+
+

नागरिकता विधेयक रोकेकामा ओलीले दिए राष्ट्रपतिलाई धन्यवाद

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर १ गते १८:५१

१ मंसिर, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नागरिकता विधेयक रोकेको भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीलाई धन्यवाद दिएका छन् ।

बिहीबार झापाको इँटाभट्टामा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै उनले नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपति भण्डारीको कदमको प्रशंसा गरेका हुन् ।

संसदमा विचाराधीन नागरिकता विधेयक रोकेको आरोप लगाउँदै उनले आफू प्रधानमन्त्री हुँदा अध्यादेशबाट कानुन ल्याएर नागरिकता दिन लाग्दा अदालत गएर प्रचण्ड, देउवा र माधव नेपालले नै रोकाएको आरोप लगाए ।

अध्यक्ष ओलीले भने, ‘…विदेशीलाई तुरुन्ता-तुरुन्तै दिनको लागि हतारमा पेलपाल गर्न खोजे । धन्यवाद राष्ट्रपति ज्यु, उहाँले रोक्नुभयो । राष्ट्रपतिको काम यस्तै बेलामा आउँछ ।’

नागरिकता विधेयक रोक्ने कदमको प्रशंसा गर्दै उनले थपे, ‘जब राष्ट्रियतालाई खतरामा पार्न खोजिन्छ, जब जनसांखिक हिसाबले देशलाई धरापमा पार्ने षडयन्त्र हुन्छ । यस्तो बेलामा राष्ट्रिपतिले दह्रो पाइला टेक्नैपर्छ । राष्ट्रिय अडान लिनैपर्छ । उहाँलाई म धन्यवाद भन्न चाहन्छु ।’

संघीय संसदले पारित गरी पहिलो पटक पेश गरेको नागरिकता विधेयक राष्ट्रपति कार्यालयले १५ बुँदे सन्देशसहित फिर्ता पठाएको थियो ।

संसदको दुवै सदनमा राष्ट्रपतिले १५ बुँदे सन्देशमा उठाएका विषयमाथि गम्भीर छलफल नगरी पुनः पारित गरेर पठाएको भन्दै राष्ट्रपतिले विधेयक प्रमाणीकरण गरिनन् । यस विषयमा सर्वोच्च अदालतमा पनि रिट परेको छ ।

बुधबार मात्रै राष्ट्रपतिले सर्वोच्च अदालतमा लिखित जवाफ पठाउँदै आफूले १५ बुँदे सन्देशमा उठाएका विषयहरुमा गम्भीर छलफल नभएकोले नागरिकता विधेयक उनकै शब्दमा ‘यथास्थितिमा राखिएको’ छ ।

बिहीबार एमाले अध्यक्ष ओलीले राष्ट्रपतिको नागरिकता विधेयक रोक्ने कदमको प्रशंसा गर्दै राष्ट्रपति भण्डारीलाई धन्यवाद दिएका हुन् ।

एमालेले चुनावमा बहुमत पाए एक महिनाभित्र जन्मसिद्धका आधारका सन्तानलाइ वंशजको आधारमा नागरिकता दिने अध्यक्ष ओलीको आश्वासन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?