+
+

५ हजार मेट्रिक टन युरिया मल वीरगञ्ज भित्रिंदै

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक ३० गते १७:४८
युरिया मल/फाइल तस्वीर

३० कात्तिक, वीरगञ्ज । कृषि सामग्री कम्पनी लिमिटेडले ग्लोबल टेन्डर मार्फत खरिद गरेको ५ हजार मेट्रिक टन युरिया मल रक्सौल आइपुगेको छ । भारतको विशाखापटनम बन्दरगाह हुँदै रेलमार्गबाट रक्सौल रेल्वे यार्डमा मल आइपुगेको कम्पनीको वीरगञ्जस्थित प्रादेशिक कार्यालयका सूचना अधिकृत आलोक कुमारले जानकारी दिए ।

सरकारी अनुदानको उक्त रासायनिक मल रक्सौलबाट भन्सार जाँच पासको प्रक्रिया पुरा गरेर क्रमशः वीरगञ्ज भित्रिरहेको उनले बताए ।

उनका अनुसार इन्डियन पोटास लिमिटेडसँग खरिद सम्झौता भएको ३० हजार मेट्रिक टन मध्ये २२ हजार ५ सय मेट्रिक टन मल वीरगञ्ज नाका हुँदै भित्रिनेछ । वीरगञ्ज आउने २२ हजार ५ सय मेट्रिक टन मल मध्ये १२ हजार मेट्रिक टन वीरगञ्जमा राखिने छ भने १० हजार ५ सय मेट्रिक टन भैरहवास्थित प्रादेशिक कार्यालयमा पठाइने छ । बाँकी ८ हजार ५ सय मेट्रिक टन सिधै विराटनर स्थित प्रादेशिक कार्यालयले पाउने छ ।

सूचना अधिकृत आलोक कुमारका अनुसार दुई र्‍याक अर्थात ५ हजार मेट्रिक टन मल रक्सौलमा अनलोड भइसकेको र २४ कात्तिकदेखि मल आउने क्रम सुरु भइसकेको छ ।

‘युरिया मल बोकेको पहिलो र्‍याक शनिबार र दोश्रो र्‍याक सोमबार रक्सौल आइपुगेको थियो,’ उनले भने, ‘भन्सार जाँचपासको प्रक्रिया पुरा गरेर कार्यालयमा आउने क्रम सुरु भएको छ ।’
एउटा र्‍याकमा सामान्यतया २ हजार ५ सय मेट्रिक टन मल आउने गरेको छ । भारतीय कम्पनीले ओमानबाट मल खरिद गरेर नेपाल पठाइरहेको छ ।

वीरगञ्ज प्रादेशिक कार्यालयको गोदाममा भित्रिएको युरिया मल माग भएका जिल्लाहरुमा परिचालन समेत हुन थालिसकेको उनले बताए ।

हेटौंडा, सिन्धुली, भरतपुर, जनकपुर, चन्द्रपुर, ढल्केवर, सिन्धुली, कलैया, पर्वत र दमौली कार्यालयमा समेत गरी ५ सय ३५ मेट्रिक टन मल परिचालन भइसकेको उनको भनाइ छ । गहुँ बाली सिजनका लागि भारतबाट जीटुजी मार्फत थप ३० हजार मेट्रिक टन युरिया मल खरिद प्रक्रिया पनि अन्तिम चरणमा पुगेको उनले जानकारी दिए ।

‘२ साता भित्र वीरगञ्ज आउने २२ हजार ५ सय मेट्रिक टन मल आइसक्ने सम्भावना छ,’ उनले भने, ‘थप ३० हजार मेट्रिक टन युरिया मल जीट”जी मार्फत खरिद हुँदैछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?