न हिच्किचाउँथे । अहिले पनि ठ्याक्कै त्यस्तै छ । अझ अर्को संयोग के छ भने, अहिले एमालेले समर्थन दिएका उम्मेदवार धवलशमशेर २०५४ सालको स्थानीय निर्वाचनमा पनि एमालेबाटै नेपालगञ्जको मेयर भएका थिए । तर त्यतिबेला उनले एमालेको सदस्यता लिइसकेका थिए ।

२०६३ सालको परिवर्तनपछि फेरि राप्रपामा फर्किएका उनले २०७४ को स्थानीय निर्वाचनमा भने एक्लै लडेर मेयर जितेका थिए । उनी यसपालि फेरि एमालेकै सहयोगमा प्रतिनिधिसभाका लागि उम्मेदवार भएका छन् ।

‘हामी अहिले एक्लै खटिएको जस्तो देखिए पनि एमालेका साथीहरूको साथ र सहयोग छ । हामीले केन्द्रदेखि नै तालमेल गरेका छौं’ राप्रपाका एक जिल्ला नेता भन्छन्, ‘फरक पार्टी हो । फरक सिद्धान्त छ । अलिअलि अलमल र अप्ठ्यारो त हुन्छ नै ।’

उनी भन्छन्, ‘हामी एउटै मिसनका लागि चुनावमा आएकाहरू खुलेर नलाग्दा मतदाताहरूमा फरक सन्देश त जान्छ । तर हाम्रा उम्मेदवार यहाँ पार्टी राजनीति भन्दा पनि व्यक्तिगत हिसावले अगाडि हुनुहुन्छ । हामी जित्नेमा ढुक्क छौं ।’

एमालेसँगको तालमेलमा प्रतिनिधिसभातर्फ राप्रपाले पाएको छ भने प्रदेशसभाका दुवै क्षेत्रमा नेकपा एमालेका उम्मेदवारहरू छन् । प्रदेशसभा क्षेत्र तर्फ ‘२’ बाट निरक गुरूङ र ‘१’ बाट विजयबहादुर यादव एमाले उम्मेदवार हुन् । त्यसले पनि धवलको चुनावी अभियानमा एमालेको सहभागिता छैन । एमालेका धेरैजसो कार्यकर्ताहरू यो क्षेत्रका दुई प्रदेशसभा उम्मेवारहरूका लागि खटिएका देखिन्छन् ।

गठबन्धन र तालमेलभित्र देखिएका यो अलमल र असमझदारीहरूले चुनावी परिणाममा कस्तो प्रभाव पार्ला ? नेकपा एमालेका नेता अशोक कर्माचार्य भन्छन् ‘खासै फरक पर्दैन । प्रदेशसभाहरूमा हाम्रा पनि उम्मेदवारहरू भएका कारण एमालेका धेरै साथीहरू त्यतातिर केन्द्रित हुनुभएको हो । तर हाम्रा साझा उम्मेदवार धवल शमशेर राणालाई जिताउने सवालमा हामी एक छौं ।’

‘सधैं सबै अभियानहरूमा सँगै हुनुपर्छ भन्ने छैन । उहाँहरू(राप्रपा) को पनि संगठन छ । कार्यकर्ताहरू छन् । फेरि धवल आफैमा प्रभावशाली व्यक्ति हुनुहुन्छ र उहाँ पूर्वएमाले पनि हो’, उनी भन्छन् ‘त्यसैले पनि खासै त्यस्तो असजिलो भन्ने छैन ।’

उता सत्ता गठबन्धनका उम्मेदवार सुदीप नरसिंह राणाको प्रचारमा माओवादी कार्यकर्ताहरू सुरुवातदेखि नै सँगै छैनन् ।

अहिलेसम्म गठबन्धन दलहरूको संयुक्त बैठक वा सभाहरू पनि भएका छैनन् । प्रदेशसभाहरूमा गठबन्धन भित्रका सबैजसो दलहरूका उम्मेदवार भएका कारण पनि ‘मित्रवत’ प्रतिस्पर्धा गर्ने अव्यक्त समझदारी हो ।

‘त्यसैले पनि होला माओवादी, समाजवादी वा अरू दल हाम्रो चुनावी अभियानमा आउनुभएको छैन’ कांग्रेसका एकजना जिल्ला नेता भन्छन् ‘गठबन्धनका साझा उम्मेवार भएपनि उहाँ (सुदीप) कांग्रेसका एक्ला उम्मेवार जस्तै देखिनुहुन्छ । माओवादीले आफ्नो उम्मेदवारी दिएन त्यही नै हाम्रो लागि सहयोग हो भनेर चित्त बुझाएका छौं ।’

प्रतिनिधिसभा नेपाली कांग्रेसको भागमा परेपछि यो क्षेत्रमा प्रदेशसभा माओवादी केन्द्रले दाबी गरेको थियो । तर कांग्रेसले पनि आफ्नो अडान नछोडेपछि दुवै सिटमा कांग्रेसका उम्मेदवारले टिकट पाए । त्यसपछि ‘मित्रवत’ प्रतिस्पर्धा भन्दै माओवादीले पनि प्रदेशसभाका दुवै क्षेत्रमा आफ्ना उम्मेदवारहरू उठाएको थियो ।

गठबन्धन र तालमेल भने पनि नबन्दै फुस्किएका यी गाँठाहरू फेरि बाँधिएनन् भने त्यसको फाइदा सिधै जसपाका उम्मेदवार मोहम्मद इश्तियाक राईलाई नै हुनेछ । तर अहिल्यै केही भन्न सकिन्न ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?