+
+

बाँके १ : अंकगणितमा अथक अगाडि, गठबन्धनकै मत तान्ने एमाले रणनीति

विनोद घिमिरे विनोद घिमिरे
२०७९ कात्तिक ३० गते ११:१७

३० कात्तिक, बाँके । युवा तथा खेलकुद मन्त्री एवम् नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य महेश्वरजंग गहतराज अथक बाँके क्षेत्र नं. १ बाट पुनः सांसद दोहोरिने तयारीसहित चुनावी मैदानमा छन् ।

उनलाई रोक्दै पहिलो पटक सांसद बन्ने दौडमा छन् नेकपा एमालेका उम्मेदवार सूर्य ढकाल । दुवै उम्मेदवारले आफूले चुनाव जित्ने दाबी गर्दै आएका छन् ।

२०७४ को निर्वाचनमा वाम गठबन्धनबाट गहतराजलाई जिताउन खटिएका ढकाल यसपटक राप्रपासँगको गठबन्धनबाट प्रतिस्पर्धामा उत्रिएका छन् । गहतराजलाई भने कांग्रेस, एकीकृत समाजवादी लगायतका दलको साथ छ । उमेरले एक वर्षमात्र तल-माथि रहेका गहतराज र ढकालबीचको चुनावी प्रतिस्पर्धा यहाँ रोचक हुने अनुमान छ ।

विगतमा गरेका विकासका काम र अघि सारिएका योजनाका कारण फेरि पनि आफूले नै जित्ने गहतराज बताउँछन् । गहतराजले आफ्नो पहलमा राप्तीसोनारी र नरैनापुरमा विद्युत विस्तार, यी दुईलाई जोड्ने उत्तर-दक्षिण र पूर्व-पश्चिम तर्फका सडक निर्माण, राप्ती नदीमा पक्की तटबन्ध, टिनको छानो रहित विद्यालय भवन निर्माण अभियान र प्राविधिक धारको शिक्षाको पढाइ सुरु गरेको दाबी गरेका छन् ।

‘मेरै पहलकदमीमा दुर्गम राप्ती सोनारी र नरैनापुर अहिले सुगम क्षेत्रका रुपमा परिणत हुँदै गएका छन्,’ गहतराज भन्छन्, ‘पोल गाडेको ३० वर्षसम्म पनि बिजुली बत्ती गएको थिएन, अहिले स्थानीयले बिजुली बाल्न पाएका छन् । अहिले सडक सञ्जालसँगै प्रारम्भिक चरणको अस्पताल पनि गाउँमै बनेपछि आधा घन्टा भित्र अस्पताल पुग्न सकिने अवस्था छ ।’

उनले खेलकुद मन्त्री भएपछि कोहलपुरमा महिला क्रिकेट एकेडेमी निर्माण गर्ने पहिलो निर्णय गरेका थिए । कोहलपुर ११ मा निर्माण गर्ने भनिएको अन्तर्राष्ट्रिय क्रिकेट रंगशालासँगै क्रिकेट एकेडेमीको काम अगाडि बढेको र डीपीआर सम्पन्न भएको उनले बताए । उनले यसलाई फेरि निर्वाचित भए प्राथमिकताका साथ काम सम्पन्न गर्ने मुख्य योजनाको रुपमा प्रचार गरेका छन् ।

ढकाल भन्छन्- जनताले परिवर्तन चाहेका छन्

तर एमाले केन्द्रीय सदस्य ढकाल भने बाँके क्षेत्र नं. १ का जनताले परिवर्तन चाहेकाले यसपटक आफूले जित्ने दाबी गर्छन् ।
उनले एमाले नेतृत्वको सरकारका पालामा भएका कामलाई पनि गहतराजले आफूले गरेको भनेर जस लिन खोजेको आरोप लगाउँछन् ।

उनी भन्छन्, ‘राप्ती सोनारी, नरैनापुर, कोहलपुर क्षेत्रमा जनताको सेवा सुविधाका लागि मैले धेरै पसिना बगाएको छु, यहाँ जेजति विकासका भएका छन् उहाँले -गहतराजले) मात्रै गरेर सम्भव हुने कुरा होइन । ती काममा मेरो पनि पहल छ ।’

विगतका संसदीय चुनाव र स्थानीय निर्वाचनको परिणाम

बाँके क्षेत्र नं. १ मा विगतका संसदीय निर्वाचनको परिणाम हेर्दा उलटपुलट भएको इतिहास छ । २०४८ सालमा कांग्रेसबाट सैयदमेराज अहमद शाहले जितेका थिए । २०५१ र २०५४ सालमा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट प्रेमबहादुर भण्डारीले जिते ।

२०५६ मा फेरि कांग्रेसबाट ज्ञानु केसीलाई जिताएका यहाँका मतदाताले २०६४ मा भने नेकपा माओवादीबाट तिलक परियारलाई चुने । २०७० मा नेकपा एमालेका देवराज भार र २०७४ मा एमाले-नेकपा माओवादी केन्द्रको गठबन्धनबाट माओवादी केन्द्रका महेश्वरजंग गहतराज निर्वाचित भएका थिए ।

बाँके क्षेत्र नम्बर १ मा कोहलपुर नगरपालिका, राप्तीसोनारी गाउँपालिका र नरैनापुर गाउँपालिका पर्दछन् । गत वैशाखमा भएको स्थानीय तह निर्वाचनमा कोहलपुर नगरपालिका र राप्तीसोनारी गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । नरैनापुरमा जनता समाजवादी पार्टी (जसपा) ले जितेको छ ।

कोहलपुर नगरपालिकामा मेयर र उपमेयरसहित ९ वटा वडाहरु नेपाली कांग्रेसले जितेको छ । कोहलपुरका १५ वटा वडाहरुमध्ये एमालेले ३, ५, ७ र ११ गरी चार वटा वडा जितेको छ । १ र ९ नम्बर वडा भने माओवादी केन्द्रले जितेको छ ।

यसैगरी राप्ती सोनारीमा पनि अध्यक्ष र उपाध्यक्ष नेपाली कांग्रेसले जितेको छ । ९ वटा वडाहरुमध्ये पाँच वटा वडा एमालेले, ३ वटा माओवादी केन्द्रले र एउटा वडा राप्रपाले जितेका छन् ।

यसैगरी नरैनापुर गाउँपालिकाको अध्यक्ष, उपाध्यक्षसहित दुई वटा वडा जसपाले र चार वटा वडा कांग्रेसले जितेको छ ।
स्थानीय तह निर्वाचनमा वडाअध्यक्षहरुले पाएको मतको आधारमा बाँके क्षेत्र नम्बर १ मा नेपाली कांग्रेस पहिलो पार्टी हो । एमाले दोस्रो, माओवादी केन्द्र तेस्रो, राप्रपा चौथो, जसपा पाँचौ र एकीकृत समाजवादी छैटौ स्थानमा छन् ।

कांग्रेसको सबैभन्दा धेरै ३० हजार १७४ मत देखिन्छ । एमालेको २६ हजार ४२७ र माओवादी केन्द्रको १७ हजार ११० मत छ । राप्रपाको ४ हजार ९०२, जसपाको ३ हजार ९५१ र एकीकृत समाजवादीको एक हजार ४४६ मत छ । कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीबीच गठबन्धन भएकाले यी तीन दलको मत जोड्दा ४८ हजार ७३० मत हुन्छ । एमाले र राप्रपाबीच गठबन्धन भएकाले उनीहरुको मत जोड्दा ३१ हजार ३२९ मत देखिन्छ ।

गठबन्धन अनुसार नै मत खसेमा माओवादी केन्द्रबाट उम्मेदवार बनेका गहतराजलाई चुनाव जित्न सहज हुने देखिन्छ । तर कांग्रेस सबैभन्दा ठूलो दल हुँदाहुँदै माओवादी केन्द्रलाई टिकट दिइएको भन्दै असन्तुष्टि पनि देखिन्छ । त्यही असन्तुष्ट भोट तानेर चुनाव जित्ने रणनीतिमा एमालेका ढकाल देखिन्छन् ।

चुनाव जित्ने दुवैको दाबी

माओवादी केन्द्र कोहलपुर नगरपालिका अध्यक्ष अवराज खड्काले भने असन्तुष्टिहरुलाई मिलाइसकेकाले गहतराजले नै चुनाव जित्ने दाबी गर्छन् । उनले भने, ‘नेतृत्वमा रहेपछि केही असन्तुष्टिहरु हुन्छन्, त्यसलाई हामीले स्वाभाविक रुपमा लिएका छौं र अहिले सबै मिलाइसकेका पनि छौं । हाम्रो विश्लेषण अनुसार हामी कम्तिमा १० हजार मत अन्तरले जित्छौं ।’

तर एमाले उम्मेदवार सूर्य ढकालको निजी सचिवालय संयोजक रेशमबहादुर खत्रीले स्थानीय तह चुनावको भोट हेर्दा गठबन्धन बलियोजस्तो देखिए पनि कांग्रेस र माओवादीकै भोट तानेर आफूहरुले चुनाव जित्ने दाबी गरे ।

खत्रीले भने, ‘कांग्रेस र माओवादीको भोट पनि हामीले पाउँदैछौं,’ उनले भने, ‘हाम्रो माहोल राम्रो हुँदै गएको छ, करिब ६ हजार मत अन्तरले जित्ने आँकलन गरेका छौं ।’ एमाले नेता खत्रीले स्वतन्त्र उम्मेदवार तथा अन्य साना दलहरुले माओवादीको भोट काट्ने र त्यसको फाइदा एमालेलाई पुग्ने विश्लेषण सुनाए ।

बाँके १ मा रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीका आनन्दबाबु काफ्ले, रेशम चौधरीको पार्टी नागरिक उन्मुक्तिका सुरेश कुमार चौधरी लगायतको उम्मेदवारी पनि छ । यसैगरी कांग्रेस, राप्रपा हुँदै अहिले स्वतन्त्र उम्मेदवारी दिएका प्रदीप कुमार शाह पनि चुनावी मैदानमा छन् । उनीहरुले अहिलेको संसदीय राजनीतिबाट असन्तुष्टहरुको केही मत काट्ने अनुमान छ ।

लेखकको बारेमा
विनोद घिमिरे

घिमिरे अनलाइनखबर डटकमका डेस्क सम्पादक हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?