+
+

पुष्करनाथलाई स्वतन्त्र हैसियतमा जित्ने चुनौती

ओझाको परानो राजनीतिक प्रभाव, पार्टी नेतृत्वबाट गरिएको कारवाहीको सहानुभूति, डोटी बाहुल्य, कांग्रेसभित्रको किचलो, सत्ता गठबन्धनका दलभित्रको असन्तुष्टी, स्वतन्त्रको लहर, मेयर हमालको अघोषित सहयोग जस्ता पक्ष उनको चुनावका अनुकुलता हुन् ।

जनक विष्ट जनक विष्ट
२०७९ कात्तिक ३० गते १७:५९

२०७४ को प्रतिनिधिसभा निर्वाचनमा कैलाली-५ बाट कांग्रेस सभापति शेरबहादुर देउवाकी पत्नी आरजु राणा उम्मेदवार बनेपछि यस क्षेत्रबाट आकांक्षी पुष्करनाथ ओझा देउवासँग असन्तुष्ट थिए । उनी चुनाव प्रचारमा हिँडेनन्, आरजुले पनि चुनाव हारिन् ।

चुनावमा असहयोग गरेको भन्दै कांग्रेसले २०७७ मा पुष्करनाथलाई पार्टीबाट निष्कासन गर्‍यो । उनै पुष्करनाथले यसपटक प्रतिनिधसभामा स्वतन्त्र उम्मेदवारी दिएपछि कांग्रेसको फेरि टाउको दुखेको छ ।

यस पटक पनि कैलाली-५ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवारमा आरजु एकल रुपमा सिफारिस भएकी थिइन् । तर पुष्करनाथकै कारण उनले प्रत्यक्ष चुनाव लड्ने आँट नगरेर समानुपातिक पद्धतिको सूचीमा बसेको चर्चा कैलालीमा छ ।

पुष्करनाथले गत ३० वैशाखमा भएको स्थानीय तह निर्वाचनमा धनगढी उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार गोपाल हमाललाई सहयोग गर्दा कांग्रेस उम्मेदवार नृप वड पराजित भएका थिए ।

यो क्षेत्रबाट नेकपा एमालेका नारदमुनि राना र सत्तारुढ गठबन्धनको समर्थनमा कांग्रेसका डिल्लीराज पन्त उम्मेदवार छन् । तर स्वतन्त्र उम्मेदवार पुष्करनाथको डर कांग्रेस, एमाले दुबैलाई छ ।

२०२० वैशाख ८ मा डोटीको आर्दश गाउँपालिका-२ को कालिकास्थानमा जन्मिएका पुष्करनाथले त्रिचन्द्र कलेजबाट अर्थशास्त्रमा स्नातक गरेका छन् । २०३४ सालमा कांग्रेसको विद्यार्थी संगठन नेविसंघबाट राजनीति सुरु गरेका उनी २०३८ सालमा कैलाली जिल्ला सदस्य बने ।

२०३९ सालमा नेविसंघको केन्द्रीय सदस्यमा चुनिएका उनले २०४८ सालमा कांग्रेसका तत्कालिन सभापति कृष्णप्रसाद भट्टराईबाट क्रियाशील सदस्यता लिएका थिए । २०५१ सालमा पहिलो पटक कैलाली-३ बाट संसदीय चुनाव लडेका ओझा एमालेका चक्रबहादुर डगौरासँग पराजित भएका थिए ।

२०५६ सालको चुनावमा भने उनले एमालेका दिनेशचन्द्र सुवेदीलाई पराजित गर्दै सांसद निर्वाचित भए । त्यसपछिको सरकारमा ओझा सूचना तथा सञ्चार राज्यमन्त्री बनेका थिए । उनी २०७१ सालमा भएको उपनिर्वाचनमा कैलाली-५ बाट जितेर संविधानसभा सदस्य बनेका थिए ।

२०७४ को चुनावपछिको पाँच वर्ष ओझा राजनीतिमा निष्क्रिय रहे, तर कार्यकर्तासँगको सम्पर्कमा भने निरन्तर रहे । आरजुलाई फेरि कैलालीबाट चुनाव लड्न दिन नहुने मान्यता राख्ने ओझा मत माग्न मतदाताको घरदैलोमा छन् । उनी चुनाव जितेर देउवालाई दरिलो जवाफ दिने लक्ष्यसहित मतदाता रिझाउन व्यस्त छन् ।

अनुकुलता र प्रतिकुलता

कैलाली-५ मा डोटीबाट बसाइँ सरेर आएका र थारु समुदायको बाहुल्य छ । यहाँको चुनावी नतिजामा यी दुवै समुदायको मतलाई निर्णायक मानिन्छ । स्वतन्त्र उम्मेदवार ओझा डोटी समुदायबाट प्रतिनिधित्व गर्छन्, त्यसैले यो समुदायमा उनको यद्यपि उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार डिल्लीराज पन्तको पुख्र्यौली घर पनि डोटी नै हो ।

विगतमा आरजुलाई कैलालीबाट उम्मेदवार बन्न दिन नहुने पक्षमा उभिएका कयौं पुराना नेता तथा कार्यकर्ता अहिले पनि ओझाकै पक्षमा छन् । कैलालीमा कांग्रेसले दर्जनौं नेता कार्यकर्तालाई स्पष्टीकरण सोध्नु त्यसको प्रमाण मान्न सकिन्छ ।

ओझाको परानो राजनीतिक प्रभाव, पार्टी नेतृत्वबाट गरिएको कारवाहीको सहानुभूति, डोटी बाहुल्य, कांग्रेसभित्रको किचलो, सत्ता गठबन्धनका दलभित्रको असन्तुष्टी, स्वतन्त्रको लहर, मेयर हमालको अघोषित सहयोग जस्ता पक्ष उनको चुनावका अनुकुलता हुन् ।

तर विगतमा कांग्रेसबाट तीन पटक संसदीय चुनाव लडेका ओझालाई अवसर नपाएपछि स्वतन्त्र बनेको आरोप पनि लागेको छ । अर्कोतिर थारु बाहुल्य यो क्षेत्रमा एमालेले थारु समुदायकै नारदमुनि रानालाई उम्मेदवार बनाएको छ । त्यसैले थारु मत तान्न उनलाई कठिन छ । ओझा भने अहिलेको चुनाव आफ्ना लागि सबैभन्दा सहज भएको दावी गर्छन् ।

स्थानीय तहको निर्वाचनमा कांग्रेस, एमाले र माओवादी केन्द्रका असन्तुष्ट पक्षलाई आफूतिर तान्न सफल भएका मेयर गोपाल हमालले जस्तै ओझाले त्यसरी नै मत पाए उनी स्थापित दलका उम्मेदवारका लागि चुनौती बन्न सक्छन् ।

लेखकको बारेमा
जनक विष्ट

विष्ट अनलाइनखबरका कैलाली संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?