+
+
दाङ २ :

शंकर र रेखा दुवैलाई कांग्रेसको भर, कांग्रेसकै डर

विनोद घिमिरे विनोद घिमिरे
२०७९ मंसिर १ गते १९:२२

१ मंसिर, काठमाडौं । दाङ–२ मा प्रतिनिधि सभा सदस्यका लागि ३ स्वतन्त्रसहित १५ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । उनीहरुको भाग्य फैसला यो क्षेत्रका १ लाख ३३ हजार ७४८ मतदाताको हातमा छ ।

दाङ क्षेत्र नं. २ मा नेकपा एमालेका महासचिव शंकर पोखरेल, वाम–लोकतान्त्रिक गठबन्धनको तर्फबाट माओवादी केन्द्रकी रेखा शर्माबीच मुख्य प्रतिस्पर्धा हुने छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीका विश्वासपात्र शंकर पोखरेल र प्रचण्डको विश्वासपात्र रेखाबीचको प्रतिस्पर्धा दुबै पार्टीका लागि यतिबेला प्रतिष्ठाको विषय बनेको छ ।
यही क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका इन्जिनियर विशाल अधिकारीको उम्मेदवारीले दाङ २ को प्रतिस्पर्धा थप रोचक हुने अनुमान छ ।

निर्णायक कांग्रेस

दाङ–२ मा गत वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनको मतलाई हेर्दा माओवादी केन्द्र तेस्रो स्थानमा छ । पहिलो स्थानमा नेकपा एमाले र दोस्रोमा नेपाली कांग्रेस छन् । तर सत्ता गठबन्धनको मत एक ठाउँमा आएमा रेखा सहज अवस्थामा देखिन्छिन् । सत्ता गठबन्धनलाई स्थानीय तह निर्वाचनको मत जोगाउन सकेमात्रै पुग्छ तर एमालेलाई आफ्नो मतले मात्र पुग्दैन ।

स्थानीय तह निर्वाचनमा वडा अध्यक्षहरुले पाएको मत हेर्दा सत्ता गठबन्धनका घटक कांग्रेस, माओवादी, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाको मत जोड्दा ३६ हजार ७८० मत पुग्छ । नेकपा एमाले एक्लैको मत ३३ हजार ५९३ छ ।

राप्रपाको मत ३ हजार २६४ छ । देशका केही क्षेत्रमा एमाले र राप्रपाबीच चुनावी तालमेल भए पनि दाङ–२ मा भने छैन । राप्रपाबाट हिन्दू विद्यापीठका प्रबन्धक भोलानाथ योगी उम्मेदवार छन् ।

यसबीचमा मौलिक जरोकिलो पार्टीका उम्मेदवार रामचन्द्र खड्काले एमाले उम्मेदवार शंकर पोख्रेललाई समर्थन गर्दै आफ्नो उम्मेदवारी निष्क्रिय भएको जनाएका छन् । उनी एमाले उम्मेदवार शंकर पोखरेलकै गाउँ तुलसीपुर उपमहानगरपालिका–१९ का बासिन्दा हुन् । घोराहीको मेयर पदको निर्वाचनमा मौलिक जरोकिलो पार्टीका उम्मेदवार दीर्घप्रसाद भण्डारीले ३९ मत पाएका थिए ।

दाङ क्षेत्र नं. २ को समग्र अवस्था हेर्दा कांग्रेसको मत निर्णायक छ । यहाँ स्थानीय तह निर्वाचनमा वडास्तरमा कांग्रेस एक्लैले २३ हजार ३०१ मत पाएको थियो । शंकर र रेखा दुवैले कांग्रेसको बढीभन्दा बढी मत आफ्नो पक्षमा तान्ने प्रयास जारी राखेका छन् ।

प्रतिनिधि सभा सदस्यको सिट माओवादीलाई छाडेर प्रदेशसभाका दुवै सिट कांग्रेसले लिएर गठबन्धन गरिएकाले रेखालाई कांग्रेसको मत खस्ने अनुमान त छ, तर कांग्रेसभित्रको गुटगत राजनीतिका कारण माओवादी विश्वस्त हुन भने सकेको छैन । रेखालाई कांग्रेसकै मतमा भर पर्नुपर्ने अवस्था भए पनि अन्तर्घात हुन्छ कि भन्ने डर छ । कांग्रेसभित्रको आन्तरिक किचलोमा खेल्दै शंकर पनि आफूतिर मत तान्ने प्रयत्नमा छन् ।

शंकर र कांग्रेस उम्मेदवारबीच पारिवारिक सम्बन्ध

क्षेत्र नं. २ को (२) का प्रदेश सभा सदस्य उम्मेदवार नेपाली कांग्रेसका प्रचण्ड बिक्रम न्यौपाने (गुन्टु) र शंकर पोखरेलबीच ज्वाइँ–ससुराको सम्बन्ध छ । गुन्टुका दाजु प्रज्ञान न्यौपानेले शंकर पोखरेलका दाजुको छोरी बिहे गरेका छन् ।

यो नाता सम्बन्धका कारण शंकरले कांग्रेसको केही मत पाउनसक्ने अनुमान छ । यद्यपि प्रदेशसभा–२ को टिकट गुन्टुलाई दिलाउन रेखा आफैंले पहल गरेकाले यो नाता सम्बन्धले मत प्रभावित नहुने एक नेताले बताए ।

चुनाव प्रचारका क्रममा शंकर पोखरेल ।

अर्कोतर्फ लुम्बिनी प्रदेशका कांग्रेसका सहमहामन्त्री खगराज पाण्डे आफूले टिकट नपाउँदा असन्तुष्ट छन् । उनी चुनाव प्रचारमा सक्रिय पनि छैनन् । उनको कारण कति मत प्रभावित हुन्छ अहिल्यै भन्न सकिने अवस्था छैन ।

अर्कोतर्फ राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विशाल अधिकारीले कसको मत कति काट्छन् त्यसले पनि निर्वाचन परिणाममा अर्थ राख्नेछ । उनले शहरी क्षेत्रका वडा नं. १०, १४ र १५ का साथै उनकै घर भएको वडा नं ४ को मतलाई प्रभाव पार्नसक्ने अनुमान गरिएको छ ।

स्थानीय निर्वाचनको अंक गणित

स्थानीय तह निर्वाचनमा घोराही उपमहानगरपालिकाको मेयरमा नेकपा एमालेका नरुलाल चौधरी ३१ हजार ७२८ मतसहित निर्वाचित भएका थिए । कांग्रेस–माओवादी गठबन्धनबाट माओवादीका उम्मेदवार हेमराज शर्मा (डायमण्ड) ले २६ हजार ३६८ मत पाएका थिए । हेमराजभन्दा ५ हजार ३६० मत बढी पाएर नरुलाल विजयी भए । घोराहीका अधिकांश वडा पनि एमालेले नै जित्यो ।

मेयर पदका अन्य उम्मेदवारहरुमा राप्रपाकी सरिता देवकोटाले ५ हजार ३२४ मत र एक्लै प्रतिस्पर्धा गरेको एकीकृत समाजवादीका उम्मेदवार रामप्रसाद चौधरीले १ हजार १४३ मत पाएका थिए ।

एमालेको बलियो पकड रहेका घोराही उपमहानगरपालिकाका चारवटा वडाहरु (१, २, ३ र ५) प्रतिनिधि सभा निर्वाचनमा क्षेत्र नम्बर २ मा नपरेर क्षेत्र नं. १ मा पर्दछन् । यी वडा क्षेत्र नम्बर २ मा नपर्नु एमाले उम्मेदवार शंकर पोखरेलका लागि घाटा हो । स्थानीय तह निर्वाचनमा घोराहीका १, २, ३ र ५ नम्बर वडामा नेकपा एमाले विजयी भएको छ ।

प्रदेश निर्वाचन कार्यालय दाङका अनुसार घोराहीको निर्वाचनमा १० हजार ७३० मत बदर भएको थियो । ती बदर भएकामध्ये धेरै मत आफ्नो रहेको गठबन्धनको दाबी छ ।

यसपालिको मतपत्रमा गठबन्धनबाट जुन दलको उम्मेदवार छ, त्यसको मात्र चुनाव चिह्न रहने भएकाले स्थानीय तह निर्वाचनको जस्तो धेरै मत बदर नहुने र आफूहरुलाई नै फाइदा पुग्ने माओवादी नेता डायमण्ड बताउँछन् ।

अर्कोतर्फ घोराही क्षेत्रमा रोल्पा, रुकुमबाट बसाईं सरेर आएकाहरु धेरैजसो माओवादी निकट भएकाले उनीहरुको मत पाउने आशा माओवादीले गरेको छ ।

चुनाव प्रचारका क्रममा रेखा शर्मा ।

बगलाचुली र तुलसीपुरका वडाको मत

अर्कोतर्फ माओवादी केन्द्रको बलियो पकड रहेको बंगलाचुली गाउँपालिका क्षेत्र नं. २ मा पर्दछ । बंगलाचुली गाउँपालिकामा स्थानीय तह निर्वाचनमा गठबन्धनको तर्फबाट अध्यक्ष पदमा माओवादी केन्द्रका तुल्सिराम पुनमगर (सुवास) ५ हजार ७४९ मतका साथ विजयी भएका थिए । एमाले उम्मेदवार भेषराज खत्रीले ३ हजार ६७८ मत पाएका थिए । राष्ट्रिय जनमोर्चाका सञ्जय वलीले ५७ मत पाएका थिए ।

बगलाचुली गाउँपालिकाका कूल आठ वटा वडाहरुमध्ये चार वटा वडामा मात्र गठबन्धन भएको थियो भने चार वटा वडामा एकल प्रतिस्पर्धा भएको थियो । गठबन्धन भएका चारै वटा वडामा गठबन्धनका उम्मेदवार विजयी भएका थिए । एकल प्रतिस्पर्धा गरेका अन्य चार वटा वडाहरुमध्ये दुईवटामा माओवादी केन्द्र र दुई वटामा नेपाली कांग्रेसका उम्मेदवारले जितेका थिए । बगलाचुली गाउँपालिकाको अध्यक्ष पदको प्रतिस्पर्धामा १ हजार २२४ मत बदर भएको थियो ।

त्यसैले मंसिर चारको निर्वाचनमा बंगलाचुली गाउँपालिकाको मतले धेरै ठूलो अर्थ राख्छ । यही कुरा बुझेर नेकपा एमालेले बंगलाचुलीमा विशेष जोड दिएको देखिन्छ । शंकर पोख्रेल काठमाडौंमा पार्टीको काममा व्यस्त रहँदा प्रदेश सभा सदस्य उम्मेदवार बलिभद्र राना बंगलाचुलीमै सक्रिय थिए ।

उनले बगलाचुलीका माओवादी कार्यकर्ताहरुलाई एमालेमा प्रवेश गराउन सफल भएका थिए । बगलाचुलीबाट थुप्रै माओवादी नेता–कार्यकर्ता एमालेमा प्रवेश गरेको नेकपा एमाले दाङका सचिव मनोहर बुढाथोकी बताउँछन् । यद्यपि माओवादी केन्द्र दाङका सचिव विश्वराज आचार्य भने पहिले माओवादी छाडेका धेरैलाई अहिले फर्काइसकेको दाबी गर्दछन् ।

प्रतिनिधि सभा सदस्य निर्वाचनको मत परिणाममा उलटफेर ल्याउनसक्ने अर्को पक्ष तुलसीपुर उपमहानगरपालिकाका चार वटा वडाहरुको मत पनि हो । १६, १७, १८ र १९ नम्बर वडा दाङ क्षेत्र नम्बर २ मा पर्दछन् ।

यीमध्ये १८ र १९ नम्बर वडा अध्यक्षमा एमालेका उम्मेदवार विजयी भए । वडा नम्बर १९ मा दोस्रो स्थानमा एकीकृत समाजवादी र १८ मा दोस्रो स्थानमा माओवादी केन्द्रका उम्मेदवार रहे ।

यसैगरी वडा नम्बर १७ मा कांग्रेस उम्मेदवार एमालेका उम्मेदवारभन्दा जम्मा ३६ मत बढी ल्याएर विजयी भए । यहाँ दोस्रो स्थानमा स्वतन्त्र उम्मेदवार रहे । यसैगरी वडा नम्बर १६ मा भने माओवादीबाट विद्रोह गरेर स्वतन्त्र उम्मेदवारी दिएका शिवानन्द डीसी विजयी हुँदा दोस्रो स्थानमा एमाले उम्मेदवार रहे ।

वडा अध्यक्ष डीसी माओवादी केन्द्रमै छन् । त्यसैले तुलसीपुर उपमहानगरपालिकाका यी चार वटा वडाको मतसमेतको आधारमा शंकर र रेखाबीच कडा टक्कर हुने अनुमान छ ।

लेखकको बारेमा
विनोद घिमिरे

घिमिरे अनलाइनखबर डटकमका डेस्क सम्पादक हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?