+
+

मानुषी यमी : अग्निपरीक्षामा पुरानो पार्टीकी नयाँ अनुहार

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर १ गते १०:०१

काठमाडौंको भुरुङखेलमा जन्मिएकी मानुषी यमी भट्टराईको बाल्यकालीन परिवेश आम बालबालिकाको भन्दा फरक रहृयो । आमाबावु जनविद्रोहमा हिंडेकाले उनको बाल्यकाल कहिले हजुरआमा त कहिले ठूलीआमाहरूसँग बित्यो । विद्रोही नेकपा (माओवादी) नेताद्वय डा. बाबुराम भट्टराई र हिसिला यमीको छोरी भएकीले उनको नाम बदलेर ‘अस्मिता सिंह’ राखिएको थियो ।

२०४९ सालमा हिसिला यमीले अध्ययनका लागि छात्रवृत्ति पाएपछि छोरीलाई पनि बेलायत लगिन् । २०५१ मा अध्ययन सकिएपछि छोरी काठमाडौं र आमा पार्टीमा फर्किए ।

त्यसपछि फेरि सुरु भयो, मानुषीको उतारचढावपूर्ण पारिवारिक र शैक्षिक दैनिकी । त्यसले उनलाई धैर्य र संघर्ष गर्न सिकायो । आफन्तमध्ये कहिले कसकोमा त कहिले कसकोमा बसेर कक्षा ५ सिध्याएकी मानुषीलाई सुरक्षा खतरा बढेपछि २०५५ सालमा पहिले नैनीताल र त्यसपछि पश्चिम बंगालको बेदुङ पुर्‍याइयो ।

त्यसपछि कहिले कहाँ त कहिले कता गर्दै भारतमै स्नातक सकेर मानुषी २०६४ सालमा नेपाल फर्किइन् । पढाइमा अब्बल उनले त्रिविबाट राजनीतिशास्त्रमा गोल्डमेडसहित स्नातकोत्तर गरिन् ।

राजनीतिमा मानुषीको ‘इन्ट्री’ स्ववियु निर्वाचनबाट भयो । २०६५ को स्ववियु निर्वाचनमा केन्द्रीय क्याम्पस कीर्तिपुरमा हालसम्मकै धेरै मतसहित सचिवमा विजयी हुने उनी पहिलो छात्रा हुन् ।

डा. भट्टराई प्रधानमन्त्री भएको बेला कीर्तिपुरमा साथीहरूसँग चिउरा-दालमोठ चपाउँँदै विद्यार्थी राजनीति गर्ने छोरी मानुषीको निकै चर्चा हुन्थ्यो । तिनै मानुषी अहिले काठमाडौं-७ बाट प्रतिनिधिसभा सदस्यमा उठेकी छन् ।

सामाजिक सञ्जालमा समर्थकहरूको नारा छ- ‘युवा खोज्यौ, युवा ल्यायौं । योग्य खोज्यौ- गोल्ड मेडलिस्ट ल्यायौं । महिला भन्यौ- महिला ल्यायौं ।’

उनको चुनावी अभियानको नेतृत्व गरिरहेका युवक रूपनारायण श्रेष्ठ भन्छन्, ‘व्यवस्था बदल्ने योग्यता भएकाहरू अवस्था बदल्ने युगका लागि अयोग्य हुन सक्छन् । तर, मानुषी यस्ती पात्र हुन् जोसँग योग्यता, अनुभव र सोचसँगै उमेर पनि छ ।’

विद्यावारिधिकी विद्यार्थी, अध्यापक र एक सन्तानकी आमा मानुषीको विश्लेषणमा लोकतन्त्र र विधिको शासन ठीक ढंगले कार्यान्वयन नहुँदा नेपालमा गडबड भएको छ ।

अर्थतन्त्रको तीव्र वृद्धि र न्यायोचित वितरणका साथै विकास र समृद्धिको प्रक्रियालाई फराकिलो बनाएर आम नेपालीलाई प्रत्यक्ष लाभ दिलाउनु आफ्नो उद्देश्य रहेको उनले बताउँदै आएकी छन् ।

उपयुक्त भौतिक पूर्वाधार, खानेपानी, सर्वसुलभ सार्वजनिक शिक्षा र स्वास्थ्यको लागि चाहिने कानुन निर्माणलाई उनले आफ्नो प्राथमिक एजेन्डा भनेकी छन् ।

२०४६ र २०६२/६३ सालको जनआन्दोलनपछि पनि कम उमेरका धेरै उम्मेदवार प्रत्यक्ष निर्वाचन र समानुपातिकबाट सांसद भए । २४-२५ वर्षमै सांसद बनेका उदाहरण प्रशस्तै छन् । ३६ वर्षीया मानुषीको उम्मेदवारीलाई भने उनको बावुआमाको नामसँग पनि जोड्ने गरिएको छ । पारिवारिक विरासत उनको लागि अनुकूलता र प्रतिकूलता दुवै बनेको छ ।

नेपाल समाजवादी पार्टी (नेसपा)को केन्द्रीय सदस्य रहेकी मानुषी अहिले चुनावी तालमेलका कारण नेकपा -माओवादी केन्द्र)को तर्फबाट उम्मेदवार हुन् । दुवै पार्टीले एउटै चुनाव चिहृन हँसिया हथौडा प्रयोग गरिरहेका छन् । मानुषी सत्तारुढ गठबन्धनको पनि साझा उम्मेदवार हुन् ।

चुनावी अंकगणित

मानुषीले पाएको काठमाडौं-७ मा नेकपा -एमाले)का श्यामकुमार घिमिरे र जनता समाजवादी पार्टी (जसपा)का राजेन्ऽप्रसाद श्रेष्ठ प्रतिस्पर्धामा छन् । एमालेका विद्रोही रामवीर मानन्धरसहित स्वतन्त्र उम्मेदवारहरू पनि छन् ।

गत स्थानीय चुनावमा यो क्षेत्रमा वडाअध्यक्षका उम्मेदवारहरूले पाएको दलगत मतमा नेपाली कांग्रेस अगाडि छ । कांग्रेसले १४ हजार १६७, एमालेले १२ हजार २०२ र एकीकृत समाजवादीले ३ हजार ८३९ मत पाएको छ ।

त्यस्तै, राप्रपाले २ हजार २७, माओवादी केन्दले ५७६ र जसपाले १६२ मत पाएको छ । स्वतन्त्र उम्मेदवारहरूले पाएको भोट संख्या २ हजार २०६ छ ।

स्थानीय चुनावको यो अंकगणित गठबन्धनकी उम्मेदवार मानुषीका लागि बढी अनुकूल छ । गठबन्धन दलहरूको भोट एकत्रित गर्न सक्दा उनी विजयी हुनसक्ने देखिन्छ । रामवीर मानन्धरले काट्ने एमालेको भोटले मानुषीलाई केही फलिफाप गर्न सक्छ ।

युवा उम्मेदवार हुनु पनि मानुषीको अनुकूलता हो, तर चुनावी चलखेलका एक से एक अनुभवी प्रतिस्पर्धीहरूको छेकबार छिचोल्नु र रूखमा ठप्पा लगाउने बानी परेका कांग्रेस समर्थकहरूको स्वस्तिकलाई हँसिया हथौडामा पार्नुपर्ने चुनौती पनि कमको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?