+
+

सोलुमा एमालेका मानवीर : ३१ हजार विरुद्ध १६ हजारको टक्कर

गार्डेन राई गार्डेन राई
२०७९ कात्तिक ३० गते १४:२०

७ असार २०२७ मा सोलुखुम्बुको बासा गाउँ पंचायत, ठूलोढुंगा (हालः दूधकोशी गाउँपालिका-२) मा जन्मिएका मानवीर राई परिवारको अन्तरे छोरा हुन् । उनको राजनीतिक जीवन खरीखोला माध्यमिक विद्यालयमा पढ्दा २०४३ सालबाट अनेरास्ववियुमार्फत सुरु भयो । त्यसपछि २०४६ देखि २०४७ सम्म उनी अखिल नेपाल किसान संघको जिल्ला कमिटी सचिवालय सदस्य र २०४८ बाट जिल्ला कमिटी उपसचिव रहे ।

२०५४ सालमा वडा सदस्य, त्यसपछि जिल्ला विकास समिति सदस्य र दुर्गम क्षेत्र विकास समिति सदस्य बनेका राईले २०६५ मा आदिवासी जनजाति उत्थान विकास समिति सोलुखुम्बुको उपाध्यक्षमा नियुक्ति पाए । त्यहीबीचमा नेकपा (एमाले) जिल्ला कमिटी उपाध्यक्ष बनेका उनी दोस्रो संविधानसभा निर्वाचनपछि कार्यवाहक अध्यक्ष भए ।

२०७२ मा एमालेको जिल्ला अध्यक्ष भएका उनी एमाले–माओवादी केन्द्र एकताबाट बनेको नेकपाको पनि अध्यक्ष रहे । गत वर्ष भएको एमालेको दशौं राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित राई अहिले पार्टीको जिल्ला इन्चार्ज पनि छन् ।

यिनै मानवीर राईलाई एमालेले यसपटक सोलुखुम्बुबाट प्रतिनिधिसभा सदस्यमा उठाएको छ । जिल्लाको शिक्षा, स्वास्थ्य, पर्यटनको विकासमा अझ सशक्त रूपमा काम गर्न आफू उम्मेदवार बनेको राई बताउँछन् । पार्टीको तर्फबाट सर्वसम्मत उम्मेदवार भएकाले आफ्नो जित सुनिश्चित रहेको उनको दाबी छ ।

एउटै निर्वाचन क्षेत्र रहेको सोलुमा एमालेको बलियो संगठनका अगाडि सत्ता गठबन्धनको केही नलाग्ने उनी बताउँछन् । ‘फेरि, गठबन्धन आफैं समस्याको जालोमा फसेको छ’, उनले भने ।

लामो समयदेखि निरन्तर जिल्लाको राजनीतिक–सामाजिक काममा सक्रियता, बलियो पार्टी संगठन र सर्वसम्मत उम्मेदवारी उनका चुनावी सबलता हुन् । गत वैशाखको स्थानीय तह निर्वाचनमा दलगत रूपमा वडाअध्यक्षहरूले पाएको मत भने उनको लागि उति अनुकूल लाग्दैन ।

स्थानीय निर्वाचनमा सोलुमा नेपाली कांग्रेसले १९ हजार ६८, एमालेले १६ हजार ५९७, नेकपा (माओवादी केन्द्र)ले १२ हजार ४२५ र नेकपा (एकीकृत समाजवादी)ले १६३ मत पाएका थिए । गठबन्धनको पक्षमा रहेको ३१ हजार ६५६ विरुद्ध १६ हजार ५९७ मत लिएर विजय निकाल्न राईलाई अप्ठ्यारै देखिन्छ ।

फेरि, उनलाई सत्ता गठबन्धनबाट उठेका कांग्रेसका अनुभवी राजनीतिक खेलाडी बलबहादुर केसीसँग भिडेर जित निकाल्नु छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?