+
+

मेटमणि चौधरी : अनुकूल अंकगणितमा गठबन्धनको बल

आभास बुढाथोकी आभास बुढाथोकी
२०७९ कात्तिक ३० गते ९:५३

मेटमणि चौधरी पछिल्लो केही वर्ष राष्ट्रिय राजनीतिमा चर्चामा रहे । नेकपा (एमाले)को अन्तरसंघर्षमा गरेका चर्का टिप्पणीले उनलाई चर्चित बनायो ।

एमालेको अन्तरसंघर्ष विभाजनको चरणमा पुग्दा माधवकुमार नेपालतिर लागेर शहरी विकास मन्त्री बनेका चौधरी दाङ-१ बाट प्रतिनिधिसभा सदस्यमा उठेका छन् । सत्ता गठबन्धनबाट साझा उम्मेदवार बनेका उनको यो दोस्रो संसदीय चुनावी प्रतिस्पर्धा हो ।

२०२९ मा दाङको गढवा गाउँमा जन्मिएका उनी २०५४ सालमा एमाले अखिलको दाङ जिल्ला अध्यक्ष भएका थिए । पार्टीको जिल्ला सदस्य हुँदै नवौं महाधिवेशनबाट वैकल्पिक केन्द्रीय सदस्य निर्वाचित भएपछि उनले जिल्ला इञ्चार्जको जिम्मेवारी पनि पाए ।

२०७४ सालमा पहिलो पटक सांसदको टिकट पाएका चौधरी दाङ-१ बाट निकटतम प्रतिद्वन्द्वीको भन्दा दोब्बर मतका साथ विजयी भएका थिए । त्यसबेला उनले ३४ हजार १८७ र नेपाली कांग्रेसकी सुशीला चौधरीले १७ हजार ८४० मत पाएकी थिइन् ।

यसपटक मेटमणिलाई एमालेकी शान्ता चौधरीले चुनौती दिएकी छन् । टिकट नपाएपछि एमाले छाडेकी गंगा चौधरी पनि यही क्षेत्रबाट उम्मेदवार बनेकी छन् ।

२०७४ मा एमालेको संगठन र वाम गठबन्धनको बलमा अत्यधिक मतका साथ विजयी बनेका मेटमणिलाई यसपटक सत्ता गठबन्धनको साथ छ ।

चुनावी अंकगणित

गत स्थानीय निर्वाचनमा दाङ-१ मा वडाअध्यक्षका उम्मेदवारहरूले पाएको दलगत मतमा कांग्रेसले २९ हजार ७५७, एमालेले २७ हजार २५, माओवादी केन्द्रले १९ हजार २७६, राष्ट्रिय जनमोर्चाले २ हजार ५९६ र एकीकृत समाजवादीले २ हजार ३४१ मत पाएका छन् ।

गठबन्धनको कुल मत झण्डै ५३ हजार ९७० हुन्छ । स्थानीय चुनावको यो आँकडाले चौधरी निकै अनुकूल अवस्थामा रहेको देखाउँछ । गठबन्धनको मत जोगाउँदै एमालेबाट मत तान्न सक्दा दाङ-१ मा मेटमणि चौधरीले दोस्रो जित निकाल्ने अवस्था देखिन्छ ।

लेखकको बारेमा
आभास बुढाथोकी

बुढाथोकी अनलाइनखबरका संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?