+
+

गठबन्धनका विरोधाभास र मंसिर ४ पछिको नेपाली राजनीति

जस्तोसुकै शीर्ष नेता किन नहोस् चुनाव हार्न हुन्छ भन्ने नै लोकतन्त्र/गणतन्त्रको एक महत्वपूर्ण र सुन्दर पक्ष हो । तर नेताले जसरी पनि जित्न खोज्दा लोकतन्त्रले भने हारिरहेको छ ।

दामोदर त्रिपाठी दामोदर त्रिपाठी
२०७९ कात्तिक ३० गते १३:४६

विगतका आम चुनावमा विभिन्न खाले उत्साह र अपेक्षा आम मतदातामा रहेका हुन्थे । दलहरूका केही फरक र भिन्न विचार तथा मुद्दामा उनीहरू कहीं न कहीं जोडिएको ठान्थे । आसन्न मंसिर ४ गतेको चुनाव त्यस अर्थमा भिन्न हुन पुगेको छ । मतदाताबाट कुन दल वा उम्मेदवार नजिकको कुन टाढाको भनेर छुट्याउन अप्ठेरो भइरहेको छ । हिजोका विरोधी र प्रतिस्पर्धी भनिएका दल र उम्मेदवार आज एउटै मञ्च र मोर्चामा खडा भएका छन् । हिजो सँगसँगै चुनावमा सामेल भएका उम्मेदवार र समूह आज फरक-फरक मञ्च र प्रतिस्पर्धामा सामेल भएका छन् । कसलाई ठीक भन्ने, कसलाई गलत । नेताहरू त सबै एकै ठाउँमा रहेछन् । हामीले आफूलाई कोदेखि टाढा र कोदेखि नजिक राख्ने ? मतदाताले आफैंतर्फ फर्केर सोच्नुपर्ने अवस्था आएको छ ।

संविधानको रक्षा र प्रतिगमनको विषय एउटा पक्षले उठाइरहेको छ । राष्ट्रिय स्वाधीनता र बलियो राष्ट्रवादको कुरा अर्कोले उठाइरहेको छ । केही तर्कशास्त्रीहरूले मिडियामा यसलाई पनि प्रतिस्पर्धामा रहेका पक्षहरूलाई फरक देखाउने आधार बनाउने गरेका छन् । तर, आम जनताको बीचमा नजिकैको इतिहासको अनुभव ताजै छन्- को कति स्वाभिमानी छ र को कति आत्माभिमानी छ । को कति प्रजातान्त्रिक मूल्य र मान्यताप्रति प्रतिबद्ध छ र को कसका व्यवहारले अधिनायकवादी र निरंकुश प्रवृत्तिहरूलाई प्रवर्धन गरिरहेका छन् ! यसो भनेर सबै नेतृत्वको समूह गलत छ भन्न खोजिएको पनि होइन (तर, सबै ठिक छैनन् पनि) ।

कुरा के हो भने राजनीतिमा अगाडि जे देखिन्छ त्यही सबै पूर्ण हुँदैन । आन्तरिक र बाहृय कारण र बाध्यताहरूले राजनीतिलाई नयाँ-नयाँ मोड दिइरहेको हुन्छ । विगतमा जे भए त्यसलाई यस्तै खाले विभिन्न मोडहरूका रूपमा बुझौं भन्ने मात्रै हो ।

त्यसो भए आसन्न निर्वाचन एउटा यान्त्रिक चुनाव मात्रै हो ? वैचारिक रूपमा यो खोक्रो आदर्शको वितरण मात्रै हो ? राजनीति र निर्वाचनको नाममा हामी फगत नेतृत्वको बाक्लो पुरानो पंक्तिलाई नवीकरण गर्ने, विजय उत्सव मनाउने र राज्यको सत्ता र सुविधा भोग गर्न खुल्ला छुट दिने एउटा जात्रामा मात्र सामेल भइरहेका हौं ? प्रश्न विभिन्न तवरले उठ्ने गरेका छन् । यस सम्बन्धमा हालको निर्वाचनमा देखिएको गठबन्धनको प्रयोग सबैभन्दा केन्द्रीय र विरोधाभासपूर्ण विषय हो । यो निर्वाचनका अन्य प्रवृत्तिसँग पनि यसको गहिरो सम्बन्ध छ । यस सम्बन्धमा अगाडि छलफल गरौं ।

गठबन्धनका प्रयोग (विरोधाभास)

माथि भनिएका विभिन्न परिदृश्यहरूमा सबैभन्दा चर्चा भइरहेको र राजनीतिक रूपमा महत्वपूर्ण रहेको परिदृश्य भनेको गठबन्धनको राजनीति हो । यतिबेलाका निर्वाचनमा देशका मुख्य दुई ठूला दलहरू ! सत्तारुढ नेपाली कांग्रेस र प्रमुख प्रतिपक्षी नेकपा एमालेको अगुवाइमा दुई ठूला गठबन्धन बनेका छन् । यसपटक यस्तो देखिन्छ कि वास्तवमा दलीय चुनाव नभएर यो दुई गठबन्धनहरूबीचको प्रतिस्पर्धा देखिएको छ ।

गठबन्धन वा दलहरू र उम्मेदवारहरूका बीचमा राजनीतिक समीकरणहरू विगतका चुनावमा पनि नभएका होइनन् तर यो पटक त्यो परिदृश्यमा गुणात्मक रूपमा भिन्नता आएको छ । विगतमा ठूला राजनीतिक दलहरू सँगसँगै धेरै संख्यामा साना राजनीतिक दलहरूमा पनि छुट्टाछुट्टै रूपमा प्रतिस्पर्धामा सामेल भएका हुन्थे । खासगरी मधेशबाट, त्यस्तै पूर्व प्रदेश र पश्चिम थारू बहुल प्रदेशहरूबाट नयाँ तथा साना दलहरूको उल्लेख्य सहभागिता रहने गरेको थियो । यो अवस्था यस पटक छैन ।

फेरि आउँदो पाँच वर्ष दलतन्त्रको पञ्जाबाट बाहिर आम जनताको सहभागितामा लोकतन्त्रको सबलीकरण र समाज रूपान्तरणको एउटा महत्वपूर्ण जिम्मेवारी पूरा गर्ने दिशाबाट नयाँ नेतृत्व अल्मलिनेछ, च्युत हुन सक्नेछ । अपेक्षा गरौं त्यस्तो हुनेछैन । अबको राजनीति देशको पक्षमा, लोकतन्त्र र समाज रूपान्तरणको पक्षमा हासिल गर्न नेतृत्व प्रतिबद्ध हुनेछ, हामी सफल हुनेछौं

तीमध्ये धेरै दल ठूला गठबन्धनमा सहभागी भएका छन् भने केही साना तथा स्वतन्त्र उम्मेदवारहरूको प्रचार र संलग्नता अत्यन्त सीमित क्षेत्रहरूमा मात्रै रहेको छ ।
गठबन्धनको प्रतिस्पर्धामा देखिएको अर्को रोचक दृश्य के हो भने विगतमा विपरित सैद्धान्तिक मान्यता र विचार बोकेका भनिएका दल र समूह यसपटक एकै ठाउँमा, एउटै गठबन्धनमा सहभागी भएका छन् । उदाहरणका लागि कांग्रेस र माओवादीको गठबन्धन अनपेक्षित थियो । स्थानीय निर्वाचनमा पनि यी दुई दलहरूबीचमा समीकरण भएका थिए । त्यसमा पनि काफी आलोचना भयो । तर, केन्द्रीय र प्रदेश तहमा यो खाले गठबन्धनको सम्भावनालाई अनुमान गर्न एक वर्ष अगाडि पनि धेरै गाह्रो थियो । त्यस्तै एमालेले जसपासँग गरेको सहकार्य र राप्रपाका दुवै खेमासँगका चुनावी तालमेल पनि आम मतदाताहरूले अपेक्षा गरेभन्दा भिन्न परिदृश्य हुन् ।

यी परिदृश्यले आम मतदातामा रहेका कांग्रेस र कम्युनिस्ट, अनि गणतन्त्रवादी र संघीयता विरोधी बीचका सीमालाई नराम्रो गरी हल्लाइदिएको छ । कतिपय अवस्थामा नामेट नै पारिदिएको छ । आम तवरमा हेर्दा मूलधारका राजनीतिक दल र तिनीहरूको मुख्य नेतृत्वले कुनै पनि अवस्थामा चुनाव हार्नुहुँदैन भन्ने मान्यता दुवै खेमाका गठबन्धनहरूले स्थापित गर्न खोजेका त होइनन् भन्ने आशंका पनि उत्पन्न भएको छ । दशकौं लामा-लामा संघर्ष, युद्ध, हजारौं शहीदको बलिदान र लाखौं नागरिकको योगदानबाट हासिल उपलब्धि र व्यवस्थालाई केही नेताले आफ्नो सत्ता रक्षाको औजारमा सीमित गर्ने नियत हो भनेर आशंका किन नगर्ने ?

तर, यदि त्यसो हो भने, यो गैरजिम्मेवार र गैर-लोकतान्त्रिक अभ्यास पनि हो । जस्तोसुकै शीर्ष नेता किन नहोस् चुनाव हार्न हुन्छ । यही नै लोकतन्त्र/गणतन्त्रको एक महत्वपूर्ण र सुन्दर पक्ष हो ।

यसैसँग जोडिएको अर्को विरोधाभासी दृश्य के हो भने गणतन्त्र र संघीयताप्रति गहिरो मतभेद राख्ने समूह र व्यक्तिहरूलाई गठबन्धन र गठजोडका नाममा आफ्नो पक्षबाट टिकट दिन खोसाखोस गर्ने काम भयो । परिवर्तनको मोर्चामा अगाडि लागेका नेता-कार्यकर्ताहरू जनपरीक्षण नै हुन नपाई राजनीतिबाट बिदा हुनुपर्ने अवस्था एकातिर छ । अर्कोतिर परिवर्तनकारी शक्तिहरूले आफ्ना झण्डा, चिहृन, घोषणापत्रहरू परिवर्तन विरोधी दल र उम्मेदवारहरूलाई खुल्ला प्रयोग गर्न दिने अराजनीतिक र विरोधाभासी काम भयो । यो निर्वाचनको अर्को विडम्बनापूर्ण अवस्था हो ।

आफ्ना अराजनीतिक र व्यक्तिगत स्वार्थ पूरा हुन अवरोध हुने अवस्थामा यिनै दलहरूले देशको सार्वभौमिकता र प्राप्त उपलब्धिहरूलाई जनविरोधी शक्तिको हातमा दिंदैनन् र यसको रक्षा गर्छन् भन्ने कसरी ग्यारेन्टी गर्ने ? जनतालाई झस्काएको छ । दलहरू र नेतृत्वको विश्वसनीयतामा प्रश्न खडा गरेको छ ।

गठबन्धनको यो तवरको विरोधाभासपूर्ण अभ्यासको प्रभाव दलका परम्परागत संगठित भोटरहरूको प्राथमिकता र छनोटमा परिरहेको छ । पार्टीका तल्ला इकाईहरूलाई संगठित तवरले क्रियाशील हुन र चुनावी अभियानलाई अगाडि बढाउन असहज भइरहेको छ । जसले गर्दा उम्मेदवार र चुनाव सञ्चालक समूहले उम्मेदवार केन्द्रित फोन सम्पर्क, सामाजिक सञ्जाल र व्यक्तिगत भेटघाटका माध्यमलाई तीव्रता दिनुपर्ने अवस्था आएको छ ।

आम कार्यकर्ताले आफैंलाई आफ्नो दलको जिम्मेवार कार्यकर्ताको रूपमा परिचालित हुने अवस्था भइरहेको छैन । नेतृत्व छनोटको यो अभियान कतिपय अवस्थामा झन् बढी संकुचित र अपारदर्शी भइरहेको छ । दलका परम्परागत संरचनाहरू निर्वाचन प्रक्रियामा अनुपयुक्त सावित भएका छन् ।

संचार र सम्पर्क प्रविधिमा आएका नयाँ विकाससँग यसको सम्बन्ध त छ नै यसभन्दा बढी यतिबेला गठबन्धनको अभ्यास मूल कारण बनिरहेको छ । आखिर नेतृत्वले आसन्न निर्वाचनको महत्वलाई सिद्धान्त, राजनीतिक इमानदारी र सांगठनिक महत्वमा समेत सम्झौता गर्नुपर्ने अवस्थामा किन पुर्‍याए ? यो यतिबेलाको आम जनसवाल हो । के नेपालको राजनीतिक विकासको यो त्यस प्रकारको विशिष्ट अवस्था हो वा मुख्य दलीय नेतृत्वले आफ्ना अक्षमता र कमजोरीहरूलाई ढाकछोप गर्न नयाँ-नयाँ सट्टा-पट्टाको अभ्यास गरिरहेका हुन् ? अप्राकृतिक र विरोधाभासी देखिने गठबन्धनका औचित्यलाई आगामी दिनमा राजनीतिक तवरले नै पुष्टि गर्नुपर्ने चुनौती यो निर्वाचनसँगै नेतृत्वमाथि थपिएको छ ।

चुनावपछिको राजनीति

आसन्न निर्वाचन राजनीतिक रूपमा नियमित प्रक्रियाको एक कडी मात्रै भए पनि आम मतदाताका लागि भने अन्योलग्रस्त चुनाव हुनसक्दछ । विगतमा जस्तो कुन समूह र परिवारले कसलाई भोट दिने वा नदिने भन्ने रहेन । विचार, सिद्धान्त र आदर्श पछ्याउन दलहरूले छाडिदिएका छन् । फेरि पनि संरचनागत परिस्थितिको उपजको रूपमा निर्वाचन परिणाम प्रमुख दलहरूकै पक्षमा केन्दि्रत हुनुको अर्को विकल्प छैन ।

त्यसो भए चुनावपछिको राजनीति विगतकै निरन्तरता मात्रै हो त ? यान्त्रिक रूपमा देशको राजनीति एक वर्ष अगाडि जहाँ थियो, आज जहाँ छ, चुनावपछि पनि त्यसको दिशा र गतिमा ठूलो फेरबदल भइहाल्ने अवस्था छैन । तथापि यदि नेतृत्वले चाहृयो भने एउटा सम्भावनाको ढोका खोल्न सकिन्छ, यो निर्वाचनपश्चात् । देशको वास्तविकता र जनचाहनालाई मध्यनजर गर्दै निर्वाचनबाट आउने नयाँ नेतृत्वले परिस्थितिलाई देश र जनताको पक्षमा बदल्न एउटा बलियो अठोट लिन सक्छ । हाल देखिएका विरोधाभासपूर्ण अभ्यासलाई परिस्थितिको आवश्यकता र केही महत्वपूर्ण कारणका लागि सावित गर्ने अवसर नेतृत्वलाई उपलब्ध हुनेछ, जुन गठबन्धनको पक्षमा चुनावको परिणाम आए पनि । तर, विगतकै निरन्तरताको रूपमा सबै काम माथिबाट हुन्छ भन्ने यान्त्रिक र यथास्थितिवादी मान्यतालाई छिचोल्न नयाँ नेतृत्व असफल भयो भने त्यो दुखद हुनेछ ।

फेरि आउँदो पाँच वर्ष दलतन्त्रको पञ्जाबाट बाहिर आम जनताको सहभागितामा लोकतन्त्रको सबलीकरण र समाज रूपान्तरणको एउटा महत्वपूर्ण जिम्मेवारी पूरा गर्ने दिशाबाट नयाँ नेतृत्व अल्मलिनेछ, च्युत हुन सक्नेछ । अपेक्षा गरौं त्यस्तो हुनेछैन । अबको राजनीति देशको पक्षमा, लोकतन्त्र र समाज रूपान्तरणको पक्षमा हासिल गर्न नेतृत्व प्रतिबद्ध हुनेछ, हामी सफल हुनेछौं ।

लेखक मानवशास्त्र/समाजशास्त्र विषयको अध्यापनमा संलग्न छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?