+
+

सातौं पटक चुनावी मैदानमा उत्रिएका नेताहरू

रघुनाथ बजगाईं रघुनाथ बजगाईं
२०७९ कात्तिक ३० गते ९:१२

२९ कात्तिक, काठमाडौं । संघीय संसदको प्रतिनिधिसभातर्फ १६५ सांसदका लागि आगामी ४ मंसिरमा मतदान हुँदैछ । प्रदेशसभासँगै हुन लागेको प्रतिनिधिसभातर्फ दुई हजार ४१२ उम्मेदवार चुनावी मैदानमा छन् ।

उम्मेदवार मध्ये ठूलो संख्या स्वतन्त्र र साना दलबाट परेको छ । २०७२ मा जारी संविधानमा थ्रेसहोल्डको व्यवस्था गरिएकाले ०७४ मा तुलनात्मक कम उम्मेदवारी परेको थियो । तर स्थानीय चुनावमा स्वतन्त्र उम्मेदवारले ल्याएको नतिजाका कारण स्वतन्त्र उम्मेदवारी दिने र नयाँ दलको संख्या बढेको छ ।

तर मुख्य दलहरुको उम्मेदवार भने लगभग चिनिएकै नेताहरु छन् । त्यसमध्ये कतिपय उम्मेदवार कुनै चुनाव नछोड्ने नेता छन् । ती नेताहरुले पञ्चायत अन्त्यपछिका सबै चुनाव लडेका छन् ।

शेरबहादुर देउवा, केपी शर्मा ओली, झलनाथ खनाल, रामचन्द्र पौडेल, विजयकुमार गच्छदार, कृष्णप्रसाद सिटौला, कृष्णगोपाल श्रेष्ठ, महन्थ ठाकुर, अर्जुननरसिंह केसी, बलबहादुर केसी, रमेश रिजाल, पृथ्वीसुब्बा गुरुङ, रामचन्द्र झा, राजेन्द्र पाण्डे, राजेन्द्र महतो, सर्वेन्द्रनाथ शुक्ल, हृदयेश त्रिपाठी र दीपक बोहराले सबै चुनाव लडे ।

यी नेताहरुले यसपटक सातौं चुनावी प्रतिस्पर्धा गर्दैछन् । उपनिर्वाचनसमेत जोड्दा कृष्णगोपाल श्रेष्ठ र कृष्णप्रसाद सिटौलाको त यो आठौं प्रतिस्पर्धा हुन्छ ।

२०४८ को चुनाव जितेर गृहमन्त्री भएका देउवा पाँच पटक प्रधानमन्त्री भइसके । त्यसपछि २०५१, २०५६, २०६४, २०७० र २०७४ गरी सबै चुनाव जितेका देउवा यसपटक फेरि प्रधानमन्त्री बन्नेगरी चुनावी मैदानमा छन् । देउवालाई यो चुनावमा माओवादी केन्द्र, एकीकृत समाजवादी, लोसपा र राष्ट्रिय जनमोर्चासहितको गठबन्धनको साथ छ ।

तत्कालिन प्रधानमन्त्री विशेश्वरप्रसाद कोइरालाको निर्वाचित सरकार विघटन गरी २०१७ पुस १ गते पञ्चायत शासन शुरु भएपछि देउवा सक्रिय राजनीतिमा होमिएका थिए । उनी १४ औँ महाधिवेशनबाट दोस्रोपटक कांग्रेसको सभापति छन् ।

देउवा लगत्तै २०५१ मा गृहमन्त्री बनेका केपी ओली पनि सातौं चुनाव लड्दैछन् । २०६४ बाहेक सबै चुनाव जितेका ओली फेरि प्रधानमन्त्री बन्नेगरी चुनावी मैदानमा छन् । २०७२ र २०७४ मा प्रधानमन्त्री बनेका ओलीलाई एमालेले फेरि अगाडि बढाएको छ । ‘मंसिर चार, ओली सरकार’ मूल नारासहित एमाले चुनावमा होमिएको छ । ०२५ सालदेखि पूर्णकालीन राजनीतिमा रहेका ओली २०४८, २०५१ र २०५६ मा झापा-६ बाट जितेका थिए । ओलीलाई यो चुनावमा राप्रपा, जसपा, नेपाल परिवार दल लगायतको समर्थन छ ।

२०४७ को अन्तरिम सरकारमै मन्त्री बनेका झलनाथ खनाल पनि इलामबाट सातौंपटक चुनाव लड्दैछन् । एमालेबाट अलग भएर एकीकृतसमाजवादीमा आवद्ध खनालले २०५६ बाहेकको चुनाव जितेका छन् । यसपटक उनलाई सत्ता गठबन्धनबाट इलाम-१ बाट उम्मेदवार छन् ।

२०७४ बाहेक सबै चुनाव जितेका रामचन्द्र पौडेल यसपटक तनहुँ-२ बाट उम्मेदवार छन् । २०४८ मा तनहुँ-१ बाट र २०५१, २०५६, २०६४ र २०७० सालमा तनहुँ-२ बाट निर्वाचित भएका थिए । पौडेल स्थानीय विकास तथा कृषि मन्त्री, शान्ति तथा पुनर्निर्माण मन्त्री, गृहमन्त्री र उपप्रधानमन्त्री भइसकेका छन् ।

सबैभन्दा धेरैपटक मन्त्री बनेको कीर्तिमान बनाएका बिजय गच्छदार पनि सातौं चुनाव लड्दैछन् । २०२७ मा महेन्ऽ मोरङ क्याम्पसबाट नेपाल बिद्यार्थी संघमा आवद्ध भएर कांग्रेस राजनीतिमा लागेका गच्छदार २०४८ पछि १३ पटक मन्त्री भइसकेका छन् । सुनसरी-३ बाट चुनाव जित्दै आएका गच्छदार पाँच पटक उपप्रधानमन्त्री भइसके ।

कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला त यसपटक आठौं चुनाव लड्दैछन् । उनी २०४८ पछि भएको उपनिर्वाचनमा पनि उम्मेदवार भएका थिए । २०३३ सालदेखि कांग्रेस राजनीतिमा सक्रिय ७३ वषर्ीर्य सिटौला २०४८ मा तत्कालिन झापा १ -हाल झापा ३) बाट उम्मेदवार बनेका थिए । त्यो चुनाव हारेपनि २०५० को उपनिर्वाचनमा उनले जिते । २०५१ को मध्यावधिमा पराजित सिटौलाले २०५६ र २०७० चुनाव जिते ।

२०६४ मा माओवादीका पूर्णसिंह राजवंशी र २०७४ मा राप्रपाका राजेन्द्र लिङदेनसँग पराजित भए । सिटौला २०५७ माघमा गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा उद्योग, वाणिज्य तथा आपूर्ति राज्य मन्त्री, २०६३ मा गिरिजाप्रसाद नेतृत्वको सरकारमा गृहमन्त्री, बाबुराम भट्टराई नेतृत्वको सरकारमा उपप्रधान, रक्षा, कानुन न्याय तथा संविधानसभा व्यवस्था मन्त्रीको जिम्मेवारी निर्वाह गरिसकेका सिटौला यसपटक पनि चुनावी प्रतिस्पर्धामा उत्रिएका हुन् ।

एमालेका कृष्णगोपाल श्रेष्ठ पनि सात संसदीय चुनाव हुँदा आठ पटक उम्मेदवार बनेका छन् । काठमाडौं-१ र ५ बाट २०४८ को चुनाव जितेका मदन भण्डारीको मृत्यु भएपछि काठमाडौं-५ को उपनिर्वाचनमा श्रेष्ठ निर्वाचित भएका थिए । ०५१ मा काठमाडौं-५ बाट निर्वाचित भएका श्रेष्ठ ०५६, ०६४ र ०७० सालको चुनावमा काठमाडौं-९ बाट लगातार पराजित भए ।

०७० को एउटै चुनावमा उनी दुई पटक पराजित भए । काठमाडौं-९ बाट पराजित श्रेष्ठ माधव नेपालले छाडेको काठमाडौं-२ को उपनिर्वाचनमा पनि पराजित भए । ०७४ को चुनावमा भने काठमाडौं-९ बाटै उनी निर्वाचित भए ।

८० वर्षीय महन्थ ठाकुर ०१६ सालमा नेपाली कांग्रेसमा आबद्ध भई राजनीतिमा सक्रिय भएका नेता हुन् । ०६२/०६३ को तराई मधेस आन्दोलनपछि मधेश केन्दि्रत राजनीतिमा रहेका ठाकुर पनि बहुदलीय लोकतन्त्रको उच्चतम उपयोग गर्ने नेताहरुमै पर्छन । २०४८ मै -असार १६ गते देखि २०५१ असोजसम्म) प्रतिनिधिसभाको उपसभामुख भएका थिए । अन्तरिम सरकार २०६३ मा वातावरण तथा विज्ञान प्रविधिमन्त्री भएका ठाकुर पुनः प्रतिनिधिसभा सदस्य हुन चाहन्छन् । यसपटक पनि महोत्तरी ३ बाटै उम्मेदवार छन् ।

कांग्रेसका अर्जुननरसिंह केसी पनि लगातार चुनाव लड्ने नेता हुन् । ०४८, ०५१, ०७० मा विजयी भएका केसी ०५६, ०६४ र ०७४ मा पराजित भए । ०७४ को चुनावमा नुवाकोट क्षेत्र नम्बर २ बाट एमालेका नारायण खतिवडासँग पराजित भए । यसपटक पनि केसी उनै खतिवडासँग चुनावी प्रतिस्पर्धा गर्दर्ैछन् ।

२०४८ सालपछि निरन्तर सोलुखुम्बुबाट उम्मेदवार बन्दै आएका बलबहादुर केसी पनि सातौं पटक चुनावी मैदानमा छन् । २०४८, २०५१, २०५६ र २०७० मा लगातार प्रतिनिधिसभामा निर्वाचित केसी ०६४ र ०७४ मा माओवादी उम्मेदवारसँग पराजित भए । यसपटक केसी माओवादी केन्ऽ र नेकपा एकीकृत समाजवादी समेतको समर्थनमा उम्मेदवार छन् । ६९ वर्षका केसी यसअघि खेलकुद मन्त्री, संस्कृति, पर्यटन तथा नागरिक उड्यान मन्त्री, श्रम तथा रोजगार मन्त्री र भौतिक योजना मन्त्री भइसकेका छन् ।

रमेश रिजाल पनि विगतका कुनैपनि चुनाव नछोडेका नेता हुन् । ०४८, ०५१ र ०६४ मा लगातार पर्साबाट निर्वाचित रिजाल ०५६, ०७० र ०७४ मा लगातार पराजित भए । ६६ वषर्ीय रिजाल यसपटक पनि चुनावी मैदानमा छन् ।

लगातार चुनाव लड्नेमा गण्डकीका पूर्वमुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ पनि पर्छन् । ०७४ को चुनावमा प्रदेशतर्फ लमजुङ प्रदेश ‘ख’ बाट चुनाव लडे । माओवादी केन्ऽसँग तालमेल भएको उक्त चुनावपछि निर्वाचित हुँदै गुरुङ गण्डकी प्रदेशको पहिलो मुख्यमन्त्री बने ।

गुरुङको विगतको चुनावी अनुभव भने सुखद छैन् । २०४३ मा ‘एक बाम-एक ठाम’ नारासहित लमजुङ क्षेत्र नं. २ बाट जनपक्षीय उम्मेदवार बनेका थिए पराजित भए । २०४८ मा मालेका तर्फबाट उम्मेदवार बने पराजित भए । ०५१ मा २०५६ मा पनि पराजित भए ।

२०६४ सालको संविधानसभाको निर्वाचनमा भने उनी निर्वाचित भए । २०६४ चैत्र १८ देखि २०६५ साउनसम्म संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीको जिम्मेवारी निर्वाह गरे । दोस्रो संविधानसभा निर्वाचन २०७० मा लमजुङ क्षेत्र नं. २ बाट फेरि पराजित भए ।

६६ वषर्ीय राजेन्ऽ पाण्डेले ०४८ यताका सबै चुनाव लड्ने अर्का नेता हुन् । एमालेबाट २०४८, २०५१, २०५६ र २०७० को संसदीय निर्वाचनमा विजयी भएका पाण्डे ०७४ को चुनावमा प्रदेशसभा सदस्यमा चुनाव लडे । निवौचित भएपछि स्थानीय विकासमन्त्री हुँदै मुख्यमन्त्रीसम्म भए । मुख्यमन्त्री हुँदा भने उनी नेकपा एकीकृत समाजवादीका भइसकेका थिए । एकीकृत समाजवादीबाटै यसपटक धादिङ १ बाट उनी उम्मेदवार छन् ।

नेता रामचन्ऽ झा पनि लगातार चुनाव लड्ने नेता हुन् । एमाले उम्मेदवारका रुपमा झाले ०५१ र ०६४ को चुनाव जिते भने २०४८ र ०५६ मा पराजित भए । ०६४ को चुनावपछि माओवादी, नयाँ शक्ति, नेकपा, माओवादी हुँदै अहिले उनी एकीकृत समाजवादीमा छन् । माओवादीबाट चुनाव लडेका उनी ०७० र ०७४ को चुनावमा पराजित भए । यसपटक धनुषा २ बाट उम्मेदवार छन् ।

मधेश केन्द्रित राजनीति गर्दै आएका राजेन्ऽ महतो पनि सातौं पटक चुनावी मैदानमा छन् । नेपाल सद्भावना पार्टीबाट २०४८ र २०५१ सालमा पराजित भएका महतो ०५६, ०६४ र ०७४ मा भने विजयी भएका थिए । ०७४ मा महतोले कांग्रेसका विमलेन्ऽ निधिलाई धनुषा-३ बाट २ हजार ९०३ मतले पराजित गरेका थिए । ६४ वषर्ीय महतोले यसअघि २०६३ मा उद्योगमन्त्री, २०६५ र २०६६ मा आपुर्तिमन्त्री, २०६८ मा स्वास्थ्यमन्त्रीको जिम्मेवारी निर्वाह गरिसकेका छन् ।

सातौं पटकको चुनावी मैदानमा यसपटक उनको मुख्य प्रतिस्पर्धीका रुपमा नेपाल समाजवादी पार्टीका अध्यक्ष महेन्ऽ राय यादव छन् । नेकपा माओवादी केन्द्रको चुनाव चिन्हमा चुनाव लड्दै गरेका यादवलाई नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीको समर्थन छ ।

नेताहरु सर्वेन्द्रनाथ शुक्ल, हृदयेश त्रिपाठी र दीपक बोहरा पनि लगातार सातौं पटक चुनावी मैदानमा छन् । ७३ वर्षीय शुक्ल २०४८ को चुनावमा पराजित भए । २०५१ को मध्यावधि चुनावमा जिते । चुनाव जितेपछि २०५२ असोजमा जलस्रोत राज्यमन्त्री । २०५३ चैतमा वाणिज्य मन्त्री भए । २०५४ मा सञ्चार मन्त्री भए । २०६१ मा पर्यटन, नागरिक उड्ययन तथा संस्कृति, वन तथा भू संरक्षण र भूमि सुधार तथा व्यवस्था मन्त्री भए । २०६६ मा शिक्षामन्त्री भए । २०७० मा तमलोपाबाट फेरि चुनाव जिते । ०७४ को चुनाव हारे । शुक्ल यसपटक रुपन्देही ४ बाट उम्मेदवार छन् ।

०४८, ०५१, ०५६ र ०६४ मा नवलपरासीकै फरक फरक निर्वाचन क्षेत्रबाट निर्वाचित हृदशेय त्रिपाठी ०७० मा नवलपरासीबाटै पराजित भए । ०७४ मा एमालेको चुनाव चिहृनबाट निर्वाचित भए । पटक-पटक कार्यकारी भूमिका समेत निर्वाह गरेका त्रिपाठीले यसपटक कांग्रेसका उम्मेदवार विनोद चौधरीसँग मुख्य प्रतिस्पर्धामा छन् ।

७२ वर्षीय दीपक बोहरा त २०३६ सालदेखि चुनाव लड्दै आएका नेता हुन् । २०३६ साल र २०४२ सालको राष्ट्रिय पञ्चायत सदस्यमा निर्वाचित दीपक बोहरा २०७० सालमा रुपन्देही-२ बाट संविधानसभा सदस्यमा निर्वाचित भए । २०३८ मा पर्यटन राज्यमन्त्री र २०३८ मा पर्यटन सहायक मन्त्री भएमा उनी २०४० मा पर्यटन राज्यमन्त्री, २०४३ मा निर्माण तथा यातायात राज्यमन्त्री र २०४४ मै निर्माण तथा यातायात मन्त्री भएका थिए । २०६७ मा वन तथा भूसंरक्षण मन्त्री, २०७३ सालमा आपूर्ति मन्त्री, २०७२ मा श्रम तथा रोजगार मन्त्री र २०७४ मा स्वास्थ्य मन्त्री भए ।

पञ्चायतकालदेखिका राजनीतिक खेलाडी बोहरा ०७४ मा स्वास्थ्यमन्त्रीमा बहाल रहँदा नै रुपन्देही क्षेत्र नम्बर ३ बाट पराजित भएका थिए । यसपटक सोही क्षेत्रबाट उम्मेदवार रहेका बोहराको मुख्य प्रतिस्पर्धा नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणसँग छ ।

लेखकको बारेमा
रघुनाथ बजगाईं

अनलाइनखबरको राजनीतिक ब्यूरोमा आबद्ध बजगाईं संसदीय मामिलामा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?